काठमाडौं - युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्।
मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले युवालाई स्वदेशमै टिकाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।
मन्त्री यादवले मन्त्रालयका बाँकी कार्यमाइलस्टोन पुस मसान्तभित्र सम्पन्न गर्न र बेरुजु फछ्र्योटलाई तीव्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिए । उनले निर्धारित लक्ष्य पूरा गर्न ढिलाइ नगरी आवश्यक बजेट माग गरेर भए पनि समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश मल्लले पहिलो त्रैमासिकमा सम्पन्न हुन नसकेका कार्यक्रमलाई आगामी त्रैमासिकमा पूरा गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव डा दीपक काफ्लेले सीपयुक्त जनशक्ति उत्पादनलाई मन्त्रालयले प्राथमिकता दिएको बताए । मन्त्रालयका ३० ‘माइलस्टोन’ मध्ये १० वटा सम्पन्न भएको जानकारी दिँदै उनले बाँकी कार्य समयमै पूरा गर्नुपर्ने बताए ।
समीक्षामा राष्ट्रिय युवा ऐन जारी गर्न कानुन मन्त्रालयमा सहमतिका लागि मस्यौदा पठाइएको, युवा दृष्टिकोण २०४० को मस्यौदा तयार भएको, एक हजार २०० जनाको सीप परीक्षणका लागि समझदारी भएको र ६३ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएकोलगायत प्रगति विवरण प्रस्तुत गरिएको थियो ।


0 comment