काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको बताएकी छन्। राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री मेहताले उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने बताइन्।

यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने उनले बताइन्। त्यसैगरी ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

मन्त्री मेहताले आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागु गरिसकेको जानकारी दिइन्। देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा क्रियाशील बनाइएको उनले बताइन्।