काठमाडौं - सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँचका सम्बन्धमा हाइब्रिड मोडेलमा छलफल गर्न सकिने बताएका छन् ।

संहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री तिमिल्सिनाले चलचित्रको वर्गीकरण र सेन्सर दुवैको महत्व हुने गरि मिश्रण (हाइब्रिड मोडेल) मा छलफल गर्न सकिने बताएका हुन् । विधेयकमा भने चलचित्र प्रदर्शन गर्नुअघि जाँच गर्न सेन्सर बोर्ड रहने उल्लेख छ ।

मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय अभ्यासका रूपमा भारतमा हाइब्रिड मोडेलजस्तो, अस्ट्रेलिया, बेलायत लगाएतका देशमा उमेर समूहअनुसारको वर्गीकरणको व्यवस्था रहेको उल्लेख गरे ।

त्यसैगरि उनले चलचित्र बोर्डको अध्यक्षको भूमिका सम्मान दिने पदका रूपमा लिने वा दक्ष व्यवस्थापकका रुपमा लिने भन्ने प्रश्न गहन रहेको बताए। अधिकार वा क्षमताको कमीले कमजोर अवस्थामा देखिएकाले संस्थाको मर्मअनुसार नेतृत्व र संरचना तय गर्नुपर्ने उनको भनाइ छ ।

उनले सङ्घ, प्रदेश र स्थानीय तहले आ–आफ्नो ठाउँबाट योगदान गर्दै देशकै चलचित्र क्षेत्रको विकास, जवाफदेहिता र जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । चलचित्र विधेयक, २०८१ माथि १ सय २२ वटा संशोधनका सूचना दर्ता भएका छन् ।