प्रस्तुत आलेखमा विश्वको तुलनामा नेपालका केही प्रमुख आर्थिक परिसूचकहरुबारे चर्चा गर्ने क्रममा नेपालको सन्दर्भमा धेरै उल्लेखमा आइरहने अन्य तीन देशहरु (भारत, चीन र अमेरिका) का संबन्धित परिसूचकहरु पनि प्रस्तुत गरिएको छ जसले गर्दा विश्वस्तरमा नेपालको तुलनात्मक स्थिति यकिन गर्न सहजीकरण हुनेछ । सर्वप्रथम, क्षेत्रफल संबन्धी तथ्याँक उपलब्ध भएका संसारका १९६ अर्थतन्त्रहरुमा (सबैभन्दा ठुलो रुस १, सबैभन्दा सानो मोनाको १९६ को क्रममा) नेपालको स्थान ९१ औँ रहेको छ । यसरी, क्षेत्रफलको हिसाबले नेपाल विश्वको ९१ औँ ठुलो राष्ट्र हो । क्षेत्रफलमा चीन दोश्रो, अमेरिका तेश्रो र भारत सातौँ ठुलो स्थानमा छन् (तथ्याँक श्रोत : दग्लोबलइकनमीडटकम) ।
सन् २०२५ मा जनसँख्या संबन्धी तथ्याँक उपलब्ध भएका संसारका १९६ अर्थतन्त्रहरुमा (सबैभन्दा ठुलो भारत १, सबैभन्दा सानो टुभालु १९६ को क्रममा) नेपालको स्थान ५२ औँ रहेको छ । यसरी, जनसँख्याको हिसाबले नेपाल विश्वको ५२ औँ ठुलो राष्ट्र हो । जनसँख्यामा चीन दोश्रो र अमेरिका तेश्रो ठुलो स्थानमा छन् । जनघनत्वतर्फ, प्रति किमि जनघनत्व (२०७ जना) को हिसाबले नेपालको स्थान ५५ औँ, ४८८ जनाको हिसाबले भारत २१ औँ, १५० जनाको हिसाबले चीन ६४ औँ र ३७ जनाको हिसाबले अमेरिका १४७ औँ स्थानमा रहेका छन् । यसरी, यी चार अर्थतन्त्रहरुमा भारतको जनघनत्व सबभन्दा बढी छ । त्यसपछि, क्रमश: नेपाल, चीन र अमेरिकाको जनघनत्व रहेको छ ।
तथ्याँक उपलब्ध भएका १८० अर्थतन्त्रहरुमा विश्व जीडीपीमा नेपालको हिस्सा सन् २०२५ मा ०.०४ प्रतिशत रही नेपाल १०० औँ स्थान (सबैभन्दा ठुलो १, सबैभन्दा सानो १८० को क्रम) मा रहेको छ । विश्व जीडीपीमा अमेरिकाको हिस्सा २६.४३ प्रतिशत, चीनको हिस्सा १६.७५ र भारतको हिस्सा ३.४ प्रतिशत रही क्रमश: पहिलो, दोश्रो र छैठौँ ठुलो स्थानमा रहेको छ । प्रतिव्यक्ति आयको हिसाबले अमेरिका सातौँ (९०,०२६ डलर), चीन ६९ औँ (१३,८२६ डलर) र भारत १३९ औँ (२,७०२ डलर) स्थानमा रहेकोमा नेपाल १५५ औँ (१,५३६ डलर) स्थानमा रहेको छ । क्षेत्रफलमा ९१ औँ स्थानमा रहेको राष्ट्र नेपाल जनसँख्यामा ५२ औँ स्थान र जीडीपीमा १०० औँ स्थानमा रहेकोमा प्रतिव्यक्ति आयमा १५५ औँ स्थानमा रहेकोले प्रतिव्यक्ति आय वृद्धि गर्न उत्पादनका साधनहरुको परिचालन, उत्पादनशीलता र समग्र उपयोग र उत्पादन बढाई देशको आर्थिक अवस्था सुदृढीकरण गर्नु पर्ने ज्वलन्त चुनौती नेपालको रहेको छ ।
तथ्याँक उपलब्ध भएका १६६ अर्थतन्त्रहरुमा सन् २०२५ मा विश्वको कुल आयातमा अमेरिका, चीन र भारतको अंश क्रमश: १३.६७ प्रतिशत, १०.९ प्रतिशत र २.९८ प्रतिशत रहेकोमा नेपालको अंश भने ०.०५ प्रतिशत रही विश्व आयातमा यिनीहरुको स्थान क्रमश: पहिलो, दोश्रो, सातौँ र १०४ औँ रहेको छ । विश्वको कुल निर्यातमा चीन, अमेरिका र भारतको अंश क्रमश: १२.३६ प्रतिशत, १०.३८ प्रतिशत र २.६८ प्रतिशत रहेकोमा नेपालको अंश भने ०.०१ प्रतिशत रही विश्व निर्यातमा यिनीहरुको स्थान क्रमश: पहिलो, दोश्रो, एघारौँ र १३९ औँ रहेको छ । विश्वको कुल आयातमा १०४ औँ स्थानमा रहेको नेपाल निर्यातमा १३९ औँ स्थानमा रहनुले हाम्रा श्रोतसाधनहरुलाई निर्यातोन्मुख बनाउनेतर्फका प्रयास सबल नभएको पुष्टि हुन्छ ।
तथ्याँक उपलब्ध भएका १६६ अर्थतन्त्रहरुमा सन् २०२५ मा अर्थतन्त्रको नेपालको जीडीपीको अनुपातमा हेर्दा समेत नेपालको वाह्य व्यापार अधिक असंतुलनमा रहेको देखिन्छ । नेपालको जीडीपीको अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यात ७.५५ प्रतिशत (१६२ औँ स्थान), आयात ३२.६२ प्रतिशत (१०६ औँ स्थान) र व्यापार घाटा २५.०७ प्रतिशत (१५२ औँ स्थान) रहेको छ । भारतको जीडीपीको अनुपातमा भारतको वस्तु तथा सेवा निर्यात २२.०७ प्रतिशत (१२५ औँ स्थान), आयात २३.८५ प्रतिशत (१३६ औँ स्थान) र व्यापार घाटा १.७८ प्रतिशत (८७ औँ स्थान) रहेको छ । चीनको जीडीपीको अनुपातमा चीनको वस्तु तथा सेवा निर्यात २०.४४ प्रतिशत (१३१ औँ स्थान), आयात १७.५१ प्रतिशत (१५५ औँ स्थान) र व्यापार बचत २.९३ प्रतिशत (५१ औँ स्थान) रहेको छ । अमेरिकाको जीडीपीको अनुपातमा अमेरिकाको वस्तु तथा सेवा निर्यात १०.९७ (१५६ औँ स्थान), आयात १४.०४ प्रतिशत (१६१ औँ स्थान) र व्यापार घाटा ३.०७ (९५ औँ स्थान) रहेको छ । यसरी, चीनमा निर्यातको ८५.७ प्रतिशत आयात रही व्यापार सन्तुलन बचतमा रहेकोमा भारतमा निर्यातको १०८.१ प्रतिशत र अमेरिकामा निर्यातको १२८.० प्रतिशत आयात रही व्यापार सन्तुलन घाटामा रहेको छ । नेपालमा भने निर्यातको ४३२.१ प्रतिशत आयात रहेकोले नेपालको आयातको तुलनामा निर्यात कति न्यून छ, छर्लङ हुन्छ ।
उपरोक्त परिसूचकहरुको आधारमा नेपालको जनशक्तिको ठुलो अँश अद्यापि सिप र प्रविधियुक्त बनाउन नसकिएको कारण उत्पादनका अन्य साधनहरुको परिचालन, संयोजन, उपयोग र उत्पादनशीलतामा समेत अपेक्षित सुधार ल्याउन नसक्दा आर्थिक वृद्धि र जीडीपी स्तर न्यून रहन गएको हो । आर्थिक कृयाशीलता, गतिशीलता, उद्यमशीलता, व्यावसायिक विश्वास, नीतिगत स्पष्टता र कानुनी सहजताले प्रोत्साहन नपाउँदा समग्र अर्थतन्त्रको स्वाभाविक संचालन र उत्थान चक्र सुदृढ हुन नसकी समष्टिगत आर्थिक परिणाम र परिसूचक प्रतिकूल बन्न गएका हुन् । परिणामस्वरुप, बेरोजगारी र व्यापार घाटा वृद्धिले आर्थिक परनिर्भरता व्याप्त छ, सार्वजनिक खर्च प्रणाली परिणाममुखी नभई फजुलखर्ची, अनुत्पादक, हचुवा, तदर्थ, तजबिजी र अपारदर्शी छ, बढ्दो ऋण साधनको कुशल उपयोग सुनिश्चित हुन सकेको छैन, युवा पुस्ताले राखेका आधारभूत मागहरु संबोधन हुन नसकी थाती रहेका छन्, भ्रष्टाचार र कुशासन नियन्त्रणतर्फका कानुनी मापदण्ड, आधार र उपाय निकाल्नेतर्फ खासै प्रगति देखिएको छैन, आय-आर्जन र जनजीविकाको असहज अवस्था छ र भावी परिदृश्य अस्थिर, अनिश्चित र अनिर्णित छ । यी सबै विकृति, विसँगति र अवरोधको दिगो समाधानको सशक्त ढाँचा पहिल्याउँदै अर्थतन्त्रलाई निर्दिष्ट दिशामा शीघ्र गतिले अगाडि बढाउनु नै अर्थतन्त्र उत्थानको आजको राष्ट्रिय जिम्मेवारी रहेको छ ।
(लेखक वरिष्ठ अर्थविद् हुनुहुन्छ ।)



0 comment