ठाउँ हेर्ने उत्सुकता र आफ्ना पुर्खाले देखाएको आस्थाका कारण म पनि भारतका जगन्नाथपुरी, द्वारिकाधाम, गंगासागर, त्र्यम्बकेश्वर, सोमनाथ, नागेश्वर ज्योतिर्लिङ्ग, शिरडी, कलकत्ताको काली मन्दिर, दक्षिणेश्वर, सूर्य मन्दिर, मुम्बईको दरगाहजस्ता ठाउँमा पुगेको हुँ। धाम तथा मन्दिर पुग्दा एक प्रकारको आध्यात्मिक भाव, तरंग, सुखानुभूति र सकारात्मक ऊर्जा उत्पन्न हुनुपर्ने हो। तर सोमनाथ र दक्षिणेश्वरबाहेक अन्यत्र त्यस्तो भाव ममा खासै पैदा भएन। कारण थियो, धर्मको नाममा त्यससँग जोडिएकाहरूको आडम्बरी र पाखण्डीपनको विद्रूप रूप! आध्यात्मिक शक्ति, भाव र भक्तिको अनुभूति हुनुपर्नेमा त्यसको एक छेउसम्म पनि पुग्न नसकेको यो यथार्थलाई मैले लुकाउनुपर्ने ठान्दिनँ। यस मानेमा नेपालका तीर्थधाम, मठ, मन्दिर, गुम्बालगायतका स्थानमा धर्मको नाममा त्यति पाखण्डपन देखिँदैन। ती तुलनात्मक रूपमा स्वच्छ लाग्छन्, जहाँ आध्यात्मिक अनुभूति गर्न सकिन्छ।
शताब्दीयौँदेखि कहलिएको आस्थाको केन्द्रका रूपमा पुजिँदै आएका भारतका उल्लिखित तीर्थस्थलको स्वरूपले नै तिनलाई आध्यात्मिक चेतना जागृत हुने पवित्र स्थल मान्न मेरो मन तयार भएन भने साम्यवादी विचारधाराबाहेक अन्य धर्मलाई खासै महत्त्व नदिने चीनको कैलाश र मानसरोवरलाई जबर्जस्ती धार्मिक जलप लगाई एक दशकयता तीर्थाटनको नाम दिएर यात्रा गराउन थालिएको छ। त्यसले साँच्चै आध्यात्मिक ऊर्जा जागृत हुने स्थलको रूप धारण गरेको छ भनेर मेरो मनले मान्न सक्ला त? धार्मिक अन्धविश्वासको कमजोरीलाई क्यास गरी व्यापारमा परिणत गर्न पल्केकाहरूले आध्यात्मिक जागरण र रोमाञ्चक पदयात्राबीचको फरक नदेख्दाको परिणति हो कैलाश–मानसरोवर पदयात्रा! हो, अन्य ठाउँजस्तै कैलाश परिक्रमा पदयात्राको दृष्टिले मात्र सुहाउँदो छ, आध्यात्मिक जागरणका लागि होइन। आध्यात्मिक चेतना जागृत हुने ठाउँ हाम्रै देशमा यति धेरै छन् कि समझ भएका मानिसलाई बुझाइराख्नै पर्दैन। बुझ्नेका लागि श्रीखण्ड खुर्पाको बिँड हुनै सक्दैन। तर नासमझले श्रीखण्डलाई जसरी खुर्पाको बिँड ठान्छन्, त्यस्तै हो कैलाश पदयात्रालाई अध्यात्म र पितृ उद्धारसँग जोड्नेहरूको सोच!
पदयात्राको सो क्षेत्रलाई तीर्थाटनको औचित्य पुष्टि गर्न नसकेपछि ठेउके धार्मिक पण्डाहरूले जौको पिण्ड बनाई पितृ तार्ने तानाबाना बुनेर अर्को पाखण्डपन र विकृतिको मुहान खोलेका छन्, जसको विसर्जन फोहोरको डब्बामा हुन्छ। यो पितृको मान हो कि अपमान? यात्रुहरूले मानसरोवरको जल छुन नपाउने, टाढैबाट हेर्नुपर्ने र जल सेचनका लागि डब्बाको पानी प्रयोग गर्नुपर्ने कडा नियम चीनले लगाएबाटै सो स्थान तीर्थस्थल होइन भन्ने कुराको पुष्टि भएको छ। यति कुरा पनि छुट्याउन र बुझ राख्न नसक्नेहरूको चेतनाको स्तर कस्तो हुन्छ, बुझाइराख्न नपर्ला।
जुन कुरा प्राकृतिक रूपमै रहन दिनुपर्छ, त्यसको विपरीत प्रकृति विथोलिने गरी मानवीय हस्तक्षेप गर्नु मानवकै लागि हितकर हुँदैन। यति कुरा त सबैले बुझ्न जरुरी छ। यो बुझ्न नसक्दाको परिणामस्वरूप संसारमा धेरै अप्राकृतिक उथलपुथल भएर सर्वनाश भएका छन्। मानव सभ्यताका लागि आवश्यक नपर्ने औद्योगिक सामान र हातहतियार उत्पादनका कारण कार्बन उत्सर्जनले जलवायुमा नकारात्मक असर पारेको छ। पृथ्वीको सतह तात्दै असामान्य हुँदै गइरहेको छ।
यसैको परिणति पनि हो, भाद्र १०, २०८३ को भोटेकोशी–त्रिशूलीको भयानक नरसंहार र मृत्युको उत्पात! पृथ्वी तात्दाको परिणामस्वरूप तिब्बती क्षेत्रको १७ हजार फिट उचाइबाट ५ हजार फिटमा खसेको कुनै हिमपहिरोले हिमताल छेडेर भोटेकोशी र त्रिशूलीले देखाएको रौद्र रूपको ताण्डव नृत्य! सुनामीजस्तै भयङ्कर शक्तिशाली ढुंगा–माटोयुक्त लेदोको ३०० फिटसम्म अग्लो लहरले हेर्दाहेर्दै छिनभरमै दुई–तीन सय वर्षको सभ्यताले एउटा मानक बनाएका ऐतिहासिक स्थलहरू र हजारौँको ज्यान उडाइदियो। अर्बौँ–खर्बौँको क्षति निमेषभरमै भयो! मानव बस्ती र निर्मित संरचनाका भग्नावशेष तथा लासका डुंगुरले ती क्षेत्रलाई प्रेत नाच्ने घाटमा परिणत गरिदिएका छन्।
हजारौँ तीर्थयात्री भएर आएकाहरूको समेत प्राणपखेरु हरेर मृत्युले अट्टहास गरेको त्यो कालो दिनको दृश्य नै नर्कको प्रतिछाया हो। प्रकृति घनघोर रूपमा रिसाएर प्रतिक्रिया स्वरूप अलिकति छचल्किँदा देखिएको परिणामले जोकोहीको मुटु काँप्छ!
वर्षायाम, प्रतिकूल भौगोलिक अवस्था र चढ्दो उमेरमा यात्रा गर्नुपर्ने स्थानमा उमेर ढल्केकाहरूलाई लैजाने गलत सोचले जरा गाडेको यस्तो समाजमा रहेका हामीले यात्राका क्रममा आउन सक्ने विपत्तिबारे न त सोच राखेका हुन्छौँ, न त स्थानविशेषको भूगोलबारे जानकारी नै लिएका हुन्छौँ। घुम्न जाने भनेपछि दायाँबायाँ केही सोचविचार नै नगरी दौडनेहरू नै कुनै विपत्ति पर्दा समस्यामा पर्ने हुन्। यात्राको रमाइलो, ठाउँविशेषको महत्त्व र गुणात्मक यात्राभन्दा पनि कतिलाई ठाउँ पुगेको रेकर्ड बनाउने घमण्डले गाँजेको हुन्छ। त्यही कारण धेरै मानिस समस्यामा परेका पनि छन्।
सरकारी योजनाले राजमार्ग बनाउन नदी बग्ने बाटोलाई नै प्राथमिकतामा राखेको देखिन्छ। राजमार्ग बनेपछि सडक किनारमै सटरयुक्त घर बनाउन आमजनताको सक्रियता बढेको छ। घर बनाएर नदी किनारमै सहर बसाउने क्रम बढेसँगै नदी किनारामा पर्खाल लगाई नदीलाई साँघुरो बनाउने क्रियाकलाप पनि भइरहेका छन्। पटक–पटक बाढी, पहिरो र भूकम्पको त्रासदी भोगेर पनि शिक्षा नलिने र नचेत्ने समाजका यी प्रवृत्तिले के देखाउँछन् भने दुःख भोग्नु नै हाम्रो नियति बनेको छ।
हामी कहिल्यै गम्भीर नबन्ने ढिट र मूढ मानव हौँ। २०७२ सालको त्यस्तो झन्डै ७–८ म्याग्निच्युडको डरलाग्दो भूकम्प एक वर्षमै बिर्सियौँ, सरकारले समेत बिर्सियो! अग्ला घर बनाउने जनताको मोह टुटेन, न त सरकारले स्वीकृति दिन नै रोक्यो। मेलम्चीको अचानक आएको बौलाहा बाढीले चार–पाँचतले घर सर्लक्कै निल्यो, तर पनि खोला छेउमा बस्ती विस्तार हुन रोकिएन। हाम्रा पुर्खाले नदी छेउमा खेतीपाती गर्ने र अलि माथि थुम्काथुम्कीमा घर तथा गाउँबस्ती बसाएको तथ्य बिर्सेर जथाभावी बाटो र बस्ती विस्तार गर्दाको परिणति पछिल्ला पुस्ताले भोगिरहेको यथार्थ हो।
न जनता, न त सरकार नै यस्ता कुरामा सचेत देखिए। नजिकको भाग मात्र देख्ने, टाढाको सोच राख्न नसक्ने अदूरदर्शी चालामालाका कारण अझै कति दुर्दिन देख्नुपर्ने हो, भन्न सकिँदैन। यो असत्य होस् भन्ने चाहना रहला, तर जुन प्रकारले हामी परिचालित छौँ, त्यसलाई हेर्दा भविष्य सुखद लाग्दैन।
शताब्दीयौँदेखि गोसाइँकुण्डलाई नै महादेवको थलो मानिँदै आएको ऐतिहासिक तथ्यलाई जानाजान बङ्ग्याएर २९ हजार फिटभन्दा अग्लो संसारकै छानो मानिने आफ्नै सर्वोच्च हिमाल रहेको तथ्य बिर्सेर कैलाश भनिएको चीनको करिब ५ हजार फिट उचाइको पहाडलाई शिव बस्ने हिमाल भनेर जबर्जस्ती मान्यता दिलाउन खोज्नु नेपालको शताब्दीयौँदेखिको मूल्य, मान्यता र संस्कृतिमाथिको प्रहार हो! अपमान हो! अनि यो अपमानलाई सिद्ध गराउन नेपालका केही अरौटे–भरौटेहरू जानाजान लागेका छन्।
संसारका जतिसुकै प्रख्यात तीर्थस्थल पुगे पनि पशुपतिनाथको दर्शन नगरेसम्म तीर्थयात्रा पूर्ण मानिँदैन। एउटा विडम्बना त यो पनि हो कि आफ्नै जिउमा कस्तुरी रहेको तथ्य बिर्सेर अर्कामा कस्तुरी खोज्दै हिँड्ने हाम्रो झारपाते बानीले हामी आफैँलाई हानि गरेको छ, अरूलाई होइन!
जलवायु परिवर्तनको नकारात्मक असरबाट संसार आक्रान्त छ। हाम्रो जस्तो देश त झन् यसको बढी चपेटामा परेको छ। औद्योगिक एवं हातहतियार उत्पादन गर्ने र युद्धमा देशहरूलाई धकेल्ने मुलुकहरूका कारण सिर्जित कार्बन उत्सर्जनले वातावरणमा ठूलो हलचल ल्याएको छ। प्रकृति आफ्नो प्राकृतिक स्वरूपमा रहन सकेको छैन र मुलुकले ठूलो विनाश तथा विपत्तिको प्रकोप भोग्नुपरेको छ।
वास्तवमा ती देशले पारेको असरबाट हाम्रो देशमा ओर्लिएको विपत्तिको क्षतिपूर्ति तिनै देशले दिनुपर्छ। ओजोन तहमा प्वाल परेर विनाशका झिल्का पैदा भएदेखि पृथ्वी तातेर हिमालका हिउँ पग्लने क्रम बढ्नुको कारण पनि यही कार्बन उत्सर्जन हो। हाम्रो देश यसको जिम्मेवार होइन, बरु हामीले विश्वका अन्य देशलाई अक्सिजन दिएर वातावरण सन्तुलनमा ठूलो योगदान पुर्याएका छौँ। यसर्थ पनि हामीले उत्पादन नगरेका तत्वले हामीलाई पुर्याएको क्षतिको क्षतिपूर्ति ती जिम्मेवार भनेर चिनिएका देशहरूले दिनैपर्छ। यसका अन्तर्राष्ट्रिय कानुनी प्रक्रियाहरू रहेका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) यस विषयमा पहल गर्ने पहिलो थलो हो। सरकारको ध्यान यसमा परिहालोस्।
अन्त्यमा, प्रकृतिले आफ्नो स्थान खोज्छ नै। प्रकृतिको स्थानमा खेलवाड गर्ने मानवीय मूर्खताले मानव बस्ती र सभ्यता कुनै पनि बेला नष्ट हुन सक्छन् भन्ने हेक्का राख्न जरुरी छ। आज जुन ठाउँमा सुनामीपछिको त्रिशूली र भोटेकोशीले आफ्नो बाटो बनाएका छन्, त्यही ठाउँबाट धेरै वर्षअघि नदी बग्ने गरेको तथ्याङ्कले देखाउँछ। प्रकृतिलाई हेप्ने, यसको स्वरूप बिगार्ने र प्रकृतिलाई तह लगाएर जित्ने अभिलाषा राख्नु भनेको कमिलाको प्वाँख पलाएर असमयमै मृत्युमुखमा पुग्ने गोरेटो बनाएसरह हो भनेर बुझ्नुपर्छ!


0 comment