‘मेरो दिन, मेरा अधिकार, मेरो भविष्य’ भन्ने मूल नाराका साथ विश्वभर विश्व बाल दिवस मनाइयो ।  यस नाराले प्रत्येक बालबालिकाको पहिचान, अधिकार, आवाज र उज्ज्वल भविष्य सुनिश्चित गर्न परिवार, समाज, सरकार तथा सम्पूर्ण सरोकारवालालाई आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गरेको छ । दिवस बालबालिकाका अधिकारबारे चर्चा गर्ने अवसर मात्र होइन, उनीहरूको जीवनमा हामीले कस्तो परिवर्तन ल्याएका छौँ र अझै के गर्न बाँकी छ भनेर आत्मसमीक्षा गर्ने दिन पनि हो ।
विश्वका धेरै बालबालिका विद्यालयमा पढिरहेका छन्, साथीहरूसँग खेलिरहेका छन् र आफ्नो भविष्यका सपना बुन्दै छन् । तर, यही संसारका अर्को कुनामा कुनै बालबालिका बम विस्फोटको आवाजसँगै निदाउँछन्, भोकसँग लड्छन्, आफन्त गुमाउँछन् र सुरक्षित ठाउँको खोजीमा घर छोड्न बाध्य हुन्छन् । कसैको विद्यालय युद्धका कारण भग्नावशेष बनेको छ, कसैको बाल्यकाल विस्थापनको शिविरमा बितिरहेको छ । त्यस उमेरमा उनीहरूले अक्षर सिक्नुपर्ने, खेल्नुपर्ने र परिवारको माया पाउनुपर्ने हो, जीवन बचाउने संघर्ष गर्नु परेको छ । युद्धले केवल भौतिक संरचना नष्ट गर्दैन; यसले बालबालिकाको मनमा डर, पीडा र अनिश्चितताको गहिरो घाउ पनि छोड्छ । युद्धग्रस्त बालबालिकाको यो अवस्था मानव सभ्यता र विश्व समुदायका लागि गम्भीर प्रश्न हो ।


बालबालिका राष्ट्रका भविष्य हुन् भन्ने भनाइ हामीले धेरै पटक दोहो¥याएका छौँ ।  तर बालबालिकालाई भविष्यका नागरिक मात्र ठानेर उनीहरूको वर्तमान आवश्यकता र आवाजलाई बेवास्ता गर्नु उचित होइन । उनीहरू भविष्यका कर्णधार मात्र होइनन्, आजका नागरिक हुन ्। उनीहरूलाई आजै सुरक्षित वातावरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण, सम्मान, सहभागिता र हिंसामुक्त जीवन चाहिन्छ ।


नेपालमा पनि सबै बालबालिकाले समान रूपमा सुरक्षित र सुखद बाल्यकाल बिताउन पाएका छैनन् । गरिबीका कारण विद्यालय छोड्न बाध्य बालबालिका, बालश्रममा संलग्न बालबालिका, बालविवाहको जोखिममा रहेका किशोरी, घर वा विद्यालयमा हिंसा भोगिरहेका बालबालिका, अपाङ्गता भएका बालबालिकाले सामना गर्ने अवरोध तथा विपन्न र सीमान्तकृत समुदायका बालबालिकाको अवस्था अझै चुनौतीपूर्ण छ । कतिपय बालबालिका दुव्र्यवहारमा परे पनि डर, सामाजिक प्रतिष्ठाको चिन्ता वा परिवारको दबाबका कारण बोल्न सक्दैनन्। कतिपय विद्यालयमा बालबालिकाको सिकाइभन्दा परीक्षा नतिजालाई बढी महत्व दिइन्छ, उनीहरूको मनोभावना, व्यवहार र समस्यालाई बुझ्ने प्रयास पर्याप्त हुँदैन। बालबालिकाका समस्या सधैँ बाहिर देखिँदैन कतिपय पीडा उनीहरूको मौनताभित्र लुकेका हुन्छन ्।
नेपाल प्राकृतिक विपद्को जोखिममा रहेको देश भएकाले बालबालिकाको सुरक्षा र संरक्षणमा थप संवेदनशीलता आवश्यक छ। भूकम्प, बाढी, पहिरो, डुबान र आगलागीजस्ता विपद्ले बालबालिकाको जीवनमा प्रत्यक्ष असर पारिरहेका छन ्। विपद्का कारण कतिपय बालबालिकाले परिवारका सदस्य गुमाउनुपरेको छ, घरबार छोडेर विस्थापित हुनुपरेको छ र लामो समयसम्म विद्यालयको पहुँचबाट टाढा रहनुपरेको छ । कतिपयले सुरक्षित आवास, स्वच्छ खानेपानी, सरसफाइ, पोषण र स्वास्थ्य सेवाको अभावसमेत भोग्नुपर्छ ।

 विशेषगरी विपद्का समयमा बालबालिका हिंसा, दुव्र्यवहार, शोषण, बालश्रम र बालविवाहको थप जोखिममा पर्न सक्छन् । त्यसैले विपद् व्यवस्थापनका सबै चरण—पूर्वतयारी, प्रतिकार्य, राहत तथा पुनस्र्थापना—मा बालबालिकाको आवश्यकता र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्छ । विद्यालयलाई सुरक्षित बनाउने, बालमैत्री अस्थायी आश्रयस्थलको व्यवस्था गर्ने, परिवारबाट छुट्टिएका बालबालिकाको पहिचान तथा पारिवारिक पुनर्मिलन गराउने र प्रभावित बालबालिकालाई मनोसामाजिक सहयोग उपलब्ध गराउने व्यवस्था प्रभावकारी हुनुपर्छ । विपद्पछिको पुनर्निर्माण भनेको भौतिक संरचना मात्र बनाउनु होइन, बालबालिकाको सुरक्षित बाल्यकाल र रोकिएको भविष्यलाई पुनः जोड्नु पनि हो ।


बालअधिकार सुनिश्चित गर्ने जिम्मेवारीको पहिलो र प्रमुख दायित्व राज्यको हो । संविधान र कानुनमा अधिकार उल्लेख गरेर मात्र राज्यको जिम्मेवारी पूरा हुँदैन । बालबालिकाको आवश्यकताअनुसार बजेट, प्रभावकारी सेवा, दक्ष जनशक्ति, नियमित अनुगमन र जवाफदेहिताको व्यवस्था हुनुपर्छ । स्थानीय तहले जोखिममा रहेका बालबालिकाको पहिचान, हिंसा तथा दुव्र्यवहारको रोकथाम, उजुरीको सहज व्यवस्था, उद्धार, उपचार, मनोसामाजिक सहयोग र पुनस्र्थापनालाई प्राथमिकतामा राख्नुपर्छ । बालसंरक्षणका संयन्त्र कागज र बैठकमा सीमित नभई आवश्यक पर्दा सहजै उपलब्ध हुने र प्रभावकारी रूपमा काम गर्ने हुनुपर्छ ।
बालबालिकाको सुरक्षित भविष्य निर्माणमा परिवार, विद्यालय र समुदायको भूमिका पनि उत्तिकै निर्णायक छ ।

घरमा बालबालिकालाई डर र सजायबाट होइन, संवाद र समझदारीबाट हुर्काउने संस्कार विकास गर्नुपर्छ । विद्यालय शारीरिक सजाय, अपमान, विभेद र दुव्र्यवहारबाट मुक्त हुनुपर्छ । समुदायमा बालविवाह, बालश्रम वा हिंसाका घटना देख्दा चुप लागेर बस्ने होइन, जिम्मेवार निकायसम्म पु¥याउने संस्कार निर्माण गनुपर्दछ । बालबालिकालाई इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सिकाउनु, उनीहरूका समस्या ध्यानपूर्वक सुन्नु र आवश्यक सहयोग उपलब्ध गराउनु पनि संरक्षणकै महत्वपूर्ण पक्ष हुन ्।
बालबालिकाको सहभागितालाई पनि औपचारिकतामा सीमित गर्नु हुँदैन । बाल क्लबलाई दिवस मनाउन वा नारा लगाउन मात्र प्रयोग नगरी विद्यालय, समुदाय र स्थानीय तहका निर्णय प्रक्रियामा उनीहरूको विचार राख्ने अवसर दिनुपर्छ । उनीहरूले उठाएका सवाल सुनिनु मात्र होइन, सम्बोधन पनि हुनुपर्छ । बालबालिकालाई आफ्ना विषयमा बोल्न र निर्णय प्रक्रियामा सहभागी हुन अवसर दिनु भनेको उनीहरूलाई जिम्मेवार, आत्मविश्वासी र सचेत नागरिकका रूपमा विकास गर्नु हो ।


यसका साथै, नागरिक समाज, गैरसरकारी संस्था, विकास साझेदार, नीजिक्षेत्र र सञ्चारमाध्यमले पनि बालअधिकार संरक्षणमा आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ । कार्यक्रम सञ्चालन र उपलब्धीको विवरण प्रस्तुत गर्नु मात्र पर्याप्त हुँदैन; बालबालिकाको जीवनमा वास्तविक परिवर्तन आएको छ कि छैन भन्ने कुरालाई महत्व दिनुपर्छ । बालसंरक्षणसम्बन्धी कार्यक्रमबीच समन्वय, स्रोतको उचित उपयोग, सेवाको निरन्तरता र परिणामको नियमित मूल्याङ्कन आवश्यक छ ।
विश्व बाल दिवस एक दिनको उत्सव होइन; यो वर्षभरि पूरा गर्नुपर्ने जिम्मेवारीको सम्झना हो । युद्धमा रहेका बालबालिकाका लागि शान्ति र सुरक्षा, नेपालका बालबालिकाका लागि हिंसामुक्त घर, सुरक्षित विद्यालय, समान अवसर र सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो । बालबालिकाको अधिकार संरक्षण दया होइन, दायित्व हो । उनीहरूको आवाज सुन्नु औपचारिकता होइन, सम्मान हो ।


बालबालिकाको भविष्य भाषणले होइन, आज हामीले गर्ने निर्णय र कामले निर्धारण गर्छ । उनीहरूलाई सुरक्षित राख्ने जिम्मेवारी अरू कसैको मात्र होइन—सरकारदेखि परिवारसम्म, संस्थादेखि प्रत्येक नागरिकसम्म सबैको हो । बालबालिकाका लागि सुरक्षित वर्तमान निर्माण गर्न सके मात्र उज्ज्वल भविष्यको सपना साकार हुनेछ ।


बालबालिकाको मुस्कानलाई केवल उत्सवको विषय होइन, हाम्रो जिम्मेवारीको परिणाम बनाऔँ । उनीहरूका सपना सुरक्षित राखौँ, आवाजलाई सम्मान गरौँ र अधिकारलाई व्यवहारमा सुनिश्चित गरौँ । बालबालिकाको मुस्कानमै राष्ट्रको वास्तविक भविष्य लुकेको हुन्छ ।