काठमाडौं - नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिएको छ । महासंघले धर्ना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला तत्काल बन्द गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।

बुधबार महासंघको जिल्ला शाखाले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गर्दै धर्ना दिएको हो ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउने कार्य हुँदा पनि हालसम्म कारबाही नगरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध नगराइएको र विभिन्न सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरी श्रम अधिकारको उल्लंघन भएको विषयमा महासंघले असन्तुष्टि व्यक्त गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । विरोध कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।