काठमाडौं - इजरायलतर्फ उडिरहेको फ्लाई दुबईको विमान नियन्त्रणमा लिन खोज्ने क्रममा सहचालकले पाइलटमाथि ‘क्र्यास एक्स’ (आपत्कालीन अवस्थामा प्रयोग गरिने औजार) ले आक्रमण गरेको संयुक्त अरब इमिरेट्स (यूएई) का महान्यायाधिवक्ताले बताएका छन्।

दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको उक्त विमानमा १७० भन्दा बढी यात्रु तथा चालक दलका सदस्य सवार थिए। यात्राको करिब साढे दुई घण्टापछि विमान अचानक १७ हजार फिट (५,२०० मिटर) तल झरेको थियो। त्यसपछि विमानमा रहेका यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमानको नियन्त्रण पुनः लिन सफल भएका थिए।

विमानका क्याप्टेन स्मित मच्छरले आफू घाइते भएर भुइँमा लडिरहेको अवस्थामा विमान तल झरिरहेको थाहा पाएपछि आफूले केही गर्नुपर्ने महसुस गरेको बताए। उनले भने, “मैले आफैँलाई भनेँ—ढोका भित्रबाट खोल्न अन्तिम पटक भए पनि प्रयास गर्नुपर्छ।” त्यसपछि ढोका खुलेको र यात्रुहरू ककपिटभित्र प्रवेश गर्न सफल भएको उनले बताए।

त्यसपछि दुई जना वैकल्पिक पाइलटले विमानलाई सुरक्षित रूपमा साउदी अरबमा अवतरण गराएका थिए।

सामान्यतया आपत्कालीन अवस्थामा प्रयोग गर्नका लागि ‘क्र्यास एक्स’ ककपिटभित्र राखिएको हुन्छ।

यस घटनामा प्रयोग भएको हतियार अनुसन्धानकर्ताहरूका लागि महत्वपूर्ण प्रश्न बनेको छ। विशेषगरी यस्तो संवेदनशील मार्गमा विमानको सुरक्षा व्यवस्था निकै कडा हुने भएकाले हतियार ककपिटसम्म कसरी पुग्यो भन्ने विषयमा प्रश्न उठेको छ। विमानमा रहेका यात्रुहरूका प्रारम्भिक भनाइमा भने आक्रमणकारीले चक्कु प्रयोग गरेको हुनसक्ने बताइएको थियो।

यूएईका महान्यायाधिवक्ताले घटनाको पूर्ण परिस्थिति र आक्रमणको उद्देश्य पत्ता लगाउन अनुसन्धान भइरहेको सरकारी सञ्चारमाध्यमलाई बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार विमानमा आक्रमण गर्ने सहचालक ओमानी नागरिक थिए।

रोयटर्स, सीएनएन र द न्युयोर्क टाइम्सलगायतका सञ्चारमाध्यमले उनको नाम हमाम अल-हमामी रहेको उल्लेख गरेका छन्। तर उनको नामबारे आधिकारिक पुष्टि भने भएको छैन।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अल-हमामीले यसअघि ओमान एयरमा काम गर्दा उनको उग्र विचारप्रति चिन्ता व्यक्त भएपछि उनलाई पाइलट प्रशिक्षणबाट हटाइएको थियो। त्यसपछि उनलाई ओमानको राष्ट्रिय विमान कम्पनीमा अर्को जिम्मेवारी दिइएको थियो।

बकिङ्घमशायर न्यू युनिभर्सिटीले दिएको जानकारीअनुसार उनले बेलायतस्थित उक्त विश्वविद्यालयबाट तीन वर्षे दूरशिक्षा पाठ्यक्रम पूरा गरी सन् २०२३ मा उड्डयन व्यवस्थापनमा स्नातक गरेका थिए। विश्वविद्यालयले उनले त्यहाँ कुनै पाइलट प्रशिक्षण भने नलिएको स्पष्ट पारेको छ।

फक्स न्युजसँग कुरा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले आक्रमणकारीलाई विमानभित्रै नियन्त्रणमा लिएपछि उनले चालक दललाई “मलाई मार, मलाई मार!” भनेर चिच्याएको बताएका छन्।

नेतन्याहुले भने, “यसबाट स्पष्ट हुन्छ कि उनी आत्महत्या गर्न चाहिरहेका थिए । उनले विमान खसाल्ने प्रयास गरेको देखिन्छ।”

उनले आक्रमणकारीले “इस्लामवादी अतिवादी विचारधाराबाट प्रभावित हुने किसिमको कट्टरपन्थी प्रशिक्षण” लिएको पनि बताए।

यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले घटनाबारे गरिएको अनुसन्धानबाट सहचालकले आतंकवादी कार्य गर्ने प्रयास गरेको खुलेको बताएका छन्। यूएईको सरकारी समाचार एजेन्सीका अनुसार उनले यस्तो बताएका हुन्।

उनले घटनाको वास्तविक परिस्थिति, आक्रमणको उद्देश्य तथा यससँग सम्बन्धित कुनै व्यक्ति वा संगठनसँगको सम्भावित सम्बन्धबारे थप अनुसन्धान भइरहेको पनि बताए।