काठमाडौं - सरकारले आकर्षक पारिश्रमिकसहित सूचना प्रविधि (आईटी) क्षेत्रका विभिन्न पदमा कर्मचारी माग गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले  सार्वजनिक गरेको विज्ञापनअनुसार ९ पदमा कर्मचारी माग गरेको हो।

सूचना प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि ९ पदमा कर्मचारी माग गरेको हो।

प्रमुख प्रविधि विज्ञ पदमा मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ। त्यस्तै, प्रोजेक्ट म्यानेजर तथा विभिन्न क्षेत्रका प्रमुख पदमा मासिक २ लाख रुपैयाँ तलब दिने गरी आवेदन आह्वान गरिएको छ।

यसैगरी, सिस्टम एनालिस्टका लागि मासिक १ लाख ६० हजार, सिनियर डेभलपरका लागि १ लाख ४० हजार तथा सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटरका लागि १ लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ।

माग गरिएका पदका लागि सूचना प्रविधिसँग सम्बन्धित विषयमा शैक्षिक योग्यता तोकिएको छ। प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजरका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ भने अन्य पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।