काठमाडौं - भारतमा प्रमुख निर्वाचन आयुक्तलाई पदबाट हटाउन माग गर्दै प्रदर्शनको तयारी भइरहेका बेला प्रहरीले शुक्रबार ककरोच जनता पार्टीका नेता अभिजित दिप्केलाई पक्राउ गरेको छ ।

३१ वर्षीय दिप्केलाई नयाँदिल्लीको व्यस्त व्यावसायिक क्षेत्र कनट प्लेसस्थित सेन्ट्रल पार्कमा प्रदर्शन सुरु हुनुअघि नियन्त्रणमा लिइएको आन्दोलनकारी समूहले सामाजिक सञ्जालमार्फत जनाएको छ । समूहले राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्न खोज्ने युवासँग सरकार डराएको आरोप लगाएको छ ।

दिप्केले आफ्ना दुई सहकर्मीलाई जंतरमंतर क्षेत्रमा सुरक्षा अवरोध पार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएपछि समर्थकलाई राष्ट्रिय झण्डासहित सेन्ट्रल पार्कमा भेला हुन आह्वान गरेका थिए । प्रहरीले उक्त क्षेत्रमा सार्वजनिक जमघट गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।
भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको नेतृत्वमा भएको मतदाता नामावली पुनरावलोकनलाई लिएर पछिल्लो समय विवाद बढेको छ । विपक्षी दल र आन्दोलनकारीहरूले उक्त प्रक्रियाले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पु¥याउने आरोप लगाउँदै आएका छन् । उनीहरूले निर्वाचन आयुक्तको राजीनामासमेत माग गरेका छन् ।

यद्यपि, भारतको निर्वाचन आयोगले कुनै अनियमितता नभएको दाबी गर्दै आएको छ । भारतीय सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कअनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा बढी मतदाताका नाम हटाइएको छ । विपक्षी दलहरूले अदालतमा पेस गरेका विवरणमा उक्त कदमबाट अल्पसङ्ख्यक समुदाय, विशेषगरी मुस्लिम समुदायका मानिस बढी प्रभावित भएको आरोप लगाइएको छ ।

तर निर्वाचन अधिकारीहरूले दोहोरो नाम, मृत्यु भएका व्यक्तिको नाम र नक्कली विवरण हटाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको बताएका छन् ।प्रदर्शनलाई ध्यानमा राख्दै शुक्रबार नयाँदिल्लीको मध्य क्षेत्रमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले सार्वजनिक जमघटसम्बन्धी प्रतिबन्धको आदेश उद्धृत गर्दै प्रदर्शनकारीलाई भेला नहुन चेतावनी दिएको छ ।