काठमाडौं - चीनको तिब्बत क्षेत्रमा बिहीबार साँझ ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

सरकारी सञ्चार माध्यमका अनुसार भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्। उत्तरी तिब्बतको नाग्छु सहरमा सयौँ घर भत्किएका छन्।

नाग्छु सहरको सञ्चार कार्यालयले स्थानीय सरकारी अधिकारीलाई उद्धृत गर्दै कम्तीमा ३३९ घर र पशु राख्ने २० वटा गोठ भत्किएको जनाएको छ। भूकम्पपछि खोज तथा उद्धार कार्य जारी रहेको छ।
उद्धार कार्यका लागि स्थानीय काउन्टीबाट एक हजार ६०० भन्दा बढी मानिस परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा एक हजार वटा पूर्व निर्मित आवास एकाइ, करिब तीन हजार पाल, खाट, टर्चलाइट र न्यानो कपडा लगायतका राहत सामग्री पुर्याइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको थियो। यसको केन्द्रविन्दु उत्तरी तिब्बतको कम जनघनत्व भएको उच्च पहाडी क्षेत्रमा रहेको नाग्छु सहरबाट १९१ किलोमिटर पूर्व–उत्तर पूर्वमा थियो।

यूएसजीएसले भूकम्पको गहिराइ १८ किलोमिटर रहेको जनाएको छ।