काठमाडौं - युक्रेनको राजधानी किभमा पुनः क्षेप्यास्त्र आक्रमण भएको छ।
बुधबार राति भएको आक्रमणमा कैयौँ घरमा क्षति पुगेको र छ जना घाइते भएको किभका मेयर भिटाली क्लिच्कोले बताएका छन्।
रुसले शान्ति वार्ता पुनः सुरु गर्न सैद्धान्तिक रूपमा तयार रहेको बताएपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने सम्भावना अहिलेसम्मकै नजिक पुगेको दाबी गरेको केही घण्टा मै आक्रमण भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरको नेतृत्वमा नयाँ कूटनीतिक पहल भइरहेका बेला आक्रमण भएको हो। विटकफले बुधबार रुसको सेन्ट पिटर्सबर्ग सहरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए। त्यसको एक दिनअघि उनले युक्रेनी नेतासँग भेट गरेका थिए।
गत फेब्रुअरीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय वार्ता रोकिएको थियो। त्यसपछि युक्रेनसँग क्षेप्यास्त्र प्रतिरक्षाका लागि पश्चिमी मुलुकबाट प्राप्त इन्टरसेप्टर मिसाइलको भण्डार घट्दै गएपछि रुसले आक्रमण तीव्र बनाएको थियो।
बुधबार बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “केही दिनअघि मैले भ्लादिमिर पुटिनसँग युक्रेनसँगको युद्ध अन्त्य गर्ने विषयमा कुरा गरेको थिएँ। मलाई लाग्छ, हामी त्यसको नजिक पुगिरहेका छौँ। वास्तवमा, अहिले हामी युद्ध अन्त्य गर्ने सम्भावनाको अहिलेसम्मकै सबैभन्दा नजिक हुन सक्छौँ।”
यद्यपि रुस–युक्रेन युद्ध अन्त्य गर्न आफू सफल हुने भन्दै पटक–पटक दाबी गर्दै आएका ट्रम्पले अहिलेसम्म युद्ध रोक्न सकेका छैनन्।


0 comment