काठमाडौं - भारतको बिहार राज्यको वैशाली जिल्लास्थित रामपुर श्यामचन्द गाउँनजिक गङ्गा नदीमा यात्रु बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

यस दुःखद घटनामा मृत्यु हुनेमा महिला र बालबालिकासमेत रहेको आशङ्का गरिएको छ।

राघोपुरका विधायक तथा राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवले पछिल्लो जानकारी दिँदै दुर्घटनामा घाइते भएका छ जनालाई अस्पताल भर्ना गरिएको र अन्य तीन जनाको सकुशल उद्धार गरिएको बताएका छन्। दुर्घटना राघोपुर प्रहरी चौकीको क्षेत्राधिकारभित्र भएको हो।

प्रारम्भिक विवरणअनुसार भोजमा सहभागी हुन केही बालबालिका डुङ्गामा चढेका थिए। भोज सकेर फर्किने क्रममा डुङ्गा नदीमा पल्टिएको बताइएको छ। सुरुमा प्राप्त विवरणमा पाँचदेखि आठ जनासम्मको मृत्यु भएको हुन सक्ने जनाइएको थियो।

वैशाली जिल्लाकी जिल्ला अधिकारी वर्षा सिंहले सुरुमा इन्डिया टुडेसँग कुरा गर्दै दुर्घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेकी थिइन्। तर त्यसपछि तेजस्वी यादवले १४ जनाको शव फेला परेको बताएका छन्।

दुर्घटना हुनुको वास्तविक कारण र प्रभावित व्यक्तिहरूको पहिचानबारे थप विवरण आउन बाँकी छ।