काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विश्वलाई पूर्ण विनाश हुनबाट जोगाएको भन्दै उनले याे पुरस्कारको हकदार आफू रहेको बताएका हुन् ।
पत्रकारहरूसँगकाे कुराकानीमा उनले भने, 'कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका थिएनन्। मैले आठ वटा युद्ध अन्त्य गराएको छु र सम्भवतः विश्वलाई पूर्ण विनाश हुनबाट पनि जोगाएको छु। त्यसैले मलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्छ।'
सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेली नोबेल समितिले शुक्रबार गर्दैछ। पुरस्कारबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, 'उनीहरूको निर्णय के हुन्छ मलाई थाहा छैन। तर उनीहरूको छवि यस्तो छ कि सायद उनीहरू म जस्ता व्यक्तिहरूलाई यो पुरस्कार दिँदैनन्।'
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अगाडि भने, 'अब सायद त्यो समय आएको छ। अघिल्लो पटक पुरस्कार पाउने व्यक्तिले इतिहासमा अरू कसैभन्दा पनि यसको बढी हकदार राष्ट्रपति ट्रम्प हुन् भनेका थिए। उहाँमार्फत अप्रत्यक्ष रूपमा यो सम्मान पाउँदा मैले निकै सम्मानित महसुस गरेको थिएँ।'
भेनेजुयलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोले गत जनवरीमा आफ्नो सन् २०२५ को नोबेल शान्ति पुरस्कार पदक ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन्।


0 comment