काठमाडौं - अमेरिकाले बेलायतस्थित 'आरएएफ फेयरफोर्ड' (RAF Fairford) सैन्य अखडामा तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ। गत सेप्टेम्बर २७ मा उक्त एयरबेसनजिकै घटेको एक शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान तीव्र पारिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको हो।
अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार यस निर्णयको पुष्टि गर्दै फेयरफोर्डमा रहेका सबै बमवर्षक विमानहरूलाई अमेरिका फर्काइसकिएको जानकारी दिएका छन्। यद्यपि, विमानहरू हटाउनुको आधिकारिक कारणबारे भने पेन्टागनले केही खुलाएको छैन।
गत सेप्टेम्बर २७ मा ग्लोस्टरशायरस्थित आरएएफ फेयरफोर्ड एयरबेसनजिकै तीनवटा शंकास्पद सवारी साधन देखिएपछि प्रहरीलाई सतर्क गराइएको थियो। अनुसन्धानका क्रममा प्रहरीले सुरुमा 'आतंकवादसँग सम्बन्धित अपराध' को आशंकामा पाँच जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई पछि धरौटीमा रिहा गरियो। त्यसलगत्तै छैटौँ व्यक्तिका रूपमा एक बेलायती-इरानी नागरिकलाई पनि पक्राउ गरी धरौटीमा छाडिएको छ।
वाइटहल स्रोतका अनुसार, अमेरिकाले विमानहरू हटाउने निर्णय फेयरफोर्ड एयरबेसको सुरक्षा घटनाकै प्रतिक्रियास्वरूप लिएको सम्भावनालाई अस्वीकार गर्न सकिँदैन। यो निर्णय राजनीतिक तहबाट नभई सैन्य तथा परिचालन (अपरेशनल) स्तरबाट लिइएको र अमेरिकी सेनाले यसबारे आफ्ना बेलायती समकक्षीहरूलाई पूर्वजानकारी गराएको बताइएको छ। बेलायती रक्षा मन्त्रालयले भने यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन।
घटनाको केही दिनपछि बेलायती राजनीतिज्ञ एन्डी बर्नहमले यस मामलामा इरानको हात रहेको 'बलियो संकेत' मिलेको दाबी गरेका थिए। तर, उनले आफ्नो दाबीको पुष्टि हुने कुनै थप विवरण भने सार्वजनिक गरेका छैनन्। अर्कोतर्फ, इरान सरकारले भने उक्त घटनामा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेको छ।


0 comment