काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई आफूहरूले सदनमा खोजिरहेको बताए ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद वर्षमान पुनले चुनावका बेला गरेका प्रतिबद्धताबारे चासो राख्दा मत फिर्ता लैजानु भन्ने जवाफ दिएका गृहमन्त्रीलाई आफूहरुको पनि धेरै प्रश्न रहेकाले सदनमा खोजिरहेको बताएका हुन्।

उनले देशभर भइरहेका प्राकृतिक विपद्, त्यसको पूर्वतयारी तथा प्रतिकार्यका विषयमा गृहमन्त्रीले सदनलाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे ।

नेता पुनले ग्यासका साथै किसानले मल नपाएर लाइन बस्नुपरेको, पासपोर्ट बनाउन र खानेपानीका लागिसमेत नागरिकहरू लाइनमा बस्न बाध्य भएको उल्लेख गरे ।

पुरानो प्रवृतिको विरोध गर्दै आएका नयाँ पार्टी सत्तामा पुग्दा पनि समस्या समाधान हुनुको सट्टा थप लाइनहरू मात्र थपिएको भन्दै उनले आलोचना गरे।

नेता पुनले वर्तमान सरकारले देशको नेतृत्व गरिरहेकाले विगतका स्थापित वा पुराना दलहरूलाई मात्र दोष देखाएर आफ्ना कमजोरी ढाकछोप गर्न नमिल्ने स्पष्ट पारे ।