राजनैतिक दलका नेतृत्वकर्तहरु जनमुखी हैन सत्तामुखी बन्दै गएको विभिन्न घटनाक्रमले पुष्टि गरिरहेको छ । जनतामुखी काम भन्दा पनि भागबन्डा र सत्ताको अर्घेलो मिलाउनमा राजनीतिक दलका नेतृत्वहरुलाई समय पुग्दैन । कांग्रेससँगको सत्ता यात्रामा काम गर्न नसकिएको हातखुट्टा बाधिएको बाघ जतिकै भएको प्रतिक्रिया दाहालले दिए । एमालेसँग सत्ताको यात्रा अगाडी बढाउदा दाहालले म नमरुन्जेल देशमा उथलपुथल भइरहने अभिव्यक्ती समेत दिन भ्याए । देशको प्रधानमन्त्रीले जनता र मुलुकको समस्या के हो भन्ने चिन्ता र चासो गर्नुपर्नेमा म रहुन्जेल राजनीतिक उथलपुथल भइरहने भाषण गर्दै हिड्नु जतिको हास्यस्पद अरु के हुन सक्छ । ओलीले दाहाललाई विगतमा पनि सत्ताको यात्रामा धोका दिएका हुनाले दाहाल ओलीप्रति निकै संसकित हुँदै सत्ताको यात्रा तय गरिरहेकै थिए । त्यस समयमा पनि दाहाललाई जनमुखी समस्याको चासो र चर्चो भन्दा पनि ओली भडकेलान भन्ने डर कम गर्ने उपाय खोज्नमै समय वित्यो । 

सत्ता समिकरणभित्रका दलहरुको विभिन्न कान्डले मच्चाएको तान्डपको ढाकछोप गर्नु पर्नेमै दाहालको समय वितेको थियो । गिरी बन्धु सहकारी यस्तै यस्तै कान्ड छोप्नुपर्ने विवसताबाट दाहाल पिल्सीराखेका थिए । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि आफू प्रधानमन्त्री हुनुपर्ने समय घर्किसकेको बेचैन त छदैथियो भने उता नेपाली कांग्रेसले सत्ता फुत्केको पिडा लुकाउन नसकी सत्तासिन दलहरु प्रति कटाक्ष गरिरहेकै  थियो । सहकारी ठगीको आरोपमा मुछिएका तत्कालिन गृहमन्त्री रवि लामिछानेमाथी छानविन गर्नुपर्ने अडान राखी महिनौ संसद अवरुद्ध बन्यो । जनताको समस्या त कता हो कता ।

मुलुकको समस्या कता हो कता महङी नियन्त्रणको सवाल कता हो कता दैनिक विदेशीने युवाको लर्को चलिरहेको छ त्यसलाई रोख्ने कार्यक्रम त कता हो कता न सत्ता पक्षलाई जनताको दुखको चिन्ता छ न प्रतिपक्षलाई । सत्ता पक्ष गठबन्धन जोगाउने उपायमै समय पुग्दैन भने प्रतिपक्ष सत्ता कसरी ढाल्ने भन्दै दिन गन्ती सुरु गरिहाल्ने यसरी नै सत्तामुखी राजनीति चलिरहेको बेला प्रमुख दुई ठूला राजनैतिक दल मिलेर फेरी अर्को सत्ता समिकरणको यात्रा सुरु भयो । बर्तमान सत्ताको स्टेरिङमा केपी ओली छन । चौथो पटक सत्ताको रेल हाक्न तम्सीएका ओलीलाई असफल हुने छुट त छैन नै छलछामको राजनीतिलाई पनि निस्तेज पार्नुपर्ने चुनौति पनि त्यत्तिकै छ । 

सत्ता स्वार्थमा चुर्लुम्म डुवेको राजनीतिक विधिले प्राकृतिक विपतले आहत खेपिरहेका जनताको दुःखमा महलम लगाउला भन्ने विश्वास मर्दै मात्रै गएको छैन यस्ता घिनलाग्दा राजनीतिक दोहोरीले आम नागरिकमा वितृष्णा समेत जागिरहेको छ । जबजब मुलुकमा प्राकृतिक विपत आउछ तवतव राजनैतिक दलहरु सत्ताको दोहोरीमा रुमालिन्छन । यो अभ्यास नयाँ हैन पूरानै हो । कोरोनाकालमा दलहरु सत्ताका लागि दोहोरी खेल्नमा व्यस्त हुँदा राधा सदाहरु भोकसँग लडाइ गरिरहेका विर्सन सकिन्न । विपतले नागरिकमा विचल्ली बनाएको छ । जताततै बाढी पहिरोले जनधनको क्षति दिनहु छ । दिनहुँ हुने सडक दुर्घटनाले सडकको दुरदशालाई देखाइरहेको छ भने हवाइ दुर्घटना त्यत्तिकै बढदा जनता असाध्यै पीडामा छन । शौर्य एयसलाइनसको विमान दुर्घनाबाट ज्यान गुमाउने सिमलालमा भएको दुर्घटना महिनौ वित्यो न बस पत्ता लाग्यो न लास नै भेटिए । विशेषगरी प्राकृतिक विपत्ति यो पहिलो पटक होइन वर्षौनी विपत आइनै रहन्छ तर कुनै पनि सरकार प्राकृतिक विपतलाई रोकथाम गर्ने पूर्व तयारीका बारेमा न छलफल नै गर्छ न योजना नै बनाउछ ।

प्राकृतिक विपतबाट भएका क्षतीबाट पाठ सिकेर आगामी वर्षका लागि पूर्व तयारीमा योजनासहित सरकारले काम गर्ने हो भने केही हदसम्म प्राकृतिक विपतबाट जनतालाई जोगाउन सकिन्छ । दलका उच्च नेतृत्वलाई अहिले पनि जनताको चिन्ता छैन । कुन दलसँग एकता गरेर फेरी कसलाई प्रधानमन्त्री बनाउने भन्ने धाउन्नमा नेतृत्वको समय वित्न थालेको छ । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल माधव नेपालसँगको पार्टी एकता गरी माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने जिम्मा लिएको समाचार नै बाहिरियो । नेतृत्वको यस्तै अशोभनीय व्यवहारले गर्दा पार्टी सकिएको भेउ नेतृत्वलाई छैन । के दलहरुले भन्ने गरेको सुशासन र समृद्धिको अभ्यास यही हो । संसदमा दलहरु एकअर्कालाई आक्षेप लगाउने दोहोरी मै व्यस्त भएको उदाहरण त जिवितै छ ।

जनताका मुद्धालाई संसदमा उठाउदा सत्तापक्ष र प्रतिपक्षको बार लगाएर सांसदहरु विभाजित भइ एकअर्कालाई औलो उठाउने भन्दा संसदका अरु केही भएको छैन । आज बाढीले विस्तापित भएकाहरुलाई राहतको कुरा खोइ ? पहिरोले घरवारविहिन भएकाहरुलाई सरकारले ओत दिएको खोई ? संघ र प्रदेश सरकारलाई सत्ता मिलाउनमै समय छैन स्थानीय सरकारसँग वजेट नै प्रयाप्त छैन । यस्तो अवस्थामा सरकारप्रति राजनैतिक दलप्रति जन भरोसा कसरी कायम रहन्छ ? यी र यस्ता प्रश्नहरुले गर्दा जनता राजनैतिक दलप्रति निरासा भएका छन । 

सुशासनका परिभाषा आ आफ्नै अनुकुल निमार्ण गर्न व्यस्त हुने दलका नेतृत्वकर्ता जनस्तरको पीडामा कहिलै घोत्लीने गरेनन । आफै सत्तामा गए सबै ठिक हुने आफै प्रधानमन्त्री बने सबै ठिक हुने सुशासन आउने देश र जनताको समृद्धि आइहाल्ने तर अरु सत्तामा गए देश बर्बाद हुने अरु प्रधानमन्त्री भए जनताले शुख नपाउने जस्ता मनोगत झुटगत भाष्य निर्माण गर्ने अभ्यासमा राजनीतिक दलका उच्च तहनै लागुन्जेल यो मुलुकमा समृद्धि आउने र जनताले शुख पाउने सपना कहिलै पूरा नहुने पक्का नै छ । सत्ता पक्षले प्रतिपक्षलाई दोष प्रतिपक्षले सत्ता पक्षलाई दोष एक अर्काको कटाक्ष गर्ने एकअर्कालाई निषेध गर्ने एक अर्कामाथी बैमनष्यता थोपर्ने अभ्यास भन्दा पछिल्लो राजनीतिक नेतृत्वको व्यवहारले प्रष्ट पारिसकेको छ । राजनीतिक नेतृत्व नसच्चिएसम्म सुखी नेपाली समृद्ध नेपाल नारामा मात्रै सिमित हुने पक्का छ ।