सन् १९४७ मा भारत विभाजनको समयमा आजको वंगलादेशलाई पूर्व पाकिस्तानको नामबाट पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो । पूर्व र पश्चिम पाकिस्तानको बीच लगभग १६०० किलोमिटर भौगोलिक दुरी रहेको थियो । पाकिस्तानको पूर्व र पश्चिम दुवै भागका जनताको धर्म एउटै इस्लाम थियो तर उनीहरु बीच जाति र भाषगत सम्बन्ध भने टाढा थियो । पाकिस्तानको तत्कालीन सरकारको भेदभावपूर्ण व्यवहार र अन्यायविरुद्ध सन् १९६९ मै विभाजनको तयार भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तान टुक्रयाउन अहं भूमिका खेलेकी थिइन् । उनले भारतीय बैदेशिक जासुसी संस्था ‘रअ’ लाई पाकिस्तान विभाजनका लागि निर्देशन दिइन् । ‘रअ’ का गुप्तचरहरु दुइवर्ष अघि देखि नै पूर्वी पाकिस्तानमा सक्रिय थिए । शेख मजुवर रहमानको नेतृत्वमा पूर्वी पाकिस्तानमा ३१ दिनसम्म स्वतन्त्रताका लागि भिषण आन्दोलन चलेको थियो । यही आन्दोलनको आलोकमा भारतीय सेनाहरु पूर्वी पाकिस्तान छिरे र पाकिस्तानी सेनालाई हायलकायल पारिदिए । अन्ततः पाकिस्तानी सेना भारतीय सेनासँग पराजित भए, आत्मसमर्पण गरे र स्वतन्त्र वंगलादेशको नयाँ चेहरा सन् १९७१ मा विश्व मानचित्रमा देखा प¥यो ।
इतिहास
आज भारतको अधिकाँश पूर्वी क्षेत्र कुनै बेला वंगलादेशको नामबाट जानिन्थ्यो । बौद्ध ग्रन्थहरु अनुसार यस क्षेत्रमा आधुनिक सभ्यताको शुरुवात ७०० इसा पूर्वमा प्रारम्भ भएको मानिन्छ । यहाँको प्रारम्भिक सभ्यतामा बौद्ध र हिन्दूधर्मको प्रभाव स्पष्ट देखिन्छ । उत्तरी बंगलादेशमा स्थापित भएको यस्ता हजारौ अवशेष अहिले पनि मौजुद छन् । जसलाई जनबोलीमा मठ वा मन्दिर भनिन्छ । बंगालको इस्लामीकरण मुगल सम्राज्यका व्यापारीहरुद्वारा १३ औं शाताब्दीमा शुरु भएको थियो । १६ औं शताब्दीसम्म बंगाल एसियाको प्रमुख व्यापारिक क्षेत्रको रुपमा उदाएको थियो । युरोपेली व्यापारीहरुको आगमन यस क्षेत्रमा १५ औं शताब्दीमा भयो । अन्ततःइस्ट इण्डिया कम्पनीद्वारा उनीहरुको प्रभाव बढाउन सुरु गरियो । सन् १७५७ मा भयो र बंगाल इस्ट इण्डिया कम्पनीको अधिनस्थ हुनुपुग्यो । व्यापारीक प्रयोजनका लागि आएका अंग्रेजहरुले विभिन्न स्वतन्त्र राज्यहरुलाई विशेषतः छल र षडयन्त्र अनि वल प्रयोगद्वारा आफ्ना कब्जामा लिएका थिए । स्मरण रहोस त्यसबेला भारत नामको कुनै देश अस्तित्वमा थिएन । सन् २३ जुन १७५७ मा पुर्सिदावादको दक्षिण नदिया ठाउँ गंगा नदीको किनारा ‘प्लासी’ नामक स्थानमा यो युद्ध भएको थियो ।
यस युद्धमा इस्ट इण्डिया कम्पनीको सेना र नवाव सिराजुदौलाका सेना बीच युद्ध भएको थियो । अंग्रेजका सेनापति रोवर्ट क्लाइल र सिराजदौला नवावका सेनापति थिए । अंग्रेज सेना ३०० थियो भने सिराजदौलाका सेना १८ हजार थिए । त्यसवेला व्रिटेन नेपोलियन बोनापार्ट विरुद्ध लडिरहेका कारण थप सेना पठाउन सकेको थिएन । क्लाइवले नवाव सेनामा जासुस लगाए र वंगाललाई गद्धारी गर्न खोज्नेको खोजी गरे । उनले थाहा पाए कि सेनापति मीरजाफर आफ्नो स्वार्थका लागि देश नै बेच्न तयार छ । मीरजाफरमा आफै बंगालको नवाव बन्ने भूत सवार भएको थियो । नवाव दौलाले अंग्रेजहरुलाई बंगालमा पसेर व्यापार गर्न नदिएका कारण यो युद्ध भएको थियो ।
अंग्रेज सेनापति क्लाइवले मीरजाफरलाई नवाव बनाइदिने पत्र पठाए । मीरजाफर, अमिचन्द, जगतसेठहरु अंग्रेजसँग मिले । मीरजाफरले बंगाल प्रति घात गरे र युद्धमा नवावको सेना अंग्रेजसँग नलडि अंग्रेज सेनालाई जिताईदिए । युद्धपछि जाफरलाई नै अंग्रेजले नवाव बनाइदिएको थियो । युद्धको अन्त्य हुनासाथ मीरजाफरको छोरा मीरनले नवावको हत्या समेत गरिदिए । सिराजुदौजा एक देशभक्त र जनप्रिय नवाव थिए । उनको पतनसँगै शक्तिशाली बंगाल अंग्रेजको नियन्त्रणमा गयो । त्यसवेलाको वंगाल आजको पश्चिम बंगाल, वंगलादेश, विहार, झारखण्ड, अहिलेका भारतका पूर्वोत्तर सात राज्यहरु असम, मणिपुर, नागाल्याण्ड, मेघालय, त्रिपुरा, अरुणाचल, उडीसा मिजोरम र म्यानमार (वर्मा) सम्म फैलिएको थियो । वंगाल कब्जामा लिएपछि नै अंग्रेजहरु आर्थिक रुपले समेत सम्पन्न भए । जसले उनीहरुको सैनिक शक्तिलाई बढायो । अन्य स्वतन्त्र राज्यहरु माथि उपनिवेश कायम गर्ने कामलाई अंग्रेजहरुले तीव्रता दिए । ५६५ वटा राज्यहरुलाई आफ्नो कब्जामा लिएर अंग्रेजहरुले इण्डिया नयाँ मुलुक निर्माण गरे । सन् १९४७ पछि त्यही अंग्रेजहरुले बनाइदिएको इण्डियालाई नेहरुले भारत नामाकरण गरेका हुन् । संयुक्त राष्ट्रसंघले समेत भारत देश चिन्दैन । डोमोनिकल रिपब्लिक इण्डिया भनेर चिन्छ ।
सन् १९४७, १४ अगष्टमा पाकिस्तान अस्तित्वमा आउँदा यसका प्रमुख दुइ भाग थिए । पूर्वी र पश्चिमी पाकिस्तान । पूर्वी पाकिस्तानमा देशका ५६ प्रतिशत जनसंख्याको बसोबास थियो । जो वंगाली भाषा बोल्थे । पश्चिम पाकिस्तानमा पंजावी सिन्धि, बलुची, पश्तो र अन्य भाषा बोल्नेहरु बस्थे । यसका साथै भारतबाट पलायन भएका मुसलमान पनि पश्चिम पाकिस्तानमा थिए । जो उर्दु भाषा बोल्थे । तर उर्दु बोल्नेहरु देशको कूल जनसंख्याको केवल तीन प्रतिशत मात्र थिए । वंगालादेशको इतिहास अध्यय गर्ने डच प्राध्यापक विलियम वान सिन्डलले आफ्नो पुस्तक ‘अ हिस्ट्री अफ बंगालदेश’ मा लेखेका छन् कि भारतबाट छुटेर सन् १९४७ मा पाकिस्तान आए लगत्तै त्यहाँ उत्तर भारतका व्यक्तिहरुको हैकम चल्न थाल्यो । उनका अनुसार वंगलादेशी मुसनमानहरु बहुसंख्यक भएका कारण आफुहरुको अहम् भूमिका हुने मान्यता राख्थे । तर उत्तर भारतका मुसलमान नेताहरुले देशको बाग्डोर आफ्नो हातमा लिए । उनीहरु आफुलाई दक्षिण एसियामा मुस्लिम आन्दोलनको मसिहा ठान्थे ।
पकिस्तानको सत्ता नियन्त्रणमा लिएका उत्तर भारतका मुसलमानहरु दुई समुहमा निर्भर थिए शरणार्थी र पंजावका मुसलमान । देशको हरेक राम्रा नराम्रा क्रियाकलापको लागि उनीहरु नै जिम्मेवार थिए । भारतबाट पलायन भएर पाकिस्तान गएकाहरु उर्दु बोल्थे । शरणार्थी भएर गएकाहरु अल्पसंख्यक भए पनि आफ्नो रीति रिवाज परम्पराले पाकिस्तानको स्थानीय संस्कृति माथि नियन्त्रण गर्न सफल रहे । त्यसपछि पंजावका मुसलमानले सेना, कृषि, भूमि र अन्य संस्थानमा कब्जा गर्न थाले र आफ्नो समुहलाई विस्तार गरेर बहुसंख्यक बनाए । शिन्डलका अनुसार पूर्वी पश्चिम र पाकिस्तानमा बंगाली भाषा बोलने कोही पनि थिएनन् । उनीहरु बंगाली माथि हिन्दूको प्रभाव भएको आरोप लगाउँथे ।
सन् १९४८ फेव्रुअरीमा एक वंगाली साँसदले उर्दुका साथै बंगाली भाषा पनि प्रयोग गर्नु पर्ने प्रस्ताव राखे । यसबारे तत्कालीन प्रधानमन्त्री लियाकत अली खानले भनेका थिए,– ‘पाकिस्तान देश यस उपमहाद्विपका करोडौं मुसलमानको मागका कारण बनेको हो र मुसलमानको भाषा उर्दु हो । यसकारण पाकिस्तानको साझा भाषा उर्दु मात्र हुनसक्छ ।’ त्यसको एक महिनापछि पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाले ढाका भ्रमणका क्रममा पनि पाकिस्तानको राजकीय भाषा उर्दु मात्र हुने बताए । उनले यसको विरुद्ध लाग्नेलाई, पाकिस्तानको ‘दुश्मन’ करार गरिदिए । दक्षिण एसियाको इतिहासका अर्का जानकार तथा लेखक नीलेस बोसले आफ्नो पुस्तक ‘रिकाष्टिङ द रिजन’ मा उल्लेख गरे अनुसार सन् १९४८ मा नै बंगाली बुद्धिजीवी मोहम्मद अलीले बंगाली भाषालाई आधिकारीक बनाउन अभियान र छलफल थालेका थिए । तर यसमा कुनै सुनवाई भएन । पृथकतावादी आन्दोलन माथि किताव लेख्ने लेखक प्राध्यापक एहसान वटले भनेका छन् – ‘विश्वका अधिकाँश देशमा राष्ट्रभाषा नहुँदा पाकिस्तानलाई राष्ट्र भाषाको किन जरुरत परेको थियो ? यो सोचनीय विषय थियो ।’
अध्येता अनम जकारिया वंगलादेश गठनमा भाषा आन्दोलनको प्रमुख भूमिका रहेको बताउँछन् । उनी भन्छन्,– ‘विषय यो मात्र होइन कि तपाई कसैको भाषालाई स्वीकार गरिरहनु भएको छैन । भाषालाई दवाउनुको अर्थ हुन्छ कि तपाई उनीहरुको संस्कृति दवाईरहनु भएको छ । पाकिस्तान देश गठन भए लगत्तै यही भएको हो । जब हामीले देख्यौ कि सन् १९५२ मा भाषालाई लिएर भएको आन्दोलनमा विद्यार्थीहरुको मुत्यु भएको थियो, जुन गम्भीर थियो ।
0 comment