दुई महिना लामो विद्यार्थी आन्दोलनले वंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना वाजेदलाई वेडिङ विस्तार बोकेर भारततिर भाग्न बाध्य बनायो । जनतन्त्रको आवरणमा डेढ दशकदेखि अविछिन्न रुपमा अधिनायकवादी शासन चलाउँदै आएकी हसिनाका लागि अहिले आफ्नै देश पराई घर भएको छ । सन् १९७१ मा विश्व मानचित्रमा उदाएको वंगलादेशमा तवाही मच्चिायो । सरकारी जागिरमा कायम आरक्षणको कतिपय अवस्थामा असन्तुष्टि जनाउँदै विद्यार्थीले सुरु गरेको आन्दोलन अन्ततः हसिनाप्रति असहमतहरुको साझा संघर्ष बन्यो । विद्यार्थी अन्दोलन भिल्को थियो । इन्धनका रुपमा निरंकुशताले सिर्जना गरेका असंन्तुष्टिका अनेकौ पत्र विद्यमान थियो ।

कुनै समय लोकतन्त्रकी सेनानी कहलिएकी लोकप्रिय नेतृले आफुलाई प्राप्त विश्वासलाई तानाशाहीमा रुपान्तरण गरेपछि शासकीय दुःखान्त बेहोर्नु पर्‍यो । अब उनको पुनरागमन बंगलादेशी राजनीतिमा असम्भव प्रायः बनेको छ । नियमित प्रक्रियाभित्र घटित हुँदासम्म राजनीतिमा कसैको उदय र अस्त अति सामान्य परिघट्ना हुन् । यदि यस्तो हुन्थ्यो भने हसिनाको चर्चा फुटनोट मै सिमित हुन्थ्यो । देशका बैधानिक अंगहरुको दुरुपयोग गरेर सत्ताको चेयरमा प्राण भर्न खोज्ने जुनसुकै निरंकुश शासक पनि जनताबाट लखेटिन्छन् । निरंकुशता सधैं टिक्दैन र त्यसको आयु आमो हुँदैन भन्ने कुरा विश्व राजनीतिक इतिहासले बताउदै आएको छ । 

जनतन्त्रका लािग उनले गरेको योगदानका कारण हसिनाको स्थान उच्च हुनु स्वभाविक थियो । त्यसमा पनि उनी बंगलादेशी स्वतन्त्रताका नायक शेख मुजिबुर रहमानकी छोरी थिइन् । यही कारण उनी सन् १९९६ मै प्रधानमन्त्री बन्न सफल भएकी थिइन् । उनको शासन कालमा बंगलादेशको आर्थिक सूचकमा सुधार देखिएको थियो । तर त्यसको प्रतिफल आम नागरिकसम्म पुगेको थियो वा सिमित बर्गसम्म मात्र भन्ने प्रश्न छँदैछ । विरासतको धाक र उपलब्धिको फेहरिस्त प्रस्तुत गरेर वर्तमानमा निरंकुशता लाद्न जनतन्त्रले कसैलाई पनि दिँदैन । सत्तामा बस्न जनताले आफ्नो मतद्वारा दिएको अनुमति कहिल्यै पन निःसर्त हुँदैन, ससर्त नै हुन्छ । शासकको हरेक निर्णयमा जनतन्त्रको परिक्षण हुन्छ । उसले गर्ने भाषण र निर्देशनमा जनतन्त्रको ढुकढुकी मापन हुन्छ । जनतन्त्रको पिठ्युँमा चढेर जनतन्त्रको हुर्मत लिने शासकको अन्त्य लज्जस्पद नै हुनेगर्छ । 

जनतन्त्रका केही सार्वभौम मान्यताहरु हुन्छन् । आवधिक निर्वाचन जनतन्त्रको एउटा सुन्दर पक्ष हो । तर आवधिक निर्वाचनलाई निरंकुश शासकले कसरी आफ्नो पक्षमा प्रयोग पर्छन् भन्ने उदाहरण हसिनाले प्रस्तुत गरेकी थिइन् । सन् २०२४ जनवरीको निर्वाचन अघि हसिनाले प्रमुख विपक्षीदल बंगलादेश नेशनलिष्ट पार्टी (वीएनपी) हजारौं कार्यकर्ता तथा आफ्ना विरोधी र आलोचकलाई पक्राउ गरेर जेलमा बन्दी बनाएकी थिइन् । चिर्वाचनलाई बहिस्कार गर्दै बीएनपीले मतदातालाई मतदानमा सहभागी नहुन अपिल समेत गरेको थियो । बीएनपीकी सर्वमान्य नेतृ एवं पूर्व प्रधानमन्त्री वेगम खालिदा जियालाई हसिना सरकारले बषौंदेखि नजरबन्दमा राखेको थियो । त्यस निर्वाचनमा ४०% प्रतिशत मतदान भएको बताइएको थियो । तर आलोचकहरुले त्यो झुट रहेको भन्दै आएका थिए । यस्तो प्राविधिक र विवादस्पद निर्वाचन मार्फत हसिना पाँचौ पटक सत्तामा पुगेकी थिइन् । तर उनलाई सात महिनामै  सडक आन्दोलनले आफ्नो मातृभूमि छोड्न बाध्य बनायो ।

हसिना १५ बर्षदेखि सत्तामा थिइन् । सन् २००८ डिसेम्बरमा सम्पन्न निर्वाचनबाट सन् २००९ जनवरीमा दोस्रो पटक प्रधानमन्त्री भएकी उनी यसबीच सम्पन्न निर्वाचन मार्फत लगातार तेस्रो, चौथो र पाँचौ कार्यकाल पनि प्रधानमन्त्री बनेकी थिइन् । बंगलादेशका राजनीतिक स्थिरता रहेको र हसिना एक राजनीतिक मोडल नै बनेजस्तो बाहिर देखिए पनि भित्र जनता हसिना निरंकुश राजले निस्सासिइरहेका थिए । त्यहाँ राजनीतिक स्थिरता हसिनाको थियो, विधिको थिएन । जनतन्त्रका विधिको स्थिरता पहिलो सर्त हुन्छ व्यक्तिको होइन । व्यक्तिको स्थिरताले निरंकुशता जन्माउँछ भन्ने प्रत्यक्ष उदाहरण हुन हसिना । समृद्धिका निम्ति राजनीतिक स्थिरता आवश्यक हुन्छ तर स्थिरता विधिसम्मत हुने गर्छ जनतन्त्रमा । विचारको स्वतन्त्रता र पहिचानका मुद्धाहरुले संगठित रुपमा स्थान र मान्यता नपाएको अवस्थामा समाजको चेतनाको स्तर कमजोर हुन्छ । अनि कसैका लागि लामो समय शासन गर्ने अधार बन्छ ।