रामशरण पाण्डे 

तत्कालिन गोर्खा राज्यको बि. सं. १७९९ चैत्र २५ गते पृथ्वीनारायण शाहको हातमा शासन पुग्यो । तब उनले सा-साना हिमाली राज्य एकीकरण गर्ने योजना बनाएर राज्य एकीकरणको सुरुवात गरे। पृथ्वीनारायण शाहलाई एकीकरणका बेला ठुलो-ठुलो समस्याहरु आइ लागे तर पनि उनिले हिम्मत हारेनन्। उनको शेष पछि उनको छोरा बुहारीले एकीकरण अभियानलाई निरन्तरता दिए। परिणाम १८०६ सम्म नेपालको सिमाना पूर्वमा टिस्टा पश्चिममा काँगडा पुर्‍याई त्यसताका हिमालयन राष्ट्र बिशाल नेपाल [ग्रेटर नेपाल] कहलाए। 

नेपाल बिशाल राष्ट्र बनेको तत्कालिन इन्डियाको ठुलो भूभागमा उपनिवेस शासन गरिरहेको इष्ट इन्डिया कम्पनि सरकारलाई चित्त बुझेको थिएन। अंग्रेजको छलका कारण रणजित सिंह र संसार चन्द एक ठाँउमा उभिन पुगे। सन् १८०९ मा नेपालले आफ्नो पश्चिम सिमा त्याग्दै सतलज फर्कन बाध्य भयो। पुरा बिश्व आफ्नो नियन्त्रणमा राख्न सफल अंग्रेजले सुन्दर हिमाली राज्य बिशाल र शक्तिशाली राज्य बनेको हेर्न सकेन। त्यसपछि सीमामा विभिन्न बहाना बनाएर निहुँ खोज्न थाल्यो। यहि क्रममा गोर्खा अन्तर्गतको बुटवल र शिवराज क्षेत्रमा अंग्रेजले धावा बोल्यो र नेपाली भूभागमाथि कब्जा गर्यो। उक्त भूभागलाई नेपाली फौजले आफ्नो नियन्त्रणमा लिने क्रममा कैयौं अंग्रेज फौजले ज्यान गुमाए। यसै बहानामा अंग्रेजले नेपाल बिरुद्ध युद्ध गर्ने निहुँ पायो र १ नोबेम्बर १८१४ देखि युद्ध घोषणा गर्दै भीषणयुद्ध सुरु गर्यो । 

युद्धकै क्रममा अंग्रेजले २ डिसेम्बर १८१५ मा शान्ति सन्धि गर्ने प्रस्ताव राख्दै अंग्रेज नियन्त्रित सुगौलीबाट सन्धिको प्रस्ताव गर्यो। प्रस्तावमा १५ दिनको समय सिमा पनि तोकिएको थियो । तर उक्त समयभित्र नेपालले सहि गरेन। केहि समय सम्म अंग्रेज नेपालको भाइ भारदारसम्म फुटाउन सफल भईसकेको थियो। नेपालले अंग्रेजसंग युद्ध गर्ने या सन्धि, निर्णय गर्नै सकेन। धेरै भाइ भारदारहरु युद्ध गर्नु पर्ने अडानमा रहे । विभिन्न विवाद हुँदै १५ दिनको म्याद सकियो। भारदारीबाट आफुले नहारेको भूभाग किन छाड्ने ? भन्ने प्रश्नसहित अंग्रेजलाई पत्र लेख्ने र पत्र तत्कालिन दरवारका विश्वास पात्रहरु गजराज मिश्र र चंद्रसेखर उपाध्यायलाई नेपालको पत्र सहित पठाउने निर्णय भयो। पत्र लिएर गजराज मिश्र र चन्द्र सेखर उपाध्याय सुगौली तर्फ गए। 

अंग्रेजले १५ दिने समय तोकेको भए पनि ९० दिनमा उनीहरु सुगौली पुगे र दरवारको पत्र पेश गरे। अंग्रेजले पत्र बुझे । पत्रमा नेपालले भूभाग नछाड्ने जिकिर थियो। त्यसपछि पत्र लिएर जाने गजराज मिश्र र चन्द्र सेखर उपाध्यायलाई नै आफ्नो बनाउने उदेश्य अनुरुप दुबैलाई आफुले तयार पारेको सन्धि पत्रमा सहि गर्न भने। उनीहरुले तुरुन्त अंग्रेजको प्रस्ताव मानेनन्। रात भरको ठुलो प्रयासमा दुवै जना सहि गर्न तयार भए। पहिले नेपालको भूभाग, पछि अंग्रेजले कब्जा गरेको भूभाग मोतिहारी चम्पारण र बेतीयामा गजराज मिश्र र चन्द्र सेखर उपाध्यायले ठुलो मौजा लिँदै ९१ औँ दिनमा सन् १८१६ मार्च ४ मा सहि गरि दिए। सन्धि पत्रमा हस्ताक्षर गरेपछि दुवै जना उतै बसे । नेपाल फर्केनन्। 

अंग्रेजले गजराज मिश्र र चन्द्र सेखर उपाध्याय नेपालको प्रतिनिधि आएको र उनीहरुले नै सहि गरेको र सुगौली सन्धि सम्पन्न भयो भनि हल्ला गरे । त्यसपछि नेपालको सिमाना मेची देखि पूर्वमा टिस्टासम्म र तराइको ठुलो भूभाग र पश्चिममा महाकालीपारि सतलजसम्मको भूभाग नेपालबाट अंग्रेजले जबरजस्ती हरण गर्यो। नेपाल तराइ बिहिन भयो। नेपालले यो धोखा भो भन्दै बिरोध जनायो। कथित सुगौली सन्धिको ९ महिना पछि ८ डिसेम्बर १८१६ मा अंग्रेजले नेपाल समक्ष अर्को सन्धि प्रस्ताव गर्यो। प्रस्तावित सन्धिलाई नेपालका राजाबाट ११ डिसेम्बर १८१६ मा हस्ताक्षर भयो। यो हस्ताक्षर संगै नेपालको राप्तिदेखी कोशी सम्मको भूभागमा अंग्रेजले आफ्नो दाबि छाड्यो। 

कथित सुगौली सन्धिको ४४ बर्षपछि १ नोभेम्बर १८६० मा जंग बहादुर राणासंग अर्को जबरजस्ती सन्धि गर्दै राप्तिदेखि महाकालीसम्मको तराइको भूभाग बाँके, बर्दिया, कैलाली र कंचनपुर तुरुन्त लागु हुने गरि फिर्ता गर्दै सन् १८१५ डिसेम्बर २ अघि नेपालकै रहेको अन्य भुमि पनि बिस्तारै फिर्ता गर्ने सहमतिमा बर्तमान नेपालको सिमा कायम भएको हो।

समय बित्दै गयो । जंग बहादुर पछिका नेपालका शासकहरुमा विवाद चर्कियो । उनीहरु भुमि खोज्नुभन्दा आफु कसरी सत्तामा रहने भन्नेमा नै समय व्यथित हुन् थाल्यो। तत्कालिन शासकहरुमा देशभक्तिको कमी कै कारण नेपालले पुरा नेपाल यानिकि बिशाल नेपाल [ग्रेटर नेपाल ] न मागी सानो नेपाल [स्मल नेपालमा] नै चित्त बुझाउने काम गरे। १८६० को सन्धि पछि नेपालको क्षेत्रफ़ल १,४७,१८१ बर्ग कि. मि. कायम भएको हो। इन्डिया स्वतन्त्र भएपछि आज सम्म विभिन्न ठाउँमा कतै इन्डियाद्वारा मिचियो त कतै हाम्रै नेतृत्वले आफ्नो स्वार्थका कारण इन्डियालाई दान दिए। यसरी नेपालको करिब १,०२३ बर्ग कि. मि. कमि हुन गयो । उक्त भुमि अहिले हामीसंग छैन। 

अब हाम्रो सामु नेपालको क्षेत्रफल कति हो ? पुरानो ३,६७५७५ बर्ग कि. मि. हो या कथित सुगौली सन्धिताकाको २,०४,९१७ हो अथवा सन् १८६० को सन्धि अनुसार १,४७,१८१ हो ? यकिन छैन। अब भूमिको क्षेत्रफ़ल खोजि गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर कतिपय स्थानमा इन्डियाद्वारा मिचिएको छ भने कतिपय स्थानमा नेतृत्वको स्वार्थका कारण राजीखुसी छाडिएको छ। यो सबै हिसाब गर्दा १,०२३ बर्ग कि. मि. हुन आउँछ। त्यसलाई घटाउने हो भने १,४६,१५८ बर्ग कि. मि मात्र हुन आउँछ। यस्तो अबस्थामा कसले खोजि गर्ने ? आम नेपाली जनताको त्यो स्तरको चेतना उठिसकेको छैन।

विभिन्न इतिहासकार भन्नेहरु आफुलाई फाइदा हुने गरि ब्याख्या गर्छन्। अहिले त नेपालमा नेपाली अनुहारको बिदेशी एजेन्टहरु धेरै छन् यिनीहरुकै सत्ता छ। महाकाली कर्णाली र एम सी सी को घटनाले त्यसै भन्छ। यस्तो अबस्थामा सिमानाको खोजि हुने कुरै भएन। जब नेपाली जनताको चेतना उठ्छ त्यस समय एजेन्टलाई खोजि खोजि खेद्न थाल्छन् । सत्तामा नेपाली जनताको प्रतिनिधित्व हुन्छ । नेपाली जनताहरुले नै सिमा र क्षेत्रफ़ल निर्धारण गर्दछन्। 

कामना गरौँ त्यो दिन छिट्टै आओस्।