लिला सिटौला, 

‘कि त जोत हलो कि त छोड थलो यदि होइन भने अब छैन भलो’ भन्दै जनताका घरदैलोमा क्रान्तिको स्वर घन्काउने भीमदत्त पन्तको जन्म वि.सं. १९८३ साल मंसिर १० गते साँझमा भएको थियो । भीमदत्त तारानाथ पन्तका एक्ला छोरा थिए । उनी बालखै हुँदा उनकी आमा सरस्वती देवीको देहान्त भयो । सौतेनी आमा तुलसीदेवीले नै भीमदत्तको आमाको भूमिका निर्वाह गरिन् । उमेर बढेसँगै भीमदत्त घर तथा समाजमा विभिन्न समस्यासँग जुझ्दै गए । 

गाउँका ठालु तथा सामन्तहरूले उनलाई दबाउने प्रयास गर्दै गए । तर सिंहको जस्तो स्वभाव भएका भीमदत्त जीवनको अन्तिम घडीसम्म पनि कसैसँग झुकेनन् । भारतको सिडाहीबाट शिक्षा प्राप्त गरेका उनी देश र समाजको भलाइका निम्ति लागिरहे । 

नेपाली जनतामाथि मडारिएको अन्यायको कालोबादल हटाउन उनले जीवनमा आन्दोलन गरिरहे । २००७ सालको जनआन्दोलनले १०४ वर्ष पुरानो निरंकुश राणा शासनको पतन भयो । तर समाजमा ठूला ठालुको हैकम र सामन्ती प्रथा यथावत नै रह्यो । समाजका ठालुहरूले गरिबलाई दिएको धान र तोरीको ब्याज लिने, त्यो पनि दोब्बर तेब्बर बनाई तमसुक लेख्ने चलन थियो । 

भीमदत्त आफैं पनि तमसुक काण्डका सिकार भए । उनलाई यस्तो सामाजिक कुप्रथा कत्ति मन परेन । उनी यस तमसुक प्रथा विरुद्ध उभिए । उनले विद्रोह गर्ने सोच बनाए । उनले गाउँभरि हल्ला फिँजाए — मैले अब सर्वप्रथम आफ्नै घरको तमसुक पोल्छु । त्यसपछि सबैका घरको तमसुक पोल्छु । नभन्दै एकदिन आफ्नै करेसाबारीमा गाउँलेहरू जम्मा गरी आफ्नै घरभित्र रहेको बाकसबाट तमसुकका पोकाहरू निकाल्दै जलाइदिए । उनले आफ्नै तमसुक जलाएको खबर गाउँमा फैलियो । सँगसँगै उनले हरेक घरमा खोजतलास गर्दैछन् र जसको घरमा तमसुक देख्यो उसलाई सजाय गर्दैछन् भन्ने हल्ला पनि फैलियो । हल्लाकै भरमा कतिपय ठूला सामन्तहरूले जाली तमसुक आफैं च्यात्दै जलाउँदै गरे । 

यसरी जाली तमसुक लेख्नु हुँदैन भन्ने सन्देशका कारण जनता भीमदत्तका पक्षमा हुँदै गए । सामन्त शोषणका विरुद्ध भीमदत्तको यो महान अभियान थियो । त्यसबेला किसानहरूलाई निकै दुःख थियो । किसानका दुःख पीडा कसैले सुन्दैनथ्यो । मोहीले जग्गाधनी (तल्सिङ) लाई अनेक कर तिर्नुपथ्र्यो । ओलको प्रथा पनि तिनैमध्येको एक थियो । ओलको नतिरे मोहीले कमाइरहेको खेत पाखो जग्गा जमिन सबै खोसिन्थ्यो । त्यही डरले पनि समाजमा ओलको प्रथाकै रुपमा कायम थियो । 

भीमदत्तलाई यो सबै कुरा थाहा थियो । उनले आफ्ना बुबालाई करका रुपमा अब कहिल्यै ओलको नल्याउनु भनेर मनाए । यसबाट उनका भाइबन्धु निकै रिसाए । सामन्ती समाजले त्यतिखेर नबुझे पनि भीमदत्तले देश, समाजमा र किसानका निम्ति यो निकै राम्रो काम गरेका थिए ओलको बन्द आन्दोलन । भीमदत्त नारी जागरणका अगुवा थिए । जबसम्म नारीहरू जागरुक हुँदैनन्, त्यसबेलासम्म समाजमा पछौटेपन रहिरहन्छ भन्नेमा उनी सचेत थिए । 

त्यसैले उनले आफू डडेल्धुरामा गभर्नर भएपछि नारी जागरण अभियान शूरु गरे । जनजाति र केही देउकी भनिने महिलाहरूलाई उनले एकत्रित गरी लेखपढ गराउन थाले । ती महिलाहरूलाई आफ्नै संरक्षणमा राखेर बन्दुक तथा अन्य हतियार चलाउन पनि सिकाउन थाले । उनी भन्ने गर्थे— नारी पनि पुरुषसरह जुनसुकै काम गर्न सक्छन् उनीहरूलाई संरक्षण र निर्देशनको आवश्यकता चाहिँ पर्छ । अहिले नारी आन्दोलन जुन उचाइमा पुगेको छ त्यसमा भीमदत्तले सुरुआती चरणमा गरेको पहललाई बिर्सन हुँदैन । उनी आफ्नो भाषण तथा प्रवचनका क्रममा नारी है नर की खान’ भन्ने गर्थे । यो उनको नारीप्रतिको सम्मान थियो । 

भीमदत्तले महिला जागरण अभियानको पहिलो उठान गरेका थिए । जुन समाजमा शिक्षाको अभाव रहन्छ, त्यो समाज सधैं अन्धकारमा रुमलिइरहेको हुन्छ । समाज र राष्ट्रलाई प्रगतिको पथमा अगाडि बढाउने हो भने हरेक मानिस शिक्षित हुनुपर्छ भन्ने बोध भीमदत्तलाई थियो । हुन पनि शिक्षाबिना कुनै पनि देश विकासमा अघि बढ्न सकेको इतिहास छैन । भीमदत्तले डडेल्धुराका अनेक ठाउँ र बैतडी तल्लो स्वराङ क्षेत्रमा आफैंले विद्यालयहरू खोल्ने काम गरे । उनी आफैंले स्थानीय युवायुवतीलाई शिक्षकको रुपमा पढाउने तथा क्रान्तिका गीतहरू गाउन सिकाउने पनि गर्न थाले । यसबाट समाजमा शिक्षाको प्रचारप्रसार हुन थाल्यो । स्थानीय बासिन्दा जागरुक हुन थाले । युवापुस्ता उनीप्रति आकर्षित हुन थाल्यो । 

भीमदत्त शैक्षिक आन्दोलनका अग्रज व्यक्तित्व थिए । भीमदत्तको उदयताका समाजमा समाजमा अनेक प्रकारका छुवाछूतको जगजगी थियो । तल्लो जात भनिने मानिसको भातभान्सा तथा चियापानी माथिल्लो जात भनिने मानिसले खान बर्जित थियो । समाजमा विद्यमान छुवाछूतको प्रथाले समाजलाई प्रगतिको मार्गमा अघि बढ्न अवरोध पु¥याएको थियो । तल्लो जातका भनिने ठूलाठालूलाई भने यस्तो छोइछिटोले कुनै असर गरेको थिएन । छोइछिटो गरिबहरूका लागि मात्र थियो । 

भीमदत्तलाई यो कुरा मन परेको थिएन । त्यसैले उनी छोइछिटो र जातिपातिविरुद्ध पनि मुखर हुन थाले । उनी दलित भनिने कामी, दमाई, सार्की साथीहरूका घरघर गई उनीहरूसँगै बसेर दालभात खान थाले, चियापानी पिउन थाले । पानी नचल्ने भनिने जातजातिका आफ्ना साथीहरूलाई आफ्नो घरमा बोलाएर आफूसँगै खानपिन गराउन थाले । उनको यस्तो कार्य समाज सुधारका लागि प्रेरणादायी थियो । तर समाजका उपल्लो जातका ठालुहरू भीमदत्तप्रति क्रोधित हुन थाले र उनको विरोध गर्न थाले । छुवाछूत विरोधी आन्दोलन नेपालमा उठान गर्ने भीमदत्त पहिलो क्रान्तिकारी चेत भएका व्यक्ति थिए । 

पश्चिम महाकाली किनार ब्रह्मदेवमा नेपालको बजार तथा भन्सार अड्डा थियो । महाकालीपारि टनकपुरमा भारतको बजार थियो । जहाँबाट नेपालले पाउने कोटाको नुन, गुँड तथा लत्ताकपडा आउँथ्यो । बैतडी, डडेल्धुरा, अछाम, बझाङ र डोटीका अधिकांश बासिन्दा जुन गुँड (सक्खर) तथा लत्ताकपडा किन्न ब्रह्मदेव बजारमा ओइरिन्थे । ग्राहकहरू यसरी ओइरो लागेका बेला ब्रह्मदेवका व्यापारीहरूले नुनको कृत्रिम अभाव सिर्जना गर्थे । बजारमा नुन अभाव देखाएर दोब्बर तेब्बर मूल्यमा व्यापारीहरूले बेच्थे । यो कुरा थाहा पाएपछि भीमदत्तले विरोध स्वरुप ब्रह्मदेव बजारमा हटारुहरूको जुलुस निकाले । रोजी रोटी कपडा दे, नत्र गद्दी छोडिदे भन्ने नारा लगाउँदै त्यो जुलुस ब्रह्मदेवबाट टनकपुर पुग्यो । व्यापारीहरू डराए । चल्तीको मोलमा नुन बेच्न थाले । 

भीमदत्तले नुन लुकाउने व्यापारीहरूको गोदाम नै फोडी नुन बाँडिदिए । यो नुन आन्दोलन देश र जनताका हितमा थियो । यो आन्दोलनले अन्यायको विरुद्धमा जनतालाई जुट्न सिकाएको थियो । कालाबजारी विरुद्धको यो आन्दोलन सर्वसाधारण जनताका पक्षमा थियो । नुन आन्दोलनले उनको लोकप्रियताको दायरा अझ फराकिलो हुन थाल्यो । नुन आन्दोलनपछि किसान राज जिन्दावादको नारा लगाउँदै जनतालाई संगठित गर्न थाले । उनले समाजमा भएका कुरीतिलाई हटाउँदै जय जनताको अभिवादनसहित, किसानहरूका घरघर पुग्न थाले । 

किसान मुक्ति आन्दोलनले व्यापकता पाउँदै गयो । उनीहरूले डडेलधुरादेखि जोगबुडा हुँदै ब्रह्मदेव र ब्रह्मदेवबाट कञ्चनपुर हुँदै बेलरी कब्जा गरे। राज्य डरायो । सरकारले भारतीय सेना भित्र्याएर आन्दोलन दबाउन थाल्यो । किसान राजको परिकल्पना गरेका भीमदत्तलाई नेपालका सैनिकहरूले पक्रन सकेनन् । यही कारण भारतीय सेना ल्याइएको थियो । भारतीय सेनाले २७० भन्दा बढी भीमदत्त समर्थकहरूलाई पक्रेर सरकारलाई बुझायो र थुनामा राख्यो । 

भीमदत्तको भने सुइँको समेत पाउन सकेनन् । तर भीमदत्त आफ्नै साथीहरूको धोकामा परे । बुडरको गल्लेक भन्ने ठाउँमा आफ्नै मीत लालबहादुर थापा र भस्वा दियालले उनको हत्या गरे । उनको टाउको काटेर डडेलधुरा लगियो र त्यहाँ तीन दिनसम्म बाँसको लिंगोमा टाउको झुन्ड्याएर प्रदर्शनमा राखियो । भीमदत्तले २००७ सालमा दिल्लीमा भएको राणा, कांग्रेस, राजा र नेहरूबीचको दिल्ली सम्झौताको विरोध गरेका थिए र किसान आन्दोलन उठाएका थिए । दिल्ली सम्झौता धोका हो, आन्दोलन रोकिनु हुन्न भन्ने उनी देशभक्त किसान नेता थिए । २७ वर्षसम्म बाँचेका भीमदत्त इतिहासमा अमर रहिरहनेछन् । निर्देशक तथा निर्माता नवल खड्काले भीमदत्त नामक चलचित्र बनाएर भीमदत्तको जुझारु क्रान्तिकारी जीवनको जानकारी जनतासमक्ष ल्याएका छन् ।