युनाङका सम्राट सेल्युकसले भारत माथी आक्रमण गरे त्यसबेला मगध राज्य शक्तिशाली राज्यको रुपमा रहेको थियो । अहिलेको पटना तिनताका पाटली पुत्रमाथी पनि मगध कै आधिपत्य थियो । मगधका सम्राट थिए बिरचन्द्र गुप्त मौर्य । र प्रधानमन्त्री थिए चाणक्य । चाणक्यको बुद्ध नीतिका अघि सम्रात सेलुकस प्राजित भए, उनलाई बन्दी बनाईयो । सम्राट सेलुकलससँगै उनकी छोरी राजकुमारी हेलेन पनि बन्दी बनाईन । दुबैलाई पाटली पुत्रमा कैद गरियो । 

केहि दिन पछि नै मगध नरेश चन्द्रगुप्त र प्रधानमन्त्री चाणक्य पटना भ्रमणमा आए । त्यहाँ युद्धमा पराजित युनानी सम्राट सेल्युकस र राजकुमारी हेलेनलाई बन्दीका रुपमा राखिएको थियो । नरेश चन्द्रगुप्त केहि अघि पटना पुगे । उनको भब्य स्वागत गरियो । केही पछि प्रधानमन्त्री चाणक्य पनि त्यहाँ पुगे सबै मानिसहरु चाणक्य आएकोमा बेहद खुसी भए । उनको स्वागतमा जनताले कुनै कसर बाँकी राखेनन् ।
चाणक्य भने राजाचन्द्र गुप्त राज भएको ठाउँतिर गएनन् । उनी त बन्दी युनानी सम्राट सेल्युकसलाई भेट्न पो बन्दी गृहतिर लागे । चाणक्यले झुकेर सेल्युकसलाई अभिवादन गरे र सोधे माहाराज सन्चै हुनुहुन्छ ? सेल्युकसले भने मलाई किन गिज्याउनु हुन्छ, तपाई ? म बन्दी छु भनेर तपाईलाई थाहै छ फेरी सन्च विसन्चो के सोध्नु हुन्छ ?

चाणक्यले भने माहाराज मैले अनादर गर्न खोजेको होइन । युनान र भारत बीचको सम्बन्ध सधै राम्रो होस् भन्ने मेरो चाहना छ । तपाईलाई विसन्चो भयो भने मैले सोचेको कुरा अलि ढिलो हुन्छ । मित्रताका लागि तपाईले केही काम गर्नु पर्ने छ । चाणक्यको कुरा सुनेर राजा सेल्युकस छक्क परे र उनले चाणक्यसँग सोधे, कस्तो मित्रताको लागी मैले काम गर्नु पर्‍यो ? म बन्दी छु, मैले के नै गर्न सक्छु र ? चाणक्यले सहजताका साथ प्रस्ताव राखे, महाराज राजकुमारी हेलेनको विवाह हाम्रा राजा चन्द्रगुप्तसँग गराई पाउँ । राजा सेल्युकसले आफुलाई बन्दी बनाएर आफ्नी छोरी अपहरण गर्न लागेको आरोप चाणक्यमाथी लगाउन पछी परेनन् । फेरी पनि चाणक्यले हार खाएनन् । उनको युनान र भारतबीचको मित्रताका लागि यो विवाह सेतु बन्ने बताए, सेल्युकसलाई । अनी उनले अर्को पनि रहस्य खोलीदिए, राजकुमारी हेलेन पनि राजा चन्द्र गुप्तलाई भित्रभित्रै मन पराउँछिन भन्ने । 

राजा सेल्युकसले राजकुमारीलाई बोलाउन लगाए र चाणक्यले भनेको कुरा पनि सत्य हो भनेर सोधे । राजकुमारीले पनि राजाचन्द्र गुप्तले आफुलाई मन पराएको र आफुले पनि उनलाई एक असल राजाको रुपमा लिएको बताइन् । छोरीको इच्छा अनुसार आफु विवाहका लागि राजी भएको सेल्युकसले चाणक्यलाई सुनाए । यो खुसीको खबर लिए  पछि मात्र चाणक्य राजा चन्द्र गुप्त बिराजमान भएको ठाउँमा गए । उनले चन्द्र गुप्तको मनशाय बुझी सकेका थिए र पनि चन्द्र गुप्तलाई भने राजन अब राजकुमारी हेलेनलाई हाम्री रानी बनाउनु पर्छ । राजा चन्द्र गुप्त फिस्स हाँसे । यो खबर अन्यलाई पनि सुनाए चाणक्यले । तर भोली पल्ट बाह्मणहरुको एउटा हुल नै चाणक्य विरुद्ध उत्रियो । उनीहरु यो विवाहको विरोधमा थिए । चाणक्य सामु आएका बाह्मणहरुले चाणक्यलाई भन्न थाले, गुरु यो विवाह हुन सक्दैन । यो विजातीय विवाह हुन्छ । सन्तानहरु बर्णशंकर पैदा हुनेछन् । हाम्रो जातीय पहिचान नै मेटिने छ । भाषा मिल्दैन, संस्कार मिल्दैन, धर्म मिल्दैन ।

चाणक्यले बाह्मण तर्फ फर्केर भने मैले तपाईहरु सबैको जन्म कुण्डली जानेको छु । को कति पानीमा हुनुहुन्छ, म सभामा पोल खोलिदिन्छु । तपाईहरु कतिको धर्मको पक्षमा हुनुहुन्छ, प्रजाले थाहा पाउने छन् । आचार्य चाणक्यको चेतावनीले बाह्मणहरु चुपचाप भए । चाणक्य ज्योतिष बिधाका पनि ज्ञाता थिए । उनले बाह्मणलाई सम्झाए हाम्रो सबैभन्दा ठूलो धर्म हो, मातृभूमिको रक्षा गर्नु । देशको पहिचान नै सबै जनताको पहिचान हो । देश नै नरहे, हाम्रो जातीय पहिचान कसरी रहन्छ ? सधै युनानसँग दुश्मनी मोलेर भारतको रक्षा हुन सक्दैन । देशको हितका निम्ति यो विवाहले सन्धिको काम गर्ने छ । यूनान आक्रमणको खतराबाट भारत सधैलाई मुक्त हुने छ । मातृभूमि भन्दा धर्म, संस्कृति र जातजाति कहिल्यै ठूलो हुन सक्दैन । 

ग्रेटर नेपाल “राष्ट्रिय मासिक”