काठमाडौंं - १९७५ अप्रिल ६ को बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरूको आवाज सुने । उनी दौडिएर झ्यालको छेउमा गए । उनको दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरूले घेरा हालिसकेका थिए । चारैतिर मेसिनगन चलेको आवाज सुनियो र दरबारको गेटमा खटिएका वसन्तकुमार क्षेत्री गोली लागेर ढले ।
सिक्किम कब्जा गर्न खटाइएका पाँच हजार भारतीय फौजलाई सिक्किमको राजदबारमा खटिएका २ सय ४३ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन आधा घण्टा पनि लागेन । त्यो दिन १२ बजेर ४५ मिनेट जाँदा सिक्किमको स्वतन्त्र देशको हैसियत समाप्त भइसकेको थियो । राजा चोग्यालले ह्याम रेडियोमार्फत त्यसको सूचना पूरै विश्वलाई दिएका थिए । उक्त आपतकालीन सन्देश ब्रिटेनको एउटा गाउँमा बस्ने अवकाशप्राप्त चिकित्सक, जापान र स्विडेनमा बस्ने अन्य दुई जनाले सुनेका थिए । त्यसपछि चोग्याललाई भारतीय सेनाद्वारा उनकै घरमा नजरबन्दमा राखियो । दिल्ली नगरका आयुक्त बिएस दास त्यसको भोलिपल्ट दिउँसोको खाना खाइरहेका थिए । यत्तिकैमा उनलाई विदेश सचिव केवल सिंहको फोन आयो र उनी तुरुन्तै उनलाई भेट्न हिँडे ।
विदेश मन्त्रालयमा पुग्ने बित्तिकै केवल सिंहले उनलाई न्यानो स्वागत गर्दै भने, तपाईंलाई सिक्किम सरकारको जिम्मेवारी सम्हाल्न तुरुन्तै गान्टोक पठाइँदै छ, तपाईंसँग तयारीका लागि मात्रै २४ घण्टा छ’, उनले आदेश दिँदै भने । भोलिपल्ट सिलीगुडीबाट दास हेलिकोप्टर चढेर गान्टोक पुगे । उनको स्वागतका लागि चोग्यालका विरोधी काजी लेन्डुप दोर्जी, सिकिम्मका मुख्यसचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि बसिरहेका थिए । दासलाई ¥यालीसहित पैदल हिँडाएर उनको निवासमा पुर्याइयो । त्यसको एक दिनअघि उनले चोग्यालसँग भेट्ने समय मागेका थिए । तर, उनलाई राजाले आफूले ज्योतिषीलाई सल्लाह गरेर मात्रै समय दिनसक्ने जवाफ दिएका थिए ।
दास भन्छन्, ‘त्यो त एउटा बहाना मात्रै थियो खासमा उनी, म र मेरो ओहदालाई मान्यता नदिएको देखाउन चाहान्थे ।’ भोलिपल्ट चोग्यालले दासलाई बोलाए तर त्यहाँको माहोल एकदमै कटूतापूर्ण थियो । चोग्यालको पहिलो वाक्य थियो, ‘मिस्टर दास, सिक्किम तपाईंहरूले कब्जा गर्नुभएको गोवा जस्तै हो भन्ने भ्रममा नरहनुहोला ।’ उनले भुटानजस्तै दर्जा सिक्किमलाई दिलाउन निकै प्रयास गरेका थिए । ‘हामी एक स्वतन्त्र सम्प्रभुसत्ता सम्पन्न देश हौं, तपाईंले हाम्रो संविधानअनुसार काम गर्नुपर्छ, भारतले तपाईंको सेवा हाम्रो सरकारलाई दिएको छ, यो विषयमा कुनै भ्रम हुनुहुँदैन र हामीलाई दबाउने प्रयास कहिल्यै नगर्नुहोला ।’ सिक्किमलाई भारतको कब्जामा लिनका लागि दासले महत्वपूर्ण भूमिका खेलेका थिए ।
एक दिनअघि बिएस दास त्यहाँ खटिएका आफ्ना साथी शंकर वाजपेयीलाई भेट्न जब इन्डिया हाउस पुगे तब उनलाई वाजपेयीले केबल सिंहबाट के निर्देशन लिएर आएका छौं भनेर सोधिएको थियो । दास सम्झन्छन्, ‘मलाई सिक्किमका जनताका आकांक्षा पूरा गर्न मद्दत गर्नु भन्नेबाहेक कुनै पनि स्पष्ट निर्देशन थिएन, अरू वेलाजस्तै इन्दिरा गान्धीले कुनै औपचारिक राजनीतिक किसिमको वाचा गरेकी थिइनन् । अनि कब्जा भन्ने शब्दको त उच्चारणसमेत गरिएको थिएन ।’ उनले थपे, ‘यहाँसम्म कि हामीलाई काम लगाइरहेका केबल सिंहले निजी कुराकानीमा समेत यो शब्द कहिल्यै प्रयोग गरेका थिएनन्, तर, सिधै नभनिए पनि मलाई र शंकर वाजपेयी दुवैलाई अब हामीले के गर्नुपर्छ भन्ने थाहा भइसकेको थियो ।’ दिवंगत वरिष्ठ राजनीतिक विश्लेषक इन्दर मल्होत्राका अनुसार सन् १९६२ मा भारत र चीनबीच युद्ध भएपछि सिक्किमलाई भारतमा गाभ्ने सोच भारतीय शासकले योजना बनाइसकेका थिए ।
स्मारिक विज्ञहरूले महसुस गरे कि भुटान, सिक्किम र चीनको त्रिदेशीय सीमाक्षेत्र नजिकै पर्ने चीनतर्फको चुम्बी उपत्यकाबाट सिलिगुडीतर्फको ‘चिकेन्स नेक’ भनिने साँघुरो मार्ग हुँदै भारतको दुरी जम्मा २१ माइल मात्रै छ । चीनले आफूले चाहँदा एकै पटकमा उक्त क्षेत्र हुँदै उत्तरी भारतमा प्रवेश गर्न सक्ने डर भारतलाई थियो । चुम्बी उपत्यका छेउमा पर्छ ।
सिक्किमका राजा चोग्यालले अमेरिकी महिला होप कुकसँग विवाह गरेका थिए । उनलाई कुकले उक्साउन थालेकी थिइन् । उनी राजा चोग्याललाई सिक्किमलाई पूरै स्वतन्त्र बनाउन उनले माग राखे भने अमेरिकाले साथ दिन्छ भन्ने लागेको थियो । तर, त्यस्तो कदम भारतलाई स्वीकार्य हुने थिएन । उनले विद्यालयहरूको पाठ्यक्रममा फेरबदल गरिदिएकी थिइन् र युवा अधिकारीहरूलाई बोलाएर उनी हप्तैपिच्छे बैठकहरू गर्ने गर्थिन् । जब रानीको भूमिका निर्वाह गर्थिन् उनी सिक्किमका कपडा लगाएर एकदमै विनम्रता साथ प्रस्तुत हुने गर्थिन् र मसिनो स्वरमा कुराकानी गर्थिन् । तर, जब उनी असन्तुष्ट हुन्थिन् उनी एकदमै रिसाउने गर्थिन । धेरै रक्सी पिउने चोग्यालको बानीले उनी दुःखी थिइन् र त्यही विषयलाई लिएर दुईबीच झगडा भइरहन्थ्यो । सानासाना कुरामा उनीहरूका बीचमा विवाद हुने गर्दथ्यो । एकचोटी रिसाएर चोग्यालले रानीको ’रेकर्ड प्लेयर’ राजदरबारको झ्यालबाट बाहिर फ्यालिदिएको बताइन्छ ।
कुकले अमेरिका फिर्ता जाने निर्णय लिइन् । चोग्यालले अन्ततः होप कुकलाई सिक्किम छाडेर नजान र उनलाई मुस्किलको त्यो वेलामा साथ दिन निकै अनुरोध गरेका थिए । तर, उनले मानिनन् र अमेरिका गइन् । उनलाई बिदा गर्न दास गएका थिए । उनले जाने वेलामा भनेको कुरा सम्झिँदै दास भन्छन, ‘मिस्टर दास, मेरो पतिको ख्याल राख्नुहोला, अब यहाँ मेरो कुनै भूमिका छैन ।’ दासले राजदरबारका कैयौँ बहुमूल्य कलाकृति र चित्र लुकाएर होपले अमेरिका पु¥याएको र आफुलाई दुःख लागेको बताएका छन् ।
दास भन्छन, ‘८ मेमा भएको सम्झौतामा हस्ताक्षर गरेर पनि चोग्यालले कहिल्यै मनभित्रैबाट त्यसलाई स्वीकार गरेनन् । सिक्किम बचाउनका लागि उनले देश बाहिरका कैयौँ मानिसहरूबाट मद्दत मागेका थिए । उनले एक जना महिला वकिललाई यो सम्झौता गलत हो भनेर वकालत गर्ने जिम्मेवारी नै दिएका थिए ।’ तर, उनको प्रयास सफाल भएन । निर्वाचनको घोषण भएपछि चोग्यालले दक्षिण सिक्किमको यात्रा गर्ने इच्छा जाहेर गरे ।
चोग्यालसँग विदेशसचिव केवल सिंह र भारतले सिक्किम कब्जा गरेपछि काजी लेण्डुप दोर्जे दासले उनलाई त्यसो नगर्न सुझाव दिएका थिए । पहिला जब उनी ती क्षेत्रहरूमा जाने गर्दथे त्यहाँ उनको स्वागतका लागि सडकमा लामबद्ध भएर धेरै मानिसहरू बस्ने गर्दथे । तर, त्यो भ्रमणमा उनलाई पहिलोको जस्तो सम्मान गरेनन् । निर्वाचनमा चोग्यालले समर्थन गरेको नेस्नलिस्ट पार्टीले ३२ वटामध्ये एउटा मात्रै सिट जित्यो । जति पनि नयाँ सदस्यहरूले चुनाव जिते उनीहरूले चोग्यालको नाममा शपथ नलिने र उनी संसदमा आए संसदको कारबाहीमा भाग नलिने चेतावनी दिए । उनी भन्छन्, ’त्यसपछि चोग्यालले आफ्नो विरोध लेखेर पठाउने र मैले त्यो सबैको अगाडि पढेर सुनाइदिने अनि सिक्किमको नाममा शपथ लिने कुरा तय भयो ।’ यसैबीचमा नेपालमा राजाको राज्याभिषेकमा राजकीय अतिथिका रूपमा चोग्याल काठमाडौं आए । उनले पाकिस्तानी राजदूत र चीनका उपप्रधानमन्त्री चिन सी लिउसँग भेटवार्ता गरे र आफ्ना अप्ठेराहरू फुकाउन मद्दत मागे । बिएस दासले उनलाई एउटा लिखित दस्तावेज दिएका थिए जसमा बाहिरी समर्थन जुटाउन नलाग्न भनिएको थियो । तपाईंको राजवंशले निरन्तरता पाउनेछ, तपाईंका छोरा उत्तराधिकारी बन्नेछन् । तर, त्यसका लागि तपाईंले आफू संरक्षित रहेको स्वीकार गर्नुपर्नेछ र ८ मेमा भएको सम्झौता मान्नुपर्नेछ ।’
उनले पदका लागि अडान छाडेनन् । चोग्यालको जवाफ थियो, ’मेरो देश स्वतन्त्र देश हो र यसलाई म छाड्दिनँ ।’ सन् १९७४ को जुन ३० मा चोग्यालले इन्दिरा गान्धीलाई आफ्नो पक्षमा उभ्याउने प्रयास गरेका थिए । त्यसवेला इन्दिरा गान्धीका सचिव रहेका पिएन धरले आफ्नो पुस्तक ‘इन्दिरा गान्धी द एमरजेन्सी एन्ड इन्डियन डेमोक्रेसी’ मा उक्त भेटवार्ताको प्रसँग समेटेका छन् । उनले लेखेका छन, ‘जसरी चोग्यालले आफ्नो मुद्दा इन्दिरा गान्धीसमक्ष राखे त्यसबाट म एकदमै प्रभावित भएँ, उनले भनेका थिए भारतले सिक्किममा जो नेताहरूलाई लिएर दाउ लगाइरहेको छ उनीहरू विश्वासगर्न योग्य छैनन् ।’ इन्दिराले जवाफमा उनले कुरा गरिरहेका राजनीतिज्ञहरू जनताले चुनेका प्रतिनिधि हुन् भनिन् । चोग्याल अरू केही कुरा गर्न खोज्दै थिए, इन्दिरा चुप लागिन् ।
इन्दिराले मौनतालाई नकारात्मक प्रतिक्रियाका रूपमा प्रयोग गर्न खप्पिस थिइन् । उनी जुरुक्क उठिन् र आफ्ना दुई हात जोडेर रहस्यपूर्ण ढंगले मुस्कुराइन् । चोग्याल बिदा हुन सक्छन् भन्ने इशारा थियो त्यो । रोचक त यो थियो, यी तिनै चोग्याल थिए जो सन् १९५८ मा जवाहरलाल नेहरूका अतिथि बनेर दिल्ली आएका थिए र उनकै निवासस्थान तीनमूर्ति भवनमा बसेका थिए । राजा चोग्याल अनौठो र इमानदार व्यक्तित्वका धनी थिए उनले कहिले पनि सिक्किमको पृथक पहिचानसँग सम्झौता गरेनन् । दास भन्छन, उनले एकपटक मात्रै चोग्याललाई हार स्वीकार गरेको देखे । उनका छोरा तथा उत्तराधिकारीको दुर्घटनामा निधन भएपछि उनले आत्महत्याको प्रयास गरेका थिए । यसैबीच उनकी पत्नी होप कुक पनि आफ्ना दुई बच्चालाई लिएर चोग्याललाई छाडेर गइन् । उनलाई यो सबै झेल्न निकै मुस्किल भयो । सन् १९८२ मा क्यान्सरबाट कुकले ज्यान गुमाइन् । जब सिक्किमलाई भारतमा विलय गराउने प्रक्रिया सुरु भयो । चीनले त्यसको तुलना सन् १९६८ मा रुसले चेकोस्लोभाकियामाथि गरेको आक्रमणसँग गर्यो । त्यसवेला इन्दिरा गान्धीले चीनले तिब्बतमाथि गरेको आक्रमणको सम्झना गराइन् ।
भुटान भने खुसी भयो किनभने उसलाई लाग्यो अब सिक्किमसँग जोडेर आफूलाई हेरिँदैन । तर, सबभन्दा बढी विरोध नेपालमा भयो । सिक्किममा सबैभन्दा बढी ७५ प्रतिशत जनसंख्या नेपाली मूलका व्यक्तिहरूको थियो । भारतभित्र धेरै स्थानमा त्यसको विरोध भयो । जर्ज वर्गिजले हिन्दुस्तान टाइम्समा ‘अ मर्जर इज अरेन्ज्ड’ भन्ने शीर्षक दिएर सम्पादकीय लेखे । जनमत संग्रह यति हतारमा गराइयो कि यो पूरा प्रक्रिया सन्देहको घेरामा प¥यो । जनमत संग्रहमा यस्तो प्रश्न सोधियो, ‘तपाईं चोग्यालको पद समाप्त गरिँदै छ र सिक्किम भारतको हिस्सा बन्दै छ भन्नेमा सहमत हुनुहुन्छ ? यी दुवै अलग–अलग मुद्दा थिए जसको आपसमा कुनै सम्बन्ध थिएन । आश्चर्य यो गान्धी तथा नेहरूको देशबाट भइरहेको छ ।’
सिक्किमलाई भारतले कब्जा गर्दा राजनेताका साथमा भारतको गुप्तचर एजेन्सी ‘रअ’ ले पनि महत्वपूर्ण भूमिमा खेलेको थियो । दास त्यसवेला विभिन्न भोजहरूमा ‘रअ’का अधिकारीसँग भेट भएको बताउँछन् । उनी भन्छन्, ‘म उनीहरूसँग सोध्थेँ मलाई बताउनुस् न के भइरहेको छ । तर, उनीहरू मलाई केही बताउँदैन थिए । एकदिन उनीहरू मेरो घर आए र भने माफ गर्नुहोला हामी तपाईंसँग कुनै कुरा गर्न सक्दैनौं । हामीसँग निर्देशन छ कि मुख्य कार्यकारी अधिकारीलाई सिक्किममा भइरहेको कुनै घटनाको बारेमा नबताइयोस् किनभने उसले आफूसँग भएको जानकारी चोग्याललाई बताउन सक्छ । म तपाईंलाई इमान्दारीका साथ भन्छु अन्तिम दिनसम्म सिक्किममा के भइरहेको छ भन्ने मलाई भारतको गुप्तचर एजेन्सीबाट कहिल्यै जानकारी दिइएन ।
इन्दर मल्होत्रा ठान्छन् ‘रअ’को सिक्किम कब्जामा निर्णायक भूमिका अवश्य थियो तर त्यसबारे राजनीतिक नेतृत्वले दिशानिर्देश गरेका थिए । इन्दिरा गान्धीले ‘रअ’का प्रमुख रामनाथ काओ, पिएन हक्सर र पिएन धर सम्मिलित बैठक बोलाएकी थिइन् । काओसँग सल्लाह माग्दा उनको जवाफ थियो, ‘मेरो काम सरकारको निर्णय कार्यान्वयनमा ल्याउने हो सल्लाह दिने होइन ।’
दास भन्छन, ‘यो पूरा प्रकरणमा इन्दिरा गान्धीलाई सबै जानकारी दिइएको थियो भन्ने हामीलाई विश्वास छ । मैले इन्दिरा गान्धीसँग ११ वर्ष काम गरेको छु । कसैले उनीसँग निहुँ खोजेको छ भने उनी त्यसलाई माफ गर्दिन थिइन् । राजा चोग्याललाई कहिल्यै पनि बदल्न सकिन्न भन्ने उनलाई लागेको थियो । सम्पूर्ण सिक्किम प्रकरणमा उनी प्रमुख नायिका थिइन् हामी त उनका सहयोगी मात्र ।’
सिक्किमलाई भारतको २२ औँ राज्य बनाउन संविधान संशोधन विधेयक २३ अप्रिल १९७५ मा लोकसभामा पेस गरिएको थियो । सोही दिन २९९–११ मतले उक्त विधेयक पारित गरिएको थियो । राज्यसभाबाट उक्त विधेयक २६ अप्रिलमा पारित भयो र १५ मे, १९७५ मा जब राष्ट्रपति फखरुद्दिन अली अहमदले यो विधेयकमा हस्ताक्षर गरे र नामग्याल राजवंशको शासन समाप्त भयो ।
(बिबिसीको सहयोगमा)
0 comment