सिन्धुली: झापाबाट काठमाडौंतर्फ छुटेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
लागुऔषध ओसारपसारमा तस्करहरूले नयाँ–नयाँ तरिका अपनाइरहेका बेला यसपटक काँक्रोलाई नै तस्करीको माध्यम बनाइएको खुलेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरीक्षक राजु केसी खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका–९ भिमानस्थित बीपी राजमार्गमा चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५५०० नम्बरको यात्रुवाहक माइक्रो बस (हायस) मा सवार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ लाई नियन्त्रणमा लिइएको छ।
उनले बोकेको रातो झोलाभित्र रहेको काँक्रोमा प्वाल बनाई भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरेर दुईवटा पोका लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो। जाँचका क्रममा उक्त पोका भित्र रहेको पदार्थ प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
दैनिक उपभोग्य वस्तुहरूलाई समेत लागुऔषध तस्करीको माध्यम बनाउने यस्तो नयाँ प्रवृत्तिले सुरक्षा निकायलाई थप चुनौती थपेको प्रहरीको भनाइ छ।


0 comment