काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षका ४० भन्दा बढी नेता सहभागी भएका छन्। १५औँ महाधिवेशन नजिकिँदै गर्दा बिहीबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवा पक्षका नेताहरू उल्लेख्य संख्यामा सहभागी भएका हुन्।
बैठकमा महालक्ष्मी उपाध्याय ‘डिना’, इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल र किरण यादवलगायत नेता सहभागी थिए।
४० जनाभन्दा बढी नेता बैठकमा सहभागी भएको नेता मीनबहादुर विश्वकर्माले बताए। पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवादलाई लिएर फरक समूहमा देखिँदै आएका नेताहरू एकै ठाउँमा सहभागी भएपछि बैठकमा केही रमाइलो वातावरणसमेत देखिएको थियो।
बैठकमा सहभागी देउवा पक्षका नेताहरूले भने पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले आफूहरू देउवाको साथ छाडेको नभई पार्टीभित्र सबैलाई समेट्ने प्रयासमा रहेको बताएका छन्।
बैठकमा सभापति गगनकुमार थापाले पनि पार्टीभित्रको पुरानो विवादलाई लिएर अब एकअर्कामाथि टिप्पणी नगर्न नेताहरूलाई आग्रह गरेका थिए। उनले पार्टी एकता कायम राख्न आफूले महाधिवेशन उद्घाटनको दिनसम्मै देउवालाई सहभागी गराउने प्रयास जारी राख्ने बताएका थिए।
थापाले पूर्वसभापति देउवालाई १५औँ महाधिवेशनमा सहभागी हुन र उद्घाटन गर्नसमेत आग्रह गरेका छन्।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र विभिन्न समूहमा विभाजित नेताहरूको सहभागिता र एकताका विषयमा केन्द्रीय समिति बैठकमा छलफल भएको हो।


0 comment