काठमाडौं - आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। विभागले भदौमा दुई जनालाई १०/१० लाख रुपैयाँका दरले बम्पर उपहार र ३१ जनालाई जनही १ लाख रुपैयाँका दरले नगद उपहार प्रदान गर्ने भएको हो।
विभागले सामान्य अवस्थामा हरेक १५/१५ दिनमा करदाता प्रोत्साहन उपहार घोषणा गर्दै आएको थियो। तर भदौमा आएको बाढीका कारण यसपटक मासिक रूपमा उपहार घोषणा गरिएको विभागले जनाएको छ।
विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। त्यस्तै, सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई पनि १० लाख रुपैयाँको बम्पर उपहार परेको छ।
त्यसैगरी, अन्य ३१ जना ग्राहकले दैनिक १ लाख रुपैयाँका दरले वितरण हुने नगद उपहार प्राप्त गर्ने विभागले जनाएको छ।विभागले कर प्रणालीमा सहभागिता बढाउने र ग्राहकलाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।


0 comment