काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको जनाएको छ । आइतबार टीयु क्रिकेट मैदानमा पत्रकार सम्मेलन गर्दै क्यानले सोमबारदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जनाएको हो । एनपीएलको‌ तेस्रो संस्करणको बिजेताले रु १ करोड ५० लाख र उपविजेताले ८० लाख तथा तेश्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । 

एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमति अनुसार तेस्रो संस्करणको पुरस्कार राशी भारी वृद्धि गरिएको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए । यस संस्करणमा मुख्य प्रायोजकबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त भएको खड्काले बताए । त्यस्तै स्पोन्सरशिप, टिकटिङ तथा टिकेट पार्टनरहरूसहित कुल ७० देखि ७५ करोड रुपैयाँ बराबरको कारोबार हुने उनले बताए । उनले टिम ओनरहरूले गर्ने खर्चसमेत जोड्दा एक महिनाको अवधिमा एनपीएलको कुल कारोबार १५० करोड रुपैयाँ पुग्ने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले विदेशी खेलाडीहरूलाई आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने कानुनी प्रावधान रहेकाले क्यानले सम्बन्धित बोर्डहरूसँग लगातार समन्वय गरिरहेको बताए । उनले आगामी नोभेम्बर १५ मा एनपीएलको लिग चरणका खेलहरू सकिने उल्लेख गर्दै दोस्रो चरणमा छनोट नहुने ४ वटा टोलीका खेलाडीहरूलाई समेटेर ’राइजिङ स्टार्स’ को टोली बनाई ओडिआई अभ्यास र खेलहरूमा सहभागी गराइने जानकारी दिए ।

एनपीएलको तेस्रो संस्करणमा आठ टिमको सहभागिता रहनेछ । यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ । त्यस्तै प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिने क्यानले जनाएको छ ।