पहिलोचोटी नेपालले पाकिस्तानबाट मगाएका हतियारहरुलाई क्याराकोरमको बाटो हुँदै नेपालमा ल्याउनका लागी चीनले पारवहन मार्ग प्रदान गरेको थियो । सो अवस्थामा भारतसँग नेपालको सम्बन्ध निकै चिसिएकोले सैनिक सामाग्रीको आपूर्ति पाकिस्तान र अन्यत्रबाट गरेका सामाग्रीलाई कराँची मार्ग भई नेपाल ल्याउनका लागी यो मार्ग प्रयोग गर्न दिएको थियो । त्यसपछि सन् १९७० को दशकमा नेपाल र चीनको जनमुक्ति सेनाको बीचमा नेपालका सीमाक्षेत्रमा शसस्त्ररुपमा शिविर खडा गरी बसेका तिब्बती विद्रोही खम्पा सेनालाई नियन्त्रण गर्नका लागी उनिहरुलाई निशस्त्रीकरण गर्न र दवाउनका लागी सूचानाको आदानप्रदानको आवश्यक सहयोग भएको थियो । यसको लागी भएको औपचारिक सम्झौता के कस्तो थियो भन्ने कुरा अझै गोप्य रहेको छ । तर सन् १९९९ मा चिनियाका जनमुक्तिसेनाको सहयोगबाट गे वाङ्दीको डफालाई दमन गर्ने कार्यमा सहयोग गरेपछि खम्पा समस्या समाधान भएको थियो ।
नेपालको राजा वीरेन्द्रको सन् १९८७ मा चीन भ्रमणको समयमा चीन र नेपालले सैनिक सामाग्री आपूर्ति सम्बन्धी सम्झौता गरेका थिए । यो सम्झौतामा चीनले साढे चार अरब रुपैयाँ बराबरको हतियार नेपाललाई उपलब्ध गराएको थियो । यसमा ३ सय वटा पोर्टएबल मिसायल केही बख्तरबन्द गाडी सेनाका लागी आवश्यक हातहतियार बन्दोबस्तीका सामानहरु नेपालमा तिब्बतको बाटो हुदै आपूर्ति गरिएको थियो । सन् १९८८ को जुलाई महिनामा आपूर्ति गरिएको यो हतियार १६ वटा आकाश भेदी क्षेप्यास्त्रसहित ६५ ट्रक सैनिक सामाग्री आपूर्ति गरिएको भन्ने चिनियाँ पक्षको प्रष्टीकरण गरिएको छ ।
लगभग ३ सय ट्रकमा आएको यो सामाग्रीको कारणले भारतले आपत्ती जनाएको हुदाँ नेपाल भारत सम्बन्ध नै खल्बलिन पुगेको थियो । भारतले यसलाई १९६५ को भारतसँगको पत्राचारमार्फत् गरिएको हतियार आपूर्तिसम्बन्धी सम्झौताको उल्लंघन भएको र भारतको सुरक्षामा खतरा भएको भनी मई २६, १९८९ मा औपचारिक विरोध समेत जनाएको थियो । त्यसपछि भने चीनले नेपाललाई गैरहतियार सैनिक सामाग्री मात्र आपूर्ति गरेको देखिन्छ । २००५ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा माओवादी विद्रोहीहरुसँग लड्नका लागी २ वटा सैनिक जहाज किन्ने सम्झौता भएको थियो । सम्झौतामा करिब १ अर्ब ३० करोड रुपैयाँ (१ करोड ६९ लाख १३ हजार ६ सय अमेरिकी डलर) मा गरिएको थियो ।
शुरुमा २० प्रतिशत बुझाएपछि वार्षिक १६ प्रतिशतका दरले पाँच वर्षमा सबै रकम भुक्तानी गरिसक्ने सम्झौता थियो । दुईवटा जहाज किनेमा एउटा जहाज सित्तैमा दिने भनी नेपालले ४० करोड रुपैयाँ पेश्कीसमेत दिएको थियो । शाही शासन अन्त भएकाले यी जहाजहरु आउन सकेनन् । तर नेपाल सरकारले शाहीकालमा सेनाका लागी बैना गरिएका दुई चिनियाँ एमए— ६० जहाजको सट्टा दुई हेलिकप्टर ल्याउने प्रस्ताब मन्त्रिपरिषद्ले डिसेम्बर ३१, २००८ मा पारित गरेको छ । चिनियाँ कम्पनीले हेलिकप्टर दिन नमाने जहाजै किन्ने निर्णय पनि गरेको छ । २००५ मा नै चीनका विदेशमन्त्री नेपाल आएपछि चीनले गैरघातक सैनिक सामाग्रीहरुको एक सय बीस ट्रक नेपालसँग भएको सैनिक सम्झौताअनुसार नेपाल अएको थियो ।
त्यसबेला यसको विरोध हुदा चीनले गैरघातक सैनिक सामाग्री मात्र नेपाललाई उपलब्ध गराएको भनी स्पष्ट गरेको थियो । २००८ को डिसेम्बर ५ मा नेपाल आएको चिनियाँ जनमुक्ति सेनाको उपप्रमुख लेफ्निनेन्ट जनरल रथी मा जियासियानको नेतृत्वमा आएको सैनिक प्रतिनिधिमण्डल र नेपालको रक्षा मन्त्रालयका सचिव वामनप्रसाद न्यौपानेबीच २० करोड रुपैयाँ लगभगका सैनिक सामाग्री आपूर्ति गर्न सैनिक सम्झौता भएको छ । चीनले नेपालमा पाँचखालस्थित शान्ति सेनालाई प्रशिक्षण दिने काम पनि गरेको छ ।
नेपाल भारत र चीन सन्धि बाट
0 comment