काठमाडौंदेखि बेसीसहर हुँदै धारापानी, मनाङसम्मको चार पाँग्रे गाडी यात्रा । भोलिपल्ट धारापानीदेखि शुरु हुन्छ एघार नम्बरे गाडीको हिँड यात्रा । धारापानीदेखि हिँडेका क्रमशः मनाङ जिल्लाको मुल मुकाम चामे भएर पिसाङ, मनाङ, खाङसार, श्रीखर्क गाउँ गयौँ । त्यहाँबाट तिलिचो आधारशिविर छिचोलेर तिलिचो ताल पुग्यौँ हामी । हामी भन्नाले स्पेनबाट हनिमुन मनाउन आएका एक नव जोडी र नेपाल हाइप्वाइन्ट ट्रेकिङ एण्ड एक्सपिडिसनबाट पथप्रदर्शक सहयात्रीको रुपमा म ।
अन्नपूर्ण परिक्रमाको गतिलो गन्तव्य तिलिचो ताल मनाङमा नै पर्छ । प्रकृति प्रदत्त अति सुन्दर गहनारुपी यो ताल संसारको सबैभन्दा अग्लो उचाइ (४,९१९ मिटर) मा अवस्थित छ । जुन आन्तरिक र बाह्य पर्यटकको लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । दिनानुदिनको बढ्दो उपस्थिति यसैको बलियो प्रमाण हो ।
अंगालोमा कसिन आतुर जस्तो तिलिचो चुली चाँदी भएर चम्किरहेको छ । सबैभन्दा नजिक र ठूलो आकारमा । तालको सिरानमा सबैभन्दा सेतो हिम चुचुरो उभिएको छ । हामीलाई नै पर्खिबसेझैँ गरि । पहिलोपटक देखा परेको यो चुली धम्पुस हो । मुस्कुराइरहेका मुक्तिनाथ चुली, खाङ्सार हिमाल, निलागिरी हिमालले समेत वातावरण सरस र उजिल्याउन सहयोग गरेको छ ।
उत्तर र दक्षिण दिशा ४.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ तिलिचो ताल । यसको औसत लम्बाइ ४ किलोमिटर र चौडाइ १.२ किलोमिटर छ भने गहिराई ८५ मिटर छ । तर यतिबेला सेताम्य हिउँले भरिएको ताल हलचल नगरि लमतन्न परेरे सुतेको छ । हिउँको विराट ढिक्काको रुपमा विचारशून्य बनेर । वरिपरि सेता हिमशृङ्खला र अग्ला पहाडसमेतको सौन्दर्यपानले भावशून्य भएका छन् पर्यटक । प्रकृति जस्तै शान्त बनेर गहिरो विश्रान्ति लिएको छ समयले । मानौँ तिलिचो जस्तो अद्वितीय ताल पाउँदा प्रफुल्लतामा रोकिएको हो ।
आँखा आनन्दको अनुपम भावले चम्किरहेका छन् । गर्मीको थर्मोमिटरमा जस्तै मुहारमा खुसीको पारो ह्वात्तै बढेको छ । हृदयका नूतन लयहरूसित लहसिन पाउँदा सारा संसार बिर्सिएका छन् । तिलिचोलाई पृष्ठभूमिमा राख्दै, तिलिचोलाई नै चढाइएको पन्चरंगी ध्वजासँगै तस्वीर खिच्नेहरूको लाइन लागेको छ, जीवनभरका लागि सुखद स्मृतिका रुपमा नासो बनाएर राखिराख्न ।
२०८१ बैशाख १४ गते तदनुसार अप्रिल २६, २०२४ को दिन हो यो । गर्मी बढ्दै गएपछि पग्लन थाल्छ हिउँ । बैशाखको अन्तिम हप्ताबाट मङ्सिर दोस्रो हप्ता अर्थात् मे दोस्रो हप्ताबाट नोभेम्बर अन्तिम हप्तासम्म जमेको हिउँ पग्लेर निलो तालमा रुपान्तरित हुन्छ । झण्डै ८५ मिटर गहिराइमा स्वच्छ र सफा पानी भरिन्छ । त्यतिबेला ताल गाढा निलो रंगमा सजिन्छ । आश्चर्यको कुरा के छ भने न त तालको मुहान श्रोत देखिन्छ । न त देखिन्छ यसको पानी निकास भएको नै ।
यातायात सुबिधाले गर्दा तिलिचो ताल पुग्न सहज भएको छ अहिले । हिड्न नसक्ने र समयाभाव भएकाहरू मनाङ गाउँ (३,५४० मिटर) भन्दा माथि खाङ्सार (३,७४५ मिटर) भन्ने गाउँसम्म सवारी साधनबाट पुग्न सक्छन् । तर एकैचोटि यो उचाइसम्म आउँदा लेक लाग्ने प्रवल सम्भावना हुन्छ ।
प्रायः दिनमा ५ सय मिटरभन्दा बढी उचाइमा उक्लदा स्थानीय तापक्रम सहन सक्दैन शरीरले । वातानुकुलित भएन भने बिना बलको शरीर भैदिन्छ । सानोतिनो शारीरिक परिश्रमले पनि स्वासप्रस्वास बड्ने, गल्ने गर्छ । टाउको दुख्ने, नाथ्री फुट्ने, वाकवाकी र रिंगटा लाग्नेजस्ता अनेक शारीरिक समस्या आइलाग्न सक्छन् । यस्तो उचाइमा धूम्रपान/मध्यपान नछाड्नेहरूले थप समस्या झेल्नुपर्छ । हतारिएर आएकाहरूमा धेरैजसो नेपाली भेटिए । तिनीहरूमध्य कतिपय गन्तव्यको तिलिचो तालसम्म नपुग्दै बीचबाटोबाट फर्कन बाध्य भए । केही पुगेकाहरू पनि बिरामी जस्तो नाजुक हालतमा फर्किए ।
खाङ्सारबाट श्रीखर्क गाउँ (३,९०० मिटर) पुग्न डेढ÷दुई घण्टाको पैदल दूरी पार गर्नुपर्छ । अधिकांश बाटो उकालो, थोरै मात्र तेर्सो छ । यहाँ १ रात नबिताएर तिलिचो आधारशिविर (४,१५० मिटर)सम्म पुग्न पनि सकिन्छ, साढे दुई÷तीन घण्टामा । तर जोखिमपूर्ण पहिरो पार गर्नुपर्ने यो बाटो मध्याह्नपछि नहिड्नु बुद्धिमानी हुन्छ । किनभने दिन घर्केपछि बेगले चल्न थाल्छ बतास । झर्नै लागेको अवस्थामा रहेका ढुङ्गा खसाल्न भूमिका खेल्छ यस्तो बतासले । जसबाट संभवतः पदयात्री बढी खतरा मोल्नुपर्ने हुन्छ । सानो ढुङ्गा नै किन नहोस् ! १२÷१५ सय मिटर माथिबाट बत्तिएर खस्दा गोलीझैँ प्रबल र भयानक बन्छ ।
तिलिचो आधारशिविरबाट बिहान ४ः३० बजे उकालो उक्लिदै छौ हामी । यति सखारै भए पनि मनमा भिन्दै स्फूर्ति भरिएको छ सबैको । कारण तिलिचो नियाल्ने सपना निकट समय मै पूरा हुँदै थियो । उचाइ नाप्दा बायाँतिर झन्झन् खुल्दै जाने तिलिचो चुलीले मन चिरिरहेको छ । जसको सौन्दर्यमा जो कोहीलाई रोमान्चित मात्र भएको छैनन्, भएका छन् आल्हादित पनि । थकान र उदासीनता मेटाएको छ तर एक घण्टाको उकालो काट्नासाथ भेटिएको छ खतरापूर्ण पहिरोको बाटो । जसको सामना गर्दैछौ, ज्यान अत्यन्त जोखिमको दाउमा राखेर । खस्दै गरेको ढुङ्गा हेर्दै छिचोल्नु पर्छ यो पहिरोको बाटो ।
यहीँ ठाउँमा हामीसगै तिलिचो उक्लदैका १८ जना चिनियाँ समुहकी एक महिलाको थोरै असाबधानीको कारण दुर्घटनामा परिन् । भयो के भने, पहिरोबाट ढुङ्गा झर्दै थियो, उनीले यसको चालै पाइनन् । सहायक पथप्रदर्शकले सतर्कताको लागि दिएको आवाजले समेत जोगाउन सकेन । कि त सुनिनन् कि सतर्कताको शब्द नै बुझिनन् । हेर्दाहेर्दै बेगले झरेको नौ÷दश केजीको ढुङ्गा देब्रे खुट्टामा बजारियो । क्षणभरमा धुलौटे मैलो बाटो मानव रगतले पखालियो । वातावरण कारुणिक र कहालीलाग्दो बन्यो । नलीहड्डीलाई दुई ठाउँमा भाँचेछ निर्दयी ढुङ्गाले । प्रकृतिको यो रौद्रलीलालाई चुपचाप हेरिरहे धेरै बेर । त्यस्तो दर्दनाक अवस्था देखेर जतिसुकै मन अमिलिए पनि मुटु जतिसुकै कोक्याए पनि बसिरहने हामीसँग समय थिएन । त्यहाँबाट उकालो बाटो लाग्यौँ । उद्दारको लागि बोलाइएको हेलिकप्टर कतिबेला पो आउने होला भन्ने सुर्ताले गाजिरह्यो पछिसम्म ।
कठैबरी ! लाखौ सम्पत्ति खर्चेर तिलिचोसंग साटिन नपाउदै गम्भीर दुर्घटनामा परिन् । आनन्द र खुसीको पलबाट बन्चित मात्र भइनन्, उल्टै आपतकालीन अवस्थामा फर्किन बाध्य भइन् । यही ठाउँमा लकडाउन अगाडि यसरी नै अकस्मात झरेको ढुंगो टाउकोमा बजारिएर एक इजरायली पर्यटक ठहरै भएका थिए ।
मनमा हुटहुटी बोकेर ताल हेर्न जाने जोकसैले खुब होसियारीपूर्वक पैदल यात्रा गर्नुपर्छ, पहिरो भरिको बाटो । कुन बेला कत्रो ढुङ्गा कति माथिबाट बिपत्ति बोकेर खस्ने हो, थाहै हुँदैन ।
साढे ३ घण्टाको उकालोपछि तिलिचो पुगियो । बेसक्याम्प झर्दा १०ः३० बजेको हुदो हो । दिउँसोको खाना खाएर निस्कदा मध्याह्न भैसकेको थियो । त्यसपछिको यात्रा श्रीखर्कसम्मको थियो । यहाँबाट दिनको पदयात्राले थोराङ ला पास गराउँछ । पास गरेपछि मुक्तिनाथ हुँदै पोखरा पुगिन्छ ।
हिमालपारिको जिल्ला भनेर प्रसिद्धि कमाए छ मनाङले । चाँदीजस्ता चमचम चम्किरहने हिम शृङ्खला त पहिलो पहिचान हो यो जिल्लाको । मनाङ त मर्स्याङ्दी नदीले बनाएको मनोमोहक ल्यान्डस्केपहरूको भूमि पनि रहेछ । कहिले बायाँ त कहिले दायाँ भएर उधो बग्ने मस्र्याङ्दी नदीले जमिनमा बनाएको बिछट्टै सुन्दर कलाकारिता नजिकबाट नियाल्न सकिन्छ ।
सहरको कोलाहल, सीमित आकाश र प्रदूषणबाट अत्यासपूर्ण बनेको हुन्छ मन । शहरिया जीवनले बिर्सेका आत्मारन्जन दिने चिजबिज देख्न र भोग्न पाइन्छ मनाङका गाउँबस्तीहरूमा । जसले फेरि वर्षौं वर्ष अगाडि गाउँले जीवनका सुखद झझल्कोहरूलाई ब्युँताएर मन द्रवित बनाउँछ ।
अनेक आयामबाट सुसज्जित मनाङ सुन्दर छ । पत्रपत्र परेका पहाड नाघ्दै पर्वतको घाचसम्म पुर्याउने फराकिलो भूखण्डमा गरिने मनाङको पदयात्रा जति सहासिक र रोमाञ्चक छ । उत्तिकै सुखदायी, प्रसन्नदायक र रमणिक हुन्छ । यात्रा बिर्सन नसक्ने बन्छ ।
हिमालपारिको जिल्ला मनाङको तिलिचो तालमा पुगेर अवस्मरणीय अनुभूति सँगाल्नको निम्ति निम्नलिखित नवौं दिने भ्रमण योजना ९क्ष्तष्लभचबचथ० उपयोगी हुनसक्छ ः
पहिलो दिन ः गाडीमा काठमाडौंदेखि बेसीसहरसम्म ६ घण्टा । जीपमा बेसीसहरदेखि धारापानीसम्म २.५ घण्टा
दोस्रो दिन ः पदयात्रा धारापानीदेखि चामेसम्म ६ घण्टा
तेस्रो दिन ः पदयात्रा चामेदेखि अप्पर पिसाङसम्म ६ घण्टा
चौथो दिन ः पदयात्रा अप्पर पिसाङदेखि मनाङसम्म ६ घण्टा
पा“चौ दिन ः पदयात्रा मनाङदेखि तिलिचो आधरशिबिरसम्म ६ घण्टा
छैठौं दिन ः पदयात्रा तिलिचो आधारशिविरदेखि तिलिचो ताल हुँदै श्रीखर्कसम्म ६.५ घण्टा
सातौं दिन ः पदयात्रा श्रीखर्कदेखि लोवर पिसाङसम्म ६ घण्टा
आठौं दिन ः पदयात्रा लोवर पिसाङ्गदेखि चामेसम्म ६ घण्टा
नवौं दिन ः जीपमा चामेदेखि बेसी सहरसम्म ३.५ घण्टा । गाडीमा बेसीसहरदेखि काठमाडौंसम्म ६ घण्टा
नोट ः मनाङ/खाङसारदेखि सिधै बेसीसहरसम्म जीपमा ६.५ घण्टामा फर्कन पनि सकिन्छ ।
0 comment