काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन्। 

मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सातवटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो। मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत मेलाको तथ्यांक सार्वजनिक गरेको हो। 

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक गरे। रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको छ। मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए। 

मेला विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला सञ्चालन गरिएको थियो। संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरुसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताए। उनका अनुसार मेलामा ९३ लाख ६ हजार ९६३ रुपैयाँ बजेट राखिएकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिवद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए। 

मेलामा सीप विकास कार्यशालाहरु, नेटवर्किङ सत्रहरु, स्टलहरु र रोजगारीका अवसरहरुका प्यानल छलफलहरु सञ्चालन गरिएको थियो। जसमा १७६ भन्दा बढी विज्ञहरुले वक्ताको रुपमा सहभागिता जनाएका थिए। रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यावसायिक सीप विकास, उद्यमशीलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो। 

मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका आठ उत्कृष्ट उद्यमीलाई पुरुस्कृत गरेको छ। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उत्कृष्ट उद्यमीलाई मन्त्रालय नगद सहित सम्मान गरेको हो। 

झापाका चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। उनले पुरस्कार वापत एक लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। पुरस्कार वापत ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ।

राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीलाई सार्वजनिक रुपमा नै आवेदनको माग गरिएको थियो। इमेल मार्फत ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए।