काठमाडौं - वीरगन्जस्थित सिद्धार्थ बैंकमा सोमबार भएको भीषण आगलागीबाट दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ।

वीरगन्जको आदर्शनगर आदर्शनगरस्थित होटल सुरजसंगै टाँसिएको पाँच तल्ले भवनमा रहेको बैंकको शाखा कार्यालयमा सोमबार अपरान्ह ३ बजेदेखि लागेको आगो राति १० बजेतिर मात्रै नियन्त्रणमा आएको थियो ।

आगो निभाउन पर्सा, बारा र भारत रक्सौलका गरी १० वटा वारुण यन्त्र र नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका थिए।

बैंकको स्टोर रुमबाट विद्युत सर्ट भएर सल्किएको आगो भुंई तल्लाबाहेक चार वटै तल्लामा फैलिएको थियो । आगलागीबाट करिब दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए। उनले भने,'बैंक सञ्चालन रहेका चार वटै तल्लामा आगो सल्किएको थियो । फर्निचर,कागजपत्र, कम्प्युटर लगायतका उपकरण  सबै जलेर नष्ट भएका छन् । नगद रकम र चेकहरु भने सुरक्षित निकालियो ।'

आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको र अहिलेसम्म दुई करोडभन्दा बढी क्षति भएको अनुमान गरिएको उनले बताए ।