काठमाडौं - नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं तराई मधेस द्रुतमार्गको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ। राष्ट्रिय गौरवको यो आयोजनाअन्तर्गतको लेनडाँडा सुरुङमार्ग १ हजार ६ सय १२ मिटर लामो रहेको छ। उक्त सुरुङमार्ग बिहीबार छिचोलिएको छ। 

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार लेनडाँडा सुरुङ प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन छ। लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६ सय १२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग बिहीबार ‘ब्रेक थ्रु’ गरिएको हो। यसको जोडी सुरुङ मार्गका रूपमा रहेका काठमाडौंबाट निजगढ जाने सुरुङमार्ग गत जेठ ४ गते नै ‘ब्रेक थु्र’ गरिएको थियो। जसको लम्बाइ १ हजार ६ सय ३३ मिट लामो रहेको छ। प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग छिचोल्ने कार्यक्रमको अवलोकन गरेका थिए। भर्चुअल कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले सुरुङ मार्गहरू तोकिएको समयमा नै ब्रेक थु्र गर्न सकेकोमा खुसी व्यक्त गरे। यसका साथै उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी दिइएको फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे। 

सेनाका प्रवक्ता केसीका अनुसार यो आयोजनामा ६ वटा सुरङमार्गहरू निर्माणको क्रममा छन्। जसमध्ये ३ वटा सुरुङ मार्ग निर्माण भइसेकको छ। अन्य तीनवटा सुरुङमार्गको टनेल निर्माणका काम भैरहेको छ। जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ किलोमिटर ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्गहरू छिचोलिएको थियो।  यो आयोजना ०८३ सम्म निर्माण सक्ने सेनाले जनाएको छ। प्रवक्ता केसीका अनुसार द्रुतमार्गको करिब ३४.८ प्रतिशत काम सकिएको छ। यस्तै आर्थिक रुपमा ३६.५१ प्रतिशत काम पूरा भएको छ। द्रुतमार्ग निर्माणको काम समयमा नै सकिने बताउँदै प्रवक्ता केसीले भने, ‘नेपाली सेनाले जिम्मा लिएको काम अत्यन्तै गुणस्तरीय रूपमा गरिरहेको छ। समयमा पूरा हुनेमा कुनै शंका छैन। दिएको समयसम्म हामीले निर्माण कार्य सक्छौं।’