काठमाडौं - सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षातका कारण सप्तकोसी नदीमा पानीको बहाब बढेको हो । 

आइतबार सप्तकोसीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ४९ हजार ४ सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिएका छन् । 

सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन् । सप्तकोशीमा प्रति सेकेन्ड एकलाख ५० हजार क्युसेक पानीको बहाब पुगेपछि खतरा मानिन्छ । 

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ। 

लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। 

सप्तकोसीमा पानीको बहब उच्च हुँदासमेत कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण बराह क्षेत्र नगरपालिकाको श्रीलंका टापुमा कटान सुरु गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले सप्तकोशीको बाढीबाट हुने क्षतिलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको बताए।