काठमाडौं - नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ । 

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी सहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गर्नुभएको हो। बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैङ्कले उक्त रकम सहयोग गरेको हो ।

अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योग धन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जा प्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुन अनुसार काम गर्न पनि आग्रह गर्नुभयो ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्‍तिहरूबाट सहयोगको क्रम जारी छ ।