काठमाडौं - नेपाल र बङ्गलादेशबीच भएको विद्युत बिक्री सम्झौता (पिएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्वागत गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बङ्गलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत रेनु नारङ र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमबीच भएको यो सम्झौतालाई ऐतिहासिक सम्झौताको रुपमा इप्पानले टिप्पणी गरेको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पिपिए) पूर्ण रुपमा खुला गर्नुपर्ने बताउनुभयो ।

निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिने, बैक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार तत्पर हुनुपर्ने उहाँको भनाइ छ ।

भारत र बङ्गलादेशमा लक्ष्य अनुसारको निर्यातका लागि तत्काल नीतिगत र प्रक्रियागत सुधारका लागि पनि सरकारसँग इप्पानले आग्रह गरेको छ । 

सन् १९७१ देखि नेपाल र भारतबीच विद्युत् आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत् व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत् व्यापार हुँदै आएकोमा २०८० साल पुस १९ गते भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता भइसकेको छ ।