काठमाडौं - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी-७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्णरूपमा बन्द भएको छ। 

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौं सवारीसाधान र तीनमा सवार यात्रुहरु अलपत्र परेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले कल्भर्ड बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको बताए।

राजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा भने अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ। शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।