काठमाडौं - मोरङको बूढीगंगा गाउँपालिका–१ आदर्श टोलमा सडकमा रोकेर राखेको कारबाट आइतबार ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। 

भित्री सडकमा रोकेर राखिएको बा ७ च ९५९५ नम्बरको कारबाट १ सय १५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक (सइ) प्रवीण खड्का नेतृत्वको टोलीले साँझ ५ बजेतिर गाँजासहितको कार नियन्त्रणमा लिएको थियो। 

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी वेदप्रसाद जोशी नेतृत्वको टोली घटनास्थल पुगेको थियो। डीएसपी जोशी र सइ खड्का नेतृत्वको संयुक्त टोलीले कार चेकजाँच गर्दा गाँजा भेटिएको हो। 

कारको पछाडिको भागमा लुकाएर राखेको अवस्थामा अवैध गाँजा फेला परेको डीएसपी बस्नेतले बताए। उनका अनुसार बरामद भएको गाँजासहित कारलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ। कार भएको स्थानमा चालक फेला नपरेको उनले बताए। 

कार कसको हो र चालक को थिए तथा गाँजा कसले एवं कहाँसम्म लगेको र कहाँदेखि ल्याएको भन्ने बारेमा खुल्न बाँकी रहेको बस्नेतको भनाइ छ। उनले अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने बताए। पहिचानको प्रयास गर्दै कारधनी र चालकको खोजतलास भइरहेको जानकारी उनले दिए। भारततर्फ कटाउनलाई कारको प्रयोग गरेर गाँजा ओसारपसार गरिएको र प्रहरी आएको थाहा पाएर कार छाडी चालक फरार बनेको हुनसक्ने अनुमान गरिएको छ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की लागूऔषध लगायतका अवैध वस्तुको ओसारपसार हुने गरेको पाइएपछि सवारीसाधनमाथि निगरानी र चेकजाँच बढाइएको बताउँछन्। ‘निजी तथा सार्वजनिक सवारीसाधनको प्रयोग गरेर गाँजा लगायतका वस्तु ओसारपसार हुने गरेको पाइयो,’ कार्कीले भने, ‘अवैध धन्दा नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको छ।’ 

सवारीसाधनमा निगरानी र चेकजाँच बढाउँदै शंकास्पद स्थानमा प्रहरीले खानतलासीसमेत गरिरहेको उनी बताउँछन्। एसपी कार्कीले गलत काम भइरहेको कुनै सूचना भएमा तत्काल प्रहरीलाई उपलब्ध गराउन र अवैध धन्दा नियन्त्रणमा सहयोग गर्न सबैमा आग्रह गरेका छन्।