काठमाडौं - विराटनगर प्रहरीले विभिन्न अनलाइन बेटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगीको धन्दा चलाइरहेको गिरोहका ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका-३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर महानगरपालिका–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव रहेका छन्। उनीहरुले विराटनगरमा एउटा फ्ल्याट नै भाडामा लिएर विभिन्न अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा पर्‍यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । गिरोहले अवैध हुण्डी कारोबारको धन्दा पनि चलाइरहेको हुनसक्ने प्रहरीको अनुमान छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर-१५ स्थित सोहिता कर्णको घरको दोस्रो तलाको ४ वटा कोठा रहेको फ्ल्याटमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले दिउँसो ३ बजेतिर छापा हानेको थियो। 

सट्टेबाजी र हुण्डी कारोबार तथा अनलाइन ठगीको अवैध धन्दा चलाइरहेको विशेष सूचनाका आधारमा घरमा छापा हानेर ५ जनालाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए। उनीहरूले ५/६ महिनाअघि कोठाहरू भाडामा लिएर अवैध धन्दा चलाएको पाइएको उनको भनाइ छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। 

प्रहरीले पक्राउ परेकाहरू बस्दै आएको कोठामा खानतलासी गरेर विभिन्न बैंकका एटीएम कार्ड, चेकबुक, नेपाली तथा भारतीय सिमकार्ड, भारतीय आधार कार्ड तथा नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकललगायत बरामद गरेको छ। डीएसपी बस्नेतका अनुसार ठूलो र सानो गरेर १६ वटा मोबाइल, एटीएम ४४ वटा, भारतीय सिमकार्ड १३ वटा, नेपाली सिमकार्ड १९ वटा, विभिन्न बैंकका १५ वटा चेकबुक, विभिन्न व्यक्तिका नाममा काटिएका १३ वटा चेक, १ जीबीको एउटा हार्ड डिक्स, स्ट्याम प्याड, इलेक्ट्रिक फिङ्गर प्रिन्ट, क्यालकुलेटर, ३ वटा भारतीय आधार कार्डलगायत बरामद गरिएको छ। 

त्यस्तै नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एउटा भारतीय सवारी चालक अनुमति पत्र १/१ वटा, भारतीय सवारी दर्ता किताब २ वटा, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ वटा, आयकर कार्ड एउटा तथा १ हजार ६ सय ५ रूपैयाँ नगदसमेत बरामद भएको उनले बताए। बस्नेतका अनुसार २ वटा भारतीय र एउटा नेपाली नम्बर प्लेटको गरेर ३ वटा मोटरसाइकल पनि बरामद गरिएको छ। प्रहरीले बीआर २८ डब्लु २४४१, बीआर ३८ एएफ १७६४ र ज ८ प ६९०८ नम्बरको मोटरसाइकल बरामद गरेको हो। 

प्रहरीका अनुसार पक्राउ परेको समूहले कुन बैंकबाट कति रकम बराबरको कारोबार गरेको छ भनेर यकिन हुन बाँकी छ। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले पक्राउ परेकासँग अन्य व्यक्तिको पनि ‘कनेक्सन’ हुनसक्ने बताए। ‘विभिन्न व्यक्तिहरू यो समूहमा आवद्ध हुनसक्ने देखिन्छ। वास्तविकता पत्ता लगाउन गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको छ,’ उनले भने, ‘पक्राउ परेकाले गरेको बैंकिङ कारोबार अस्वभाविक छ। कारोबारको अवस्था हेर्दा यसमा ठूलै गिरोह संलग्न रहेको अनुमान छ।’ 

विराटनगरकै मान्छेले घरनजिकै फ्ल्याट भाडामा लिएर बस्नुपर्ने अन्य कुनै कारण नभएको बताउँदै एसपी कार्कीले बैंकिङ कारोबार धेरै गरेका कागजातहरू फेला परेको जानकारी दिए। उनका अनुसार पक्राउ परेकाको विगतको पृष्ठभूमिका आधारमा पनि उनीहरूले अवैध धन्दा चलाइरहेको यकिन हुन्छ। 

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट थोरै रकम बरामद भएको छ। ‘पक्राउ परेकाले धेरै रकम बराबरको कारोबार गर्ने गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘सबै कारोबार बैंकबाट गर्ने हुँदा रकमचाहिँ थोरै बरामद भएको छ।’ पक्राउ परेकाहरू विगतमा पनि तस्करी, मोटरसाइकल चोरीलगायतका अवैध धन्दा र विभिन्न अपराधमा संलग्नहरू रहेको प्रहरीले जनाएको छ।