काठमाडौं - प्रहरीले महोत्तरीको गौशालामा दिनदहाडै गोली प्रहार गर्ने दुई युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका-२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन्।

गत जेठ २८ गते गौशाला नगरपालिका-५  मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनय कुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो। घटना महतो घाइते भएका थिए। घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो। दुवै जनालाई महोत्तरी प्रहरीले आज सार्वजनिक गरेको हो। दुवैजना जेलबाट छुटेका साथी रहेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए।

लुटपाटमा प्र २-००९ प २८६१ नम्बरको मोटरसाइकल प्रयोग भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद गरेको छ। घटनापश्चात् शशी शंकर कापर र आशिषले लगाएको कपडा पहिचान लुकाउनका लागि महोत्तरी पिपरा गाउँपालिका-६ रतौलीस्थित खेतमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ।

पक्राउ परेका शशी शंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० वर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएका थिए। आशिष भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए। शशिशंकर र आशिषसहित लुटपाटका विभिन्न आपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ।