काठमाडौं - प्रहरीले विराटनगरमा बेवारिसे अवस्थामा रहेको १ सय ६९ किलो गाँजा बरामद गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले बिहीबार राति ११ बजेतिर विराटनगर महानगरपालिका–१७ गुजार टोलबाट बेवारिसे अवस्थामा छाडिएको १ सय ६९ किलो गाँजा बरामद गरेको बताए ।

उनका अनुसार बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । गाँजा कसले ल्याएर खाली जग्गामा फालेको हो भन्ने यकिन भइसकेको छैन । यद्यपि, यसको ओसारपसार एवं कारोबारमा संलग्नको खोजी भइरहेको जानकारी बस्नेतले दिए । 

उनका अनुसार प्रहरी आएको थाहा पाएका कारण ओसारपसारमा संलग्नहरू नै गाँजा फालेर भागेको हुनसक्ने अनुमान छ । गाँजा नेपालबाट भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ ।