काठमाडौं - सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै असार २१ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। इजलासले विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ ।

अध्यक्षको सर्ट लिस्टमा परेका पाँचजनामध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले उक्त निर्णय रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।

प्रधानमन्त्री कार्यालय,अर्थ मन्त्रालय,महान्यायाधिवक्ताको कार्यालय,अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि निमित्त नाम सिफारिस गर्नका लागि गठित भएको सिफारिस समितिलगायतलाई विपक्षी बनाइएको छ।

सिफारिस समितिले अध्यक्षका लागि १९ जनाको आवेदन परेको थियो। समितिले तीमध्ये ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो।