काठमाडौं - बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहा हत्या प्रकरणमा बारा प्रहरीले थप एक जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा बारागढी गाउँपालिका-५ पथराका ४२ वर्षीय हरिन्दर महरा चमार रहेका छन्। 

चमारलाई प्रहरीले दुई थान पेस्तोल र एक थान गोलीसहित मंगलबार नियन्त्रणमा लिएको हो। चमारले उक्त पेस्तोल आफ्नो बारीमा गाडेर राखेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार कुशवाहाको हत्यामा प्रयोग भएको हतियार लुकाउन भूमिका खेलेको आरोपमा चमारलाई पक्राउ गरिएको हो। चमारको बारीबाट कटुवा पेस्तोल एक थान, गोली लोड भएको अटोमेटिक पेस्तोल एक थान र त्यसको म्यागाजिन बरामद भएको न्यौपानेले जानकारी दिए। 

घटनाको अनुसन्धान गर्ने क्रममा प्रयोग भएका हतियार लुकाइएको स्थान खुलेको प्रहरीले जनाएको छ। आदर्श कोतवाल गाउँपालिका २ खजुरिया घर भएका कुशवाहाको जेठ ३२ गते सोही गाउँपालिका ३ बतरामा गोली हानी हत्या गरिएको थियो। 

मोटरसाइकलमा कलैयातर्फ आउँदै गरेका कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहार गर्ने क्रममा कुशवाहा र ती व्यक्तिबीच विवाद समेत भएको थियो। 
केही समयको विवादपछि मोटरसाइकलको पछाडी बसेका व्यक्तिले कुशवाहालाई गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आफूमाथि गोली प्रहार भएलगत्तै कुशवाहाले प्रहरी र परिवारलाई घटनाबारे जानकारी गराएका थिए। सो क्रममा कुशवाहाले आफूमाथि सुरेन्द्र भन्ने व्यक्तिले गोली प्रहार गरेको सूचना दिएका थिए। 

गोली लागेर गम्भीर घाइते भएका कुशवाहाको सोही दिन साँझ उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको थियो। कुशवाहा लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहेका थिए। उनको हत्याको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान र सोधपुछका लागि यसअघि सात जनालाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका व्यक्तिको घटनामा संलग्नता रहे नरहेको पुष्टि भने हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। उनले घटनाको अनुसन्धान जारी रहेको बताए।