काठमाडौं - सिन्धुलीको कमला नदीमा पानीको सहतले खतराको तह पार गरेको छ। सोमबार मध्यान्नदेखि परेको पानीसँगै आएको बाढीले खतराको तह पार गरेको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार साँझ ७ बजेसम्ममा कमला नदीको रानिबास मापन केन्द्रमा ३ दशमलव ५९ मिटरसम्म बाढीको सतह पुगेको छ। यो खतराको तहभन्दा माथि हो। कमला नदीमा ३ दशमलव ५ मिटरसम्मको बाढीलाई खतराको तह मान्ने गरिन्छ।

कमला नदीमा आएको बाढीका कारण सिन्धुलीको कमलानदी तटीय क्षेत्र दुधौलीको, मैनी, बेल्सोत, नीपाने, हत्पते, टाँडी, हर्षाही, सिर्थौली लगायतका क्षेत्र जोखिममा परेका छन्। यी क्षेत्रमा डुवान हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

सिन्धुलीमा पछिल्लो ६ घण्टादेखि अत्याधिक वर्षात भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुलीमाढीमा ८०, रानिबासमा ८० र दुधौलीमा २१ मिलिलिटर वर्षा भएको छ। 

यस्तै सिन्धुलीको तिनपाटनस्थित चँदाहा नदीमा पनि बाढीले खतराको तह पार गरेको छ। बागमती नदिमा भने बाढीको जोखिम मध्यम रहेको बताइएको छ। 

सिन्धुलीमा लगातार वर्षात हुँदा कमला, बागमती र सुनकोसी नदिका साथै मरिण, रोसी र चँदाहा खोलाको बाढीको कारण नदी तटीय क्षेत्रका बस्तीहरू जोखिममा पर्ने गरेका छन्। यस्ता क्षेत्रमा हुने सम्भावित विपद्लाई ध्यानमा राखेर उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।