काठमाडौं - बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्। 

गत असार १ गते साँझ चितवनको कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय पवनकुमार पासवान एवम् चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका –६ का ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन्।

लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोरोको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

पसल सञ्चालक विनोद  स्वयम्ले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाइ जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले बताए। बीमा दाबी गर्नका लागि पसल सञ्चालक आफैँले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाउँदै उनले मोटरसाइकलमा चोरी गर्न आउने व्यक्तिलाई प्रलोभनमा पारेर घटना गराएको देखिएको बताए।

धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाइ पसलबाट दुई करोड १७ लाख ५४ हजार चार सय १५ बराबरको सुनचाँदीका गहना चोरी भएको पसल सञ्चालकले दाबी गरेका थिए। चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ। पक्राउ परेका माथि थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट छ दिनको म्याद पाएको छ। 

यसरी भएको थियो लुटपाट 

राति साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलमा दुई व्यक्ति आउँछन्।

कालिका नगरपालिका–६ स्थित उक्त पसलभित्र व्यवस्थापक विजय विश्वकर्मा र पसलमा रहेका बापीधर गौतम हुन्छन्। मोटरसाइकलमा आएका व्यक्तिले खुकुरी देखाएर त्रसित बनाउँदै सुनचाँदी डकैती गर्छन्। 

त्यसबेलासम्म वरिपरिका कसैले पनि घटनाबारे थाहा पाउँदैनन्। हरेक महिनाको १ गते खोलेसिमलको बजार बन्द हुने नियम छ। उनले त्यसदिन पसल खोलेका थिए। लुटेराले डर धाकधम्की त्रास देखाएर पसलको २ करोड १७ लाख ५४ हजार ४ सय १५ रुपैयाँ बराबरको सुनचाँदी र पिहराको गहना लुटेर लान्छन्। छिनभरमै पसल रित्तो हुन्छ। त्यसपछि सञ्चालकले हारगुहार गरेर प्रोपोगान्डा मच्चाउँछन्। 

यो घटना करिब १८ दिनसम्म सनसनी बन्यो। खोलेसिमल बजार व्यवस्थापनको निर्णयअनुसार हरेक महिनाको १ गते पसल बन्द हुने दिन सुन पसल खुला थियो। सामान्यतया ६ बजे बन्द हुने दिन सुन पसल त्यसदिन राति साढे आठ बजेसम्म खुला थियो। प्रहरीले अनुसन्धानको थालनी यहीबाट सुरु गर्‍यो। १८ औं दिनमा मुख्य योजनाकार विनोद विश्वकर्माले नाटकीय ढंगबाट पात्र खटाएर आफैं पसल लुटेको तथ्य फेला पारेको हो। उनले लुटपाटको नाटक गर्नेलाई ५० हजार दिएका थिए।