प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाको डिसेम्वर ५–१०, १९९१ (मंसीर १९–२४, २०४८) मा भएको भारत भ्रमणको अवसरमा श्री ५ को सरकार नेपाल र भारत सरकारकाबीच जलस्रोतका सम्बन्धमा भएका समझदारीहरु)
१. कर्णाली(चिसापानी) बहुउद्देश्यीय परियोजना
कर्णाली समितिको आठौँ बैठकमा सहमति भएअनुसार थप अध्ययनमा आधारित परियोजनाको स्वरुप निर्धारण शिघ्रताका साथ समाप्त गरिनेछ । परियोजनाको निर्माण, योजना तथा अन्य सम्वद्ध सवालहरुको सम्बन्धमा भारत सरकारले शिघ्रताका साथ प्रस्तावहरु उपलब्ध गराउने छ ।
२. पञ्चेश्वर बहुउद्देश्यीय परियोजना
पञ्चेश्वर विकास प्राधिकरण बारे भारत सरकारको विचार चाँडै पठाइनेछ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विस्तृत प्रतिवेदन अक्टोवर १९९२ सम्मा संयुक्त रुपमा तयार पारिनेछ । परियोजनाको वित्तीय लगानी भारतद्वारा गरिनेछ । लगानी तथा लागत र लाभहरुको आधारमा पारस्परिक सहमति अनुसार हुनेछ ।
३. कोशी (भीमनगर बाँध) परियोजना
हनुमाननगर, जोगानिया क्षेत्र र आसपासका भूभागहरुमा भूषय हुन नदिने लगायतका नेपाली भूभागमा गरिने सबै संरक्षण कार्य कोशी परियोजना सम्झौतामा उल्लेख भएअनुसार श्री ५ को सरकार नेपालको आवश्यक सहयोगमा कोशी परियोजनाद्वारा समयमै गरिनेछ ।
४. सप्तकोशी बहुउद्देश्यीय उच्च बाँध परियोजना
सप्तकोशी बहुउेश्यीय उच्च बाँध परियोजनाको स्वरुप निर्धारण (प्यारामिटर)लाई अन्तिम रुप दिनको लागि आवश्यक संयुक्त अध्ययन अनुसन्धानका कार्यहरु शीघ्रतापूर्वक गरिनेछ । यस प्रयोजनको लागि विशेषज्ञहरुको एउटा संयुक्त समितिको गठन गरिनेछ । उक्त समितिले परियोजना सम्बन्धी अनुसन्धान र परियोजनाबाट हुने लाभहरुको मूल्यांकन विधि बारेको विस्तृत कार्य प्रणाली(मोडयालिटी)हरुलाई अन्तिम रुप दिनेछ । त्यसपछि दुवै पक्षले सकेसम्म चाँडो एउटा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विचारले अनुसन्धान कार्यहरुको थालनी गर्नेछन् ।
५. बूढी गण्डकी परियोजना
श्री ५ को सरकार नेपालले तयार पारेको पूर्व सम्भाव्यता अध्ययनमा रेखांकन गरे अनुसार परियोजनाको स्वरुप निर्धारण बारे सहमतिमा पुग्न विशेषज्ञहरुको एउटा संयुक्त टोलीले परियोजना क्षेत्रको सर्वेक्षण कार्य गर्नेछ । यी सर्भेक्षण कार्यहरु जुन, १९९२ सम्ममा समाप्त गरिनेछन् । परियोजनाका वित्तीय लगानी सम्बन्धी विस्तृत कार्य प्रणाली तथा प्रक्रियाहरु (मोडयालिटीज) समान अनुपातमा संयुक्त रुपमा सम्पन्न गरिनेछ । परियोजनाको निर्माण कार्य १९९४ सम्ममा शुरु गर्न सकियोस् भनेर सोको विस्तृत प्रतिवेदन छिट्टै तयार पारिनेछ ।
६.कमला बागमती योजना
यो योजनाको आवश्यक अनुसन्धान गेर १९९३ सम्ममा नेपालले यसको सम्भाव्यता प्रतिवेदन तयार पार्नेछ । उक्त अध्ययनको वित्तीय लगानीको लागि भारतले विचार गर्नेछ ।
७. बाढी प्रक्षेपण तथा चेतावनी प्रणाली
यो प्रणालीको कार्यान्वयनमा केही समय लाग्न गयो । यो कार्य योजनालाई १९९२ को वर्षायामदेखि पूर्णस्तरमा कार्यान्वनयमा लैजान आवश्यक सबै प्रयासहरु गरिनेछन् । यो प्रणालीको निरन्तर र प्रभावकारी क्रियान्वीतिको लागि अवाश्यक प्रवन्धहरु गरिनेछ । यसबाट निरन्तर बाढीको सिथ्तिको सक्षम प्रषेपण हुन सक्नेछ ।
८. बाढी सुरक्षा तटबन्धन
कमला, बागमती, लाल बकैया र खाँडो नदीहरुमा बाढी सुरक्षा तटबन्ध योजनालाई अन्तिम रुप दिन गठित विशेषज्ञहरुको संयुक्त टोलीले शिघ्रतापूर्वक आफ्नो काम समाप्त गरी तत्काल कार्यान्वयनको लागि कम खर्चिला प्रस्तावहरु सिफारिस गर्नेछ । भारतीय आर्थिक सहायतामा सञ्चालन गरिने उपरोक्त योजनाको थालनी नोभेम्वर १९९१ मा हुनेछ ।
९. टनकपुर बाँध परियोजना
क) बायाँ तटबन्ध बाँधलाई नेपालको इ.एल. २५० को उच्च भू–भागमा जोड्नको लागि महेन्द्रनगर नगरपालिका क्षेत्रको जिमुवा गाउँको करीब ५७७ मिटर लम्वाइको (२.९ हेक्टर क्षेत्रफल जति) जग्गा उपलब्ध गराइनेछ ।
ख) भारतको टनकपुर बाँधको बाँयापट्टिको तल्लो जल नियन्त्रणद्वार (अन्ड स्लुइस) नजिक १००० क्यूसेक क्षमताको एक हेड रेगुलेटरको निर्माण गरिने छ र नेपालको करीव ४०००–५००० हेक्टर जमिन सिँचाइ गर्नको लागि १५० क्यूसेकसम्म पानी आपूर्ति गर्नको लागि नेपाल–भारत सीमासम्म नहर बनाइने छ । महाकाली नदीको माथिल्लो भागमा पञ्चेश्वर या यस्तै अन्य कुनै ठाउँमा पानीको पर्याप्त सञ्चिति भएमा हेड रेगुलेटरबाट नेपालतर्फ पठाइने पानीको मात्रा बढाइनेछ ।
ग) टनकपुर विद्युत् केन्द्रबाट उपलब्ध हुने विजुलीमा अझ कमी हुन जाने भएता पनि नेपाली पक्षको अनुरोधको प्रत्यूत्तरमा शुभेच्छास्वरुप भारतीय पक्षले प्रारम्भमा नेपाललाई एक करोड युनिट विजुली उपलब्ध गराउन मञ्जुरी गरेको छ । टनकपुर बाँधलाई महेन्द्रनगरमा पूर्व पश्चिम राजमार्गसित जोड्ने सडक निर्माण कार्यको अनुसन्धान भारत सरकारले गर्ने कुरामा सहमति भयो ।
(नेपाल–भारत र चीन सन्धिबाट)
0 comment