भारतीय लोकसभा निर्वाचनमा यस पटक भारतीय जनता पार्टीले सन् २०१४ र २०१९ मा भएको निर्वाचनमा जस्तो एक्लै बहुमत ल्याउन सकेन । ‘अव कि बार चारसय पार’ नारा दिएको भाजपा सरकार गठनका लागि आवश्यक पर्ने सामान्य बहुमत २७२ समेत आफ्नो पक्षमा पुर्याउन असफल सावित भयो । लोकसभाको ५४३ स्थानका लागि भएको निर्वाचनमा भाजपाले २४० स्थानमा विजय प्राप्त गर्यो । यद्यपि भाजपाको नेतृत्वमा बनेको नेसनल डयमोक्रयाटिक एलायन्स (एनडिए) गठबन्धनले २९३ सिटका साथ भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा बनेको २६ दल सहभागी इण्डिया गठबन्धनलाई पछि पार्यो ।
इण्डिया गठबन्धनले २३४ सिटमा मात्र जित निकाल्न सक्यो । अन्ततः एनडिएको नेतृत्व गर्दै नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीमा ह्याट्रिक गर्न सफल भए । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको रेकर्डको बराबरी गरे मोदीले । तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित हुने अवसर नेहरु पछि मोदीले मात्र प्राप्त गर्न सकेका छन् । भारत एक दशक पछि पुनः गठबन्धनतर्फ फर्किएको छ । दशबर्ष प्रधानमन्त्री मोदीले एकल बहुमतको सरकारको नेतृत्व गरेका थिए ।
दोस्रो कार्यकालमा दुई तिहाई बहुमतका आधारमा संविधानको धारा ३७० खारेज गरेर कस्मीरको विशेष दर्जा हटाएका थिए । उनी नेतृत्वको सरकारले नयाँ राजनीतिक नक्सा समेत जारी गरेको थियो । जसमा नेपाली भूभाग कालापानी क्षेत्रलाई उक्त नक्सामा समेटियो । यसले बहुमतको तुजुकमा मोदीले अंग्रेजकालीन भौगोलिक विस्तारबादी नीति अख्तियार गरेको प्रस्ट छ, इन्दिरा गान्धीको हत्या पछि भएको भारतीय लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले ४१४ स्थानमा जित निकालेको थियो ।
निर्वाचनपछि शक्तिशाली प्रधानमन्त्री बनेका राजिव गान्धीले नेपाल प्रति विस्तारवादी नीति लिएनन् । आफ्नै बाजे ‘नेहरु डकिट्रन’ लाई उनले पछ्याएनन् । उनले चीनबाट नेपालले एन्टिएयरक्राफ्ट गन ल्याएको निहुँमा नेपाल माथि नाकाबन्दी लगाए । नेपाली जनतालाई सास्ती नदिएका होइनन् । मोदीले पनि सन् २०१४ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपालमाथि ५ महिनालामो नाकाबन्दी थुपारिदिए । नेपालले भारतको परामर्शबिना नयाँ संविधान जारी गरेकोमा उनी असन्तुष्ट बने र नाकाबन्दी जस्तो घोर अमानविय हर्कतमा उत्रिए । यसले प्रष्ट पार्छ मोदीमा राजनीतिक उदारता र जनतान्त्रिक चरित्र कत्ति पनि छैन । उनी भारतीय कर्पोरेट हिन्दूहरुका एक मिथक मात्र हुन् । छिमेक पहिलो बताउने मोदीले आफ्ना कुनैपनि छिमेकी देशहरुसँग सुमधुर सम्बन्ध बनाउन सकेका छैनन् । यो मोदी सरकारकै विदेश नीतिको अँध्यारो पाटो मान्छन् भारतीय विदेश नीतिका जानकारहरु ।
आधुनिक भारतको निर्माण विश्वको समकालीन मानचित्रमा जुन भूगोललाई भारत भनेर चिनिन्छ, इतिहासमा सधैभरी यसरी नै चिनिदैनथ्यो । इतिहासमा यो भूगोलमा थुप्रै स्वअस्तित्व बोकेका वेग्लावेग्लै राज्य थिए । प्राचीन भारतकी इतिहास ज्ञाताा रोमिला थापरले भनेकी छन्– ‘बैदिक कालमा गंगा नदी र यमुना नदीको बीचदेखि गंगाको उपत्यकासम्मको भागलाई आर्यब्रत भन्ने गरिन्थ्यो । मनुस्मृतिमा आइपुग्दासम्म आर्यब्रतले सिन्ध नदीदेखि हिन्द महासागरसम्मको भूगोललाई जनाउन थालेको थियो । १२ औं शताब्दीबाट यो भूगोललाई भारतबर्ष भन्न थलियो । यद्यपि त्यतिवेला पनि यो भूगोलमा साना ठूला थुप्रै राज्यहरु थिए । बहुलजाति भाषा र प्रणाली यहाँको विशेषता थियो ।’
थापरका अनुसार व्रिटिस उपनिवेशले जरा गाडेपछि यो भूगोललाई इन्डिया भन्न थालियो । थापरका भनाईमा एस्को पर्पोलाले भने सहमति जनाउँदैनन् । ‘द रुट्स अफ हिन्दूइज्म’ मा इण्डिया शब्दको प्रयोग इशापूर्व देखि नै थालिएको तर्क गरेका छन् । उनका अनुसार इशापूर्व ५१५ मा पर्सियाली राजा दरिउसले सिन्धु उपत्यकामा हमला गरेका थिए । पर्सियाली भाषामा सिन्धुलाई हिन्दु पछि ग्रिकहरुले आफ्नो भाषामा ‘ह’ उच्चारण नहुने भएकाले हिन्दूलाई इन्दु भन्न थाले । त्यसैबाट सिन्धु उपत्यकाका वरिपरिको भूभागलाई इन्डिया भन्न थालियो । तर पर्पोलाको तर्कले पनि हालको भारतलाई नभई अहिले भारत पाकिस्तानको सीमा वरपर पर्ने भूभाग इन्डिया भएको जनाउँछ ।
सन् १७५७ मा पाल्सीको युद्धमा विजय प्राप्त गरेपछि बंगालबाट इष्ट इण्डिया कम्पनीको औपनिवेशिक शासनकालको आरम्भ हुन्छ । व्रिटिसहरुले स्वतन्त्र राज्यहरु माथि धावा बोल्दै जान्छन् र आफ्नो औपनिवेशिक शासन क्षेत्रलाई विस्तार गर्दै लान्छन् । इष्ट इण्डिया कम्पनीका फौजहरुले अहिलेको भारतीय भूगोलमा विद्यमान ६६५ वटा स्वतन्त्र राज्यहरु माथि विजय प्राप्त गरेपछि विशाल इन्डिया बन्छ ।
सन् १८७० देखि कानून नै बनाएर व्रिटिसहरुले इन्डियन भूगोलमा सम्राज्य स्थापित गर्छन् । १८९ बर्षसम्म इण्डियामा इष्ट इण्डिया कम्पनीको शासन कायम रहेपछि तत्कालीन सामाजिक सम्बन्धका आधारमा स्वाधीनताको आन्दोलन शुरु हुन्छ । व्रिटिस औपनिवेशिक शासनको विरोध र स्वाधीनता आन्दोलन विकास हुँदै जाँदा भिन्न भिन्न भूगोल, पर्यावरण, भाषााभाषी र संस्कृति भएका समुदायलाई एउटै बृतमा राख्ने खम्बा बन्यो स्वतन्त्र एक भारतको संकथन । यही परिकल्पनाले भारतीय राष्ट्रबादको जन्म भयो । भारतीय इतिहासकार इरफान हविव, इण्डियन नेसनलिज्ममा भारतीय भावनालाई उपनिवेशको प्रतिवादको रुपमा व्याख्या गर्छन् ।
सेवा निवृत व्रिटिश भारतीय सिविल सेवा ९क्ष्ऋक्० एलन अक्टोभियन ह्युमले शिक्षित भारतीयहरु बीच नागरिक र राजनीतिक संवादको लागि एक प्लेटफर्म बनाउनका लागि भारतीय राष्ट्रिय कांग्रेसको स्थापना गरे । सन् १८५७ को भारतीय विद्रोहपछि इण्डियाको नियन्त्रण इष्ट इण्डिया कम्पनीबाट व्रिटिस साम्राज्यमा हस्तान्तरण गरियो । व्रिटिस नियन्त्रित इण्डिया, व्रिटिस राज भनेर चिनिने अंग्रेजी शिक्षित इण्डियनहरुको सहयोगमा व्रिटिसको शासनलाई समर्थन र न्यायोचित बनाउने प्रयास गर्न थाल्यो जो व्रिटिस संस्कृति र राजनीतिसँग बढी परिचित र मित्रवत थिए । १९ औं शताब्दीको निर्विबाद व्रिटिस वर्चश्व युगमा ह्युमले सन् १८८५ मा ‘भारतीय राष्ट्रिय संघ’ गठन गर्न भाइसरोयको स्वीकृति प्राप्त गरे जुन सरकारसँग आवद्ध हुने र इण्डियन जनमतलाई आवाज उठाउने मञ्चको रुपमा काम गर्ने भनियो । ह्युम र शिक्षित भारतीयहरुको समुहले १२ अक्टोवरमा ‘भारतको जनताबाट ग्रेट व्रिटेन र आयरल्याण्डका निर्वाचनहरुलाई अपिल’ प्रकाशित ग¥यो । २८ डिसेम्बर १८८५ मा बम्बईको गोकुलदास तेजपाल संस्कृत कलेजमा बोमेस चन्दर चटर्जीको अध्यक्षतामा भारतीय राष्ट्रिय कांग्रेसको स्थापना भयो । ह्युमले महासचिवको पदभार ग्रहण गरे । सन् १८८५ देखि १९०५ बीचमा भारतीय राष्ट्रिय कांग्रेसले नागरिक अधिकार, प्रशासनिक, संवैधानिक र आर्थिक नीतिहरु समावेश गरिएका प्रस्तावहरु पारित ग¥यो । यी प्रस्तावहरुले कांग्रेस व्रिटिस हुकुमत विरुद्ध जाँदै गरेको देखाइयो ।
भारतीय राष्ट्रवाद सूरुमा समावेशी विविधता र बहुलतायुक्त नै थियो । तर कांग्रेस भित्रै धार्मिक लेप लाग्न शुरु भयो । कांग्रेसमा हिन्दूहरुको बाहुल्यता थियो । कोनार्ड इल्स्टले ‘डिकोलोनाइजिङ द हिन्दू माइण्ड’ मा बताएअनुसार मुुसलमान नेताहरु सशंकित भए र मुहम्मद अलि जिन्नाको नेतृत्वको मुस्लिम लिगको जन्म भयो । यसरी कथित भारतीय स्वाधीनता आन्दोलनको अन्तरालमै हिन्दू र मुसलमान दुइ थरी धार्मिक राष्ट्रबादको जन्म भयो । हविव भन्छन्– यी दुवै राष्ट्रबाद व्रिटिस उपनिबेशले हिन्दू र मुसलमानबारे गरेको एक पक्षीय विभाजनकारी व्याख्या र शासनबाट प्रभावित छन् । त्यसेले यी दुबै थरी राष्ट्रबाद उपनिवेश विरोधी थिए । बंकिमचन्द्र चट्टोपाध्य बाल गंगाधर तिलक, श्री अरविन्दो, विपिनचन्द्रपाल, लाल लाजपत राय लगायतले हिन्दूधर्ममा आधारित राष्ट्रवादको वकालत गर्थे भने मौलना हुसेन, अहमद अदानी अल्लमा इकवाल, मुहम्मद अलि जिन्ना लगायतले मुस्लिम धर्ममा आधारित राष्ट्रवादको । राजनीतिक विचारधारा व्यक्तिगत महत्वकांक्षालाई यी अगुवाहरुले धर्मको साहारामा बैधानिक बनाउने प्रयत्न गरिरहे । सन् १९१५ मा हिन्दू महासभाको स्थापनापछि हिन्दू राष्ट्रवादको जग तयारी भयो । सन् १९४७ अघि भारत भन्ने मुलुक नरहेको भारतकै प्राचिन इतिहासले प्रमाणित गरेका छन् । तर इतिहासलाई तोडमोड गरेर कथित भारतबर्षरहेको बताउने गरिएको छ ।
0 comment