परिक्षा कोइराला,

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको मुटुसँग सहयात्रा नामक कृति संस्मरणात्मक शैलीमा र जीवनीका रुपमा लेखिएको छ । यस कृतिमा उनको जीवनका महत्वपूर्ण तथा संवदेनशील अनुभव र अनुभूति छन् । यहाँ अंग्रेजी भाषा पढाउने पिताजीको अध्ययनसिलताले उनमा ठुलो छाप परेको वर्णन छ । यस कृतिमा घरमा पिताजीले टुयुसन पठाउदा नै सुनेर पनि विभिन्न विषयको जग बस्यो । उनका पिताजीले सेन्ट जेभियर्सको प्रधानाध्यापकले अशुद्ध अंग्रजी बोलेकोले जेपीमा भर्ना गरेको प्रसंग छ । उनले स्काउट र चित्रकारितामा रुची हुँदाहुदै र विदेशमा पढ्ने अवसर पाउँदा पनि पिताको स्वीकृति नपाएपछि  इच्छा त्याग्न पर्यो । सानैदेखि डाक्टर पढ्ने सपना बोक्ने यिनले एस. एल. सी पछि साहित्यप्रति पनि रुची राखे । सन् १९६८ मा आईएस्सी पढ्दा कलेज जीवनमा विद्यार्थी युनियनमा सलंग्न भए । विद्रोही स्वभावको, अन्याय सहन नसक्ने उनका निबन्ध लेखनमा झल्किन्छन् । 

डाक्टर बन्न रुस (तत्कालिन सोभियत युनियन) तर्फ लागे । त्यसबेला रुसले प्रत्येक नागरिक लाई निशुल्क गाँस, वास स्वास्थ्य निशुल्क गरेको थियो जसबाट उनलाई रुसको समाजवादप्रति गहिरो छाप पर्यो । रुसको विश्वविद्यालयको  शिक्षा पद्धति अनुकरणीय थियो जसले एक कुशल, दक्ष तथा सीपयुक्त विद्यार्थी निर्माण गर्छ । यहाँ पढाई बाहेक अतिरिक्त क्रियाकलाप पनि गराइन्थ्यो । पहिलो वर्ष विदेशी भाषा अध्ययनको क्रममा संघर्ष भएपनि विद्यार्थी जीवनको रमाइलो क्षण स्मरण गर्छन् । उनले पहिलो वर्ष रसियामा मार्क्सवादको आधारभूत कुरा, फ्रेइडका कुरा, जर्ज इलिय्म हेगलका डाइलेक्टिस पढ्ने मौका पाए । त्यसै क्रममा ख्याति प्राप्त प्रोफेसरसँग भेट हुन्छ र जाचँपछि आराम र रमाइलो गर्न मोल्दोभा युक्रेन आदिको भ्रमण गरेको सन्दर्भ छ । ५ वर्षे डाक्टरको पढाई सकेपछि नर्सको सहयोगी हुँदै डाक्टरको पेशामा लागेको बताएका छन् । सर्जरी पढ्ने इच्छा अपूर्ण भएर मेडिसिन तर्फ लागेका छन् । उनले पोस्ट ग्राजुएसन गर्ने गौरवपूर्ण अवसर पनि रुसमा पाए । पीजी गर्दाको उतारचढाव, अस्पतालको इमर्जेन्सी ड्युटी चुनौतीपूर्ण यस्तै यस्तै उनका अनुभव तथा असल चिकित्सक बन्न गरिएको अभ्यास कृतिमा छ । उनका आदरणीय गुरु विश्वविख्यात मुटुरोग विशेषज्ञ इभगेनी चाजोभ र गुरुआमा क्नान्याछेन्कोको पुस्तकमा ससम्मान उल्लेख छ, जो प्रिय प्राध्यापक थिए । 

रुस कम्युनिष्ट देश हुनाले सामाजिक अनुशासन कडा थियो । पढेको सिलसिलामा सन् १९७० देखि १९७८ को अन्त्यसम्म रसिया बसे, जुन समयमा  त्यहाँ स्वर्णिम युग थियो । उनी स्मरण गर्छन्, प्रोफेसर क्न्यकनन्छेको भनाई “जब तिमी डाक्टरको रुपमा बिरामी जाँच्न बस्छौ, त्यस बेला आफुलाई चाहि बिरामीको ठाउँमा राख्नु, बिरामीलाई तिम्रो ठाउँमा राखेर निर्णय गर्नु ।” यो सल्लाहलाई उनले आफ्नो व्यवसायिक जीवनमा आत्मसात गरेको देखिन्छ । 

२०३५ सालमा वीर अस्पतालमा नियुक्ति पाएका उनी रुसको सुविधायुक्त अस्पताल र आधारभूत पूर्वाधार समेत विहीन अस्पताललाई तुलना र विश्लेषण गर्दछन् । डायबिटिज र मुटुरोग सँगसँगै हुने ज्ञान रुसमा नै पाएका उनले निशुल्क डायबेटिज र उच्चरक्तचाप क्लिनिक खोल्छन् । त्यसपछि भक्तपुर अस्पतालमा काम गर्दा गर्दै २०३६ सालमा जनकपुर अंचल अस्पतालमा सरुवा हुन पुग्छन् । जनकपुरको अप्रेशन थिएटरमा गाई छिर्ने र डाक्टरले गाई धपाएर अप्रेसन गर्नु पर्ने जस्ता अचम्म पर्ने धटना कृतिमा छ । उनको जनकपुरमा रक्तदान शरु गराउनमा ठूलो योगदान रहेको छ । यसै क्रममा जनकपुरको दयनिय पोस्टमार्टम समेत राजनीतिक दबाब कृतिमा प्रस्तुत गरिएको छ । २०३८ सालमा झुक्याएर उदयपुर सरुवा बाट नेपालमा स्वास्थ्य क्षेत्रमा समेत राजनितिक चलखेल दर्शाइएको छ । उदयपुर अस्पतालमा उपचारका क्रममा फिजिशीयन भएर पनि त्यहाँका स्थानीयलाई चितुवाले तोकेपछि उपचारकालागी सर्जनको काम गर्नु परको अनुभव छ । उदयपुर अस्पतालको सुधारपछि, चिकित्सकको रुपमा आफ्नो विकास नहुने पाएपछि काठमाडौँ फर्किन्छन् । काठमाडौँ आएपछि पनि जागिर पोस्टिङ्ग नभएपछि भुटान तर्फ लागेको र तुरुन्तै फर्किहलेको जस्ता संघर्षका दिनको उदाहरण छ । 

पछि वीर अस्पतालमा कार्डियोलोजीलाई जनरल मेडिसिनबाट छुट्याएर अलग युनिट बनाई मुटुको उपचार गरेको प्रसंग छ । २०४६ सालको आन्दोलनमा चिकित्सकले भोक प्यास नभनी निष्ठा र कर्तव्य सहित निस्वार्थ सेवा गरेकाले सर्वसाधारणलाई चिकित्सकप्रति निश्चिन्त रहन भन्छन् । उनी भन्छन् – चिकित्सकको जिम्मेवारी विरामीप्रति २४ घण्टा हुन्छ । 

२०४२ सालमा हार्ट फाउन्डेसन नामक गैर सरकारी संस्थाबाट जनचेतनामूलक कार्यक्रम फैलाउन ठूलो भूमिका छ । वि.स २०६२ देखि २०६६ सम्म नेपाल हार्ट फाउन्डेसनको अध्यक्ष भएर सशक्त काम गरे । उनले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको संस्थापक सदस्य (सचिव भई यसको वृद्धि र विस्तारको लागि सहयोग गरे । यस्तै उनी समेत र उनको टिमले मेडिकेयर अस्पताल खोलेर मध्यम तथा निम्न मध्यम वर्गका विरामीलाई सेवा प्रदान गरेका छन् । यसका साथै कार्डियक सोसाइटीको स्थापनामा पनि उनको महत्वपूर्ण भूमिका रहेको छ । 

उनले आफ्नै मूल्यांकनमा मुटुरोग पुनर्स्थापना बाहेक अन्य आफुले मुटुरोग क्षेत्रमा गरेको योगदानले सन्तुष्ट रहेको बताएका छन् । यधपि कयौ काम हुन, गर्न बाकी नै छ । उनी १७ वर्षसम्म कार्डियोलोजीको हेड अफ दी डिपार्टमेन्ट भएर काम गर्दा पनि एडिसनल प्रोफेसर, ११ तहमा सीमित रहे । यधपि, उनी भन्दा जुनियर प्रोफेसर भए, जुन स्वास्थ्य क्षेत्रमा पनि राजनीतिक चलखेल हो । उनी ११ औ तहमा भएको ४–५ वर्षमा १२ औ तहमा बढुवा हुनुपर्ने हो । विडम्बना भन्नु पर्छ, उनको राजीनामापछि लामो संघर्षपछि २०७२ सालमा नाम्सले रुसको दुई वर्से पीजीलाई स्नाकोत्तरको मान्यता दियो । 

उनको सरकारसँग माग – चिकित्सा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नु, इमान्दार र प्रोफेसनल मानिस लाई चिन्नु पर्छ र सर्वसाधारणलाई निशुल्क सेवा–सुबिधा दिनुपर्छ भन्ने रहेको छ । मुटुलाई राम्ररी चिनौ भन्ने शिर्षकमा मुटुरोग बारे उपयोगी जानकारी दिन्छ । यसका कारक तत्वमा अत्यधिक मात्रामा नुन, चिनीको प्रयोग, ट्रान्सफ्याट भएको खान खाने, व्यायामको कमी रहेको कुरा उल्लेख छ । मुटुरोग नियन्त्रणका लागि सल्लाह, सुझाव सरल भाषामा दिइएको छ । विद्यालयको पाठ्यपुस्तकमा पनि बालबालिकाका लागि स्वास्थ्य जीवनशैली, खानपिनका सम्बन्धि जानकारी राख्न धध्च्याइएको छ । 

अन्तर्मनको शिर्षकमा चिकित्सक बन्न उनले सल्लाह , सुझाव दिएका छन् । चिकित्सक बन्न चाहनेले निरन्तर मेहनत, अध्ययन गर्नुका साथै मानिसिक रुपले पनि तयार हुनुपर्ने बताईएको छ । उनी भन्छन् “चिकित्सकले आफ्नो निष्ठा, इमान्दारितालाई नछाडीकन, विज्ञान नछाडीकन, कसैलाई हानि नपुयाई काम गर्नुपर्छ ।” चिकित्सकशास्त्र निरन्तर परिवर्तनशील विषय हुनाले आफु सधै अध्ययनशील भएर अपडेट हुनु पर्नेमा जोड दिएका छन् । 

यस कृतिले पाठकलाई मुटुरोग सम्बन्धि ज्ञान त दिएको नै छ, यसले स्वास्थ्य क्षेत्रको उन्नति नहुनुको कारण औलाउँदै समाधानका उपाय समेत प्रदान गरेका छन् । सरल भाषा, शैलीमा लेखिएको यो कृति सर्वसाधारणकालागि संग्रहणीय छ, पठनीय छ । यस कृतिले समाज सेवा गर्न उत्प्रेरित गर्छ । यो यथार्थपरक कृति चिकित्सा पेसा अगाल्न चहानेका लागि निकै उपयोगी हुनेछ । यस कृतिलाई शुरु गरेपछि पाठकलाई अन्त्यसम्म तान्छ ।

अन्त्यमा डा. उपाध्यायले यस्तो सकारात्मक सन्देशले ओतप्रोत भएको कृति लेखेर नेपाल साहित्य र चिकित्सा क्षेत्रमा ठूलो जग थप्नु भएको छ । उनीबाट अन्य यस्तै उपयोगी, खदिलो, कृति पढ्न पाउने विश्वास लिदै बधाइ ज्ञापन छ ।