राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ ।

नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित  विशेष समारोहबीच उहाँलाई  दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आउनुभएको हो । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । 

नेपाल- भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।