काठमाडौं - विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका- ३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठ हाँडीगाउँबाट पक्राउ परेका छन् ।

उनले सामाजिक सञ्जालमा सम्पर्क गरी विभिन्न बहानामा सात लाख ७५ हजार विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

यसैगरी आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन कालिका नगरपालिका- ७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका- २ घर भई काठमाडौं तारकेश्वर नगरपालिका- १० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर पक्राउ परेका छन् । 

रचनाले हङ्गेरी पठाइदिन्छु भन्दै दुई जनाबाट १८ लाख र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै एकजनाबाट एक लाख लिई सम्पर्कविहीन भएका थिए । रचनालाई काठमाडौं महानगरपालिका- १२ बाट र प्रकाशलाई टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो । 

त्यस्तै नक्कली फेसबुक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगीमा संलग्न रहेको अभियोगमा पर्साको वीरगन्ज महानगरपालिका-३१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका- ७ बस्ने २१ वर्षीय सुरज पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनले फेसबुकबाट दुबईमा वैदेशिक रोजगारका लागि सुवर्ण अवसर रहेको भन्दै भिजिट भिसामा दुबईमा आएर काम गर्न मिल्छ भनी विज्ञापन राखेर पीडितसँग  दुई लाख १५ हजार ठगेको प्रहरीले जनाएको छ । 

साथै बैङ्किङ कसुर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले बेनी नगरपालिका- ९ की ३९ वर्षीया विष्णुमाया केसी, काठमाडौं महानगरपालिका- १५ का ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर नगरपालिका- ७ का ५२ वर्षीय राजेन्द्र तुईतुईलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिए ।  

केसीले पीडितलाई खातामा पर्याप्त रकम मौज्दात नभएको एक करोड ५० लाखको चेक दिई फरार भएकी प्रहरीले जनाएको छ । महर्जन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले अघिल्लो जेठ २९ गते पाँच दिन कैद, बिगो १६ लाख र ६४ हजार क्षतिपूर्तिबापत पीडित राहत कोषमा जम्मा गराउने ठहर गरेकामा उनी फरार भएका थिए ।