काठमाडौँ - अमेरिकामा बस्ने समाजसेवी सानुबाबु सिलवालद्धारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक कार्यक्रमका बीच विमोचन गरिएको थियो । पूर्व प्रधानन्यायधिश खिलराज रेग्मीको प्रमुखअतिथ्यतामा भएको कार्यक्रममा सो पुस्तक विमोचन भएको हो । 

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि खिलराज रेग्मीले सत्कर्म, सत्प्रयास, सत् चरित्रबाट नै मानिस सफल हुने उल्लेख गर्दै अमेरिकामा बसेर नेपाल र नेपालीप्रति चिन्ता राख्ने, अमेरिकामा नेपालीहरु दुख पाउदा उनीहरुको दुखमा महलम लगाउने सानुबाबुको कर्म उदाहरणीय रहेको कुरा रेग्मीले बताए । विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरुलाई आफ्नो देश र आफ्ना देशका नागरिकहरुको माया हुन्छ भन्ने भनाईलाई सानुबाबु सिलवालले अमेरिकमा बसेपनि नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको उल्लेख गरेका थिए । 

प्रमुख अतिथि रेग्मीले भनाइ थियो जहाँ सुकै पुगे पनि कसैले पनि आफ्नो पहिचान बिर्सेका हुँदैनन आफू जन्मिएको ठाउ स्वर्गजतिकै प्यारो लाग्छ । शिक्षा, समाज र संस्कृति नै हामी सबैको पहिचान हो र जहाँ पुगे पनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने भावना जागृत गर्न सकियो भने सानुबाबु जस्ता व्यक्तीहरुलाई नेपालमै रहने वातावरण बनाउन सकिने उनको तर्क थियो । सबैले धर्म नछाडी कर्म गर्ने हो भने रोजगारी छैन भनेर विदेशीनु नपर्ने जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस्, वैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायिक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, जनताहरु समृद्ध हुन्छन् भन्ने भनाई अतिथि रेग्मीको रहेको थियो । 

पुस्तकका लेखक तथा समाजसेवी सानुबाबु सिलवालले मन्तव्यको क्रममा गैर आवासीय नेपालीहरुको समस्या समाधानमा आफू लागि परिरहेको भन्दै मेरो अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरेका थिए । सिलवालले आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको बताए । 

कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरु अभियन्ताहरु, प्राध्यापकहरु, वरिष्ठ पत्रकारहरू लगायतले शुभकामना मन्तव्य राख्ने क्रममा हामीले सोचेको अमेरिका र वास्तविक रुपमा त्यहा गएर भोगिने अमेरिका निकै फरक रहेको भनाइ राखेका थिए । विसौं वर्ष तिसौं वर्ष पचासौं वर्ष अमेरिका लगायत विभिन्न विकसित मुलुकमा हराएका नेपालीहरु आफ्नो देशको मायाले आफ्नै देशतर्फ फर्किने गरेका थुप्रै उदाहरण हामीमा छन भन्दै आफ्नै देशमा विकल्पहरु खोजी गर्ने बानीको विकास गर्न आवश्यक भएको वक्ताहरुले बताएका थिए । 

२८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुन सम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरू समावेश गरिएको छ । कार्यक्रमको अध्यक्षता लेखक सिलवालका वृद्ध पिताले गरेका थिए भने गीता सिलवालले प्रकाशन गरेकी थिइन । कार्यक्रममा सहभागी सबैलाई निशुल्क रुपमा पुस्तक वितरण समेत गरिएको थियो ।